मीटरब्याज पीडितको गुनासो टिपाउन छुट्टै डेस्क, फोन नम्बर सार्वजनिक

मीटरब्याज पीडितको गुनासो टिपाउन छुट्टै डेस्क, फोन नम्बर सार्वजनिक

गृह मन्त्रालयले मीटरब्याज पीडितहरुको गुनासो सुनुवाई गर्न छुट्टै कर्मचारी तोकेको छ । 

मीटरब्याजसम्बन्धी उजुरी तथा निवेदन लिने र पीडितहरुको गुनासो तत्काल सुनुवाई गर्ने जिम्मेवारी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका कर्मचारीलाई दिइएको हो । गृहका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मीटरब्याज पीडितहरुको सहजीकरणका लागि प्रशासनमा छुट्टै डेस्कको स्थापना गर्न निर्देशन दिएको बताए । 

डेस्कमा खटिने कर्मचारीहरुको विवरण प्रशासनको वेभसाइटमा सार्वजनिक गर्न पनि भनिएको उनले जानकारी दिए । गृहले विज्ञप्ति जारी गर्दै सिडियो कार्यालय तथा अन्य निकायसँग समन्वय गर्न गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई सम्पर्क व्यक्ति तोकिएको जनाएको छ । 

‘मीटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नाम, थर, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेभसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकिएको छ । साथै, मीटरब्याजसम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्नेगरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको...’, विज्ञप्तिमा उल्लेख छ । 

गृहले गुनासो टिपाउनका लागि मोबाइल नम्बर ९८५१३६०६०३, ०१–४२११२५७, टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सूचित गराएको छ ।

टिप्पणीहरू