लघुवित्तका ऋणीलाई एक वर्षको भाका

लघुवित्तका ऋणीलाई एक वर्षको भाका

लघुवित्त संस्थाबाट ऋण लिएर परिस्थितिबस् तिर्न नसकेका ऋणीले एक वर्षको भाका पाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक सूचना निकालेर यस्तो जानकारी दिएको हो । 

राष्ट्र बैंकले कठिनाइमा परेका ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा एक वर्ष थप हुनेगरी २०८१ वैशाख मसान्तभित्र पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्न सकिने व्यवस्था गरिएको जनाएको छ । 

यसका लागि आगामी असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत भुक्तानी गरी यही चैत मसान्तभित्र निवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले बताएको छ । 

‘लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीको आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि कर्जाको भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी २०८१ वैशाख मसान्तभित्र पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्न सकिने व्यवस्था गरिएको छ,’ जारी सूचनामा उल्लेख छ, ‘यसका लागि २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएका कर्जाका लागि भुक्तानी गर्न बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत भुक्तानी गरी २०८० चैत मसान्तसम्म निवेदन दिइसक्नुपर्दछ ।’

सो व्यवस्थाको कार्यान्वयनमा कुनै द्धिविधा भएमा वा सम्बन्धित संस्थाको कामकारबाहीउपर कुनै गुनासो भए राष्ट्र बैंकमा गुनासो दर्ता गराउन सकिनेसमेत उल्लेख छ ।
 

टिप्पणीहरू