सरुवा माग्ने शिक्षिकासामु यौन प्रस्ताव

सरुवा माग्ने शिक्षिकासामु यौन प्रस्ताव
सुन्नुहोस्

मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक–पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको छ । 

हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा काफ्लेले महिलासँग गरेको कुराकानीको स्क्रिन सट पुगेको छ । काफ्लेले बारम्बार यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ती शिक्षिकाले स्क्रिन सट राखेकी थिइन् । आफ्नो बेइज्जत हुने डरमा काफ्लेले आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको भन्दै शिक्षिकालाई फेसबुकमा ब्लक गरेका थिए । यो विषय बाहिर आएपछि शुक्रबारदेखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन् ।

अधिकृत काफ्लेले आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । उता, ती शिक्षिकालाई भने म्यासेञ्जरको स्क्रिन सट किन र कसलाई दिएको भन्दै सबैले र्‍याखर्‍याख्ती पारिरहेका छन् । गाउँपालिकाले बेइज्जती केस सामसुम पार्न खोजे पनि स्क्रिन सट सार्वजनिक भएपछि शिक्षिकाले स्क्रिन सट पठाएका कुन शिक्षक वा नेताले मिडियामा दियो भनेर खोजी गर्न थालिएको छ ।

हाल शिक्षक महासंघको पालिकास्तरीय समितिका एक शिक्षक र अर्का व्यक्तिमाथि स्क्रीन सट सबैतिर पठाएको आरोप छ । एउटी शिक्षिकालाई शिक्षा शाखा प्रमुखले पटक–पटक यौन सम्पर्कको प्रस्ताव राखेको विषय बाहिरिए पनि कारबाही प्रक्रिया अघि नबढेपछि पीडितका आफन्त जिल्ला प्रशासन कार्यालय पुगेको र त्यसपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कानेपोखरीकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवसँग कुराकानी गरेको बुझिएको छ । हिराकुमारीले यौन सम्पर्कको प्रस्ताव राख्ने बेगबहादुर काफ्लेलाई लिखित रुपमा स्पष्टीकरण सोधेको तर काफ्ले  चैत ५ गते इमेलमार्फत बिदाको पत्र पठाएर बिदामा बसेको श्रोतले बतायो ।
 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू