पलको गाउँमा समीक्षा 'बहिस्कृत', स्टेज नचढी फिर्ता

पलको गाउँमा समीक्षा 'बहिस्कृत', स्टेज नचढी फिर्ता

अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले 'बहिष्कार' गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो । 

तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म 'होली फेस्टिभल २०८०' आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो ।  

जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदान पुगेकी उनलाई दर्शकको साथ मिलेन । मैदानमा जम्मा दुई दर्जनजति मात्रै दर्शक देखिएपछि समीक्षाले आयोजकसँग माफी माफ्दै गीत नगाउने निर्णय गरेको बताइएको छ । 

उनको निर्णयमा सहमत भएको आयोजक पक्ष पनि पारिश्रमिक दिएर फर्काउन तयार भयो । तर, गीत नगाएकाले पारिश्रमिक नलिने भन्दै समीक्षा कार्यक्रमस्थलबाट बाहिरिएको बुझिएको छ । 

पल शाहमाथि जबर्जस्ती करणी आरोप लगाएपछि समीक्षालाई दाङमा प्रतिबन्ध लगाइएको थियो । त्यसैको प्रभाव हिजो तुल्सिपुरमा देखिएको अड्कल गरिएको छ । 

यसअघि पनि दाङका विभिन्न कार्यक्रमहरुमा उनीविरुद्ध नाराबाजी हुने गरेको थियो ।
 

टिप्पणीहरू