सन्दर्भः विश्व रंगमञ्च दिवस, जो नाटक खेल्दै चलचित्रमा जमे

सन्दर्भः विश्व रंगमञ्च दिवस, जो नाटक खेल्दै चलचित्रमा जमे
सुन्नुहोस्

आज विश्व रंगमञ्च दिवस । नाट्यकर्मी र चलचित्रकर्मीका लागि विशेष दिने मानिने आज सो क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । 

नेपालमा थियटरको संख्या बढेसँगै नाटक रुचाउने दर्शक पनि बढ्दै गएको पाइन्छ । फलस्वरुपः पछिल्लो समय चलचित्र र नाटकहरु बराबरीमा मात्र उत्पादन हुन थालेका छन् । 

त्यसो त, थियटरलाई अभिनयको पाठशाला पनि भनिन्छ । थियटरबाटै करिअर शुरु गरेर चलचित्रमा सर्वाधिक 'डिमाण्डेड' बनेका कलाकारहरु प्रशस्तै छन् । त्यस्तै केही कलाकारबारे चर्चा गरौँ :

दयाहाङ राई

भोजपुरमा जन्मिएका दयाहाङ पछिल्लो समय नेपाली चलचित्रका सर्वाधिक व्यस्त अभिनेता हुन् । थियटर हुँदै चलचित्रमा काम गर्न चाहनेहरुका लागि उदाहरणीय पात्रसमेत मानिन्छन्, उनी । 

उमेरले ४३ वर्ष पुगेका दयाहाङले गुरुकुल र मण्डलाबाट आफ्नो नाट्य करिअर शुरु गरेका थिए । थियटरमा करिब तीन दर्जन नाटक गरेपछि चलचित्रमा डेब्यु गरेका उनले पछिल्लो समय 'कुभिन्डोको कथा' र 'मितज्यु' नाटक आफैँले निर्देशनसमेत गरे । 

सन् २००६ मा 'अनागरिक'बाट डेब्यु गरेका दायाहाङले अहिलेसम्म ४० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गर्ने चलचित्र 'कबड्डी: दि फाइनल म्याच' उनकै पोल्टामा छ, जसले २१ करोड कमाएको थियो । यसबाहेक उनका 'लुट', 'छड्के', 'वीरविक्रम', 'जारी' पनि सफल चलचित्रको सूचीमा छन् । 

यसवर्ष ८ वटा चलचित्रमा साइन गरिसकेका दयाहाङ अभिनित 'डिग्री माइला' प्रदर्शनको संघारमा छ । 

सौगात मल्ल 

नवलपरासीमा जन्मिएका सौगात पनि पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनलाई अहिले चलचित्र साइन गर्न भ्याइ-नभ्याई देखिन्छ । 

गुरुकुलमा करिब दुई दर्जन नाटक गरेपछि चलचित्रमा डेब्यु गरेका सौगात 'हाकुकाले' नामले पनि प्रसिद्ध छन् । दर्शकले सर्वाधिक रुचाएको उक्त क्यारेक्टरले नै उनलाई चलचित्रमा स्थापित गर्न थप भूमिका खेलेको मानिन्छ । 

सन् २००८ मा रिलिज भएको 'कागबेनी' सौगातको पहिलो चलचित्र हो । त्यसपछि उनले 'दासढुंगा'मा काम गरे, जुन चलचित्र मदन भण्डारीको घटनामा आधारित थियो । यो चलचित्र प्रदर्शनमा आएपछि सौगातको अभिनयलाई दर्शकले निकै रुचाए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । 

त्यसो त, 'लुट'मा उनको नेतृत्वदायी भूमिकालाई पनि नेपाली चलचित्रको 'टर्निङ क्यारेक्टर' मानिन्छ । जसमा उनी माथि उल्लेखित 'हाकुकाले'को भूमिकामा थिए । चलचित्रमा उनले बोलेको संवाद 'गिद्धैगिद्धको काठमाडौँ शहर, हेर्दा लाग्छ रहर'लाई आज पनि युवापुस्ताले निकै प्रयोगमा ल्याएको पाइन्छ । 

सौगातका 'छड्के', 'मुखौटा', 'कबड्डी', 'षडङ्ग', 'लुकामारी', 'लप्पनछप्पन', 'दुई नम्बरी' लगायतका चलचित्रलाई दर्शकहरुले औधी रुचाएका छन् । पछिल्लो समय उनी अभिनित 'अगष्त्य' ले भने औसतको कमाइ गरेको बताइन्छ । 

४२ वर्षीय सौगात केही समयअघि पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम सम्बन्धको कारण पनि चर्चामा थिए । 

विपिन कार्की

मोरङको बाहुनीमा जन्मिएका विपिनलाई दर्शकले 'भष्मे डन' भनेर चिन्छन् । गुरुकुलमा दुई दर्जन नाटक गरेपछि उनले चलचित्रमा डेब्यु गरेका हुन् । लुटमा 'पित्तल डन'को क्यारेक्टरबाट दर्शकको आँखामा परेका विपिन अहिले 'भर्सटाइल एक्टर'को रुपमा स्थापित छन् । 

सन् २०१६ सम्ममा विपिनले करिब आधा दर्जन चलचित्रमा काम गरिसकेका थिए । तर, सोचेजस्तो उचाइ लिन सकेका थिएनन् । जब 'पशुपतिप्रसाद' रिलिज भयो, उनको चर्चा एकाएक चुलियो । त्यहि वर्ष उनको 'जात्रा' पनि प्रदर्शनमा आयो । यी दुई चलचित्रले उनको उचाई एकाएक माथि पुर्यायो । 

४१ बर्षीय विपिनले अहिलेसम्म करिब ३० वटा चलचित्रमा काम गरिसकेका छन् । जसमध्ये 'ताण्डब', 'नाका', 'लालपुर्जा', 'के घर के डेरा', 'सेल्फी किङ', 'फूलबारी' दर्शकको रुचिमा परेका चलचित्रमा गनिएका छन् । उनै विपिन अभिनित 'महाजात्रा' अहिले हलमा प्रदर्शनरत छ । यसका अघिल्ला दुई स्वीक्वेलमा पनि उनी मुख्य भूमिकामा थिए । यो चलचित्रले ऐतिहासिक कमाइ गर्ने प्रक्षेपण गरिएको छ । 

अहिले नाट्यकर्मीहरुको लागि कमर्सियल चलचित्र दिनसक्ने गतिलो उदाहरण बनेका छन्, विपिन ।  

खगेन्द्र लामिछाने

बौद्धिक अभिनेताको छवि बनाएका खगेन्द्र लेखक पनि हुन् । उनले पनि करिअरको सुरुआत गुरुकुलबाटै भएको हो । 

स्याङ्जामा जन्मिएका खगेन्द्रले कुनैबेला पत्रकारितासमेत गरे । बिबिसी मिडिया एक्शनका विभिन्न कार्यक्रम उत्पादनमा उनको मुख्य सहभागितामा थियो । 

'मायादेवीका सपना', 'हजुरबाको कथा', 'पीडा गीत', 'कात्रो', 'सिरुमानी' लगायत दर्जनौँ नाटक लेखन तथा निर्देशन गरेका खगेन्द्र पनि अहिलेका व्यस्त अभिनेता हुन् । संख्यात्मक हिसाबमा उनका चलचित्र धेरै छैनन् । तर जति छन्, सबै गुणस्तीय चलचित्र छन् । 

आफ्ना चलचित्रलाई फिक्शनबाट टाढा राख्ने खगेन्द्र यर्थाथपरक घटनामा स्क्रिप्ट लेख्न र अभिनय गर्न रुचाउछन् । 

'टलकजङ भर्सेज टुल्के'मा उनले १० वर्षे द्वन्द्धको कथालाई निकै गहन र सुक्ष्म ढंगले उतारेका छन् । त्यस्तै, 'प्रशुपतिप्रसाद', 'धनपति', 'जय भोले'मा पनि उनको अब्बल लेखन तथा अभिनय क्षमता प्रस्फुटित भएको देखिन्छ । पछिल्लो समय 

'दिमाग खराब' खगेन्द्रको पछिल्लो चलचित्र हो । यसले बक्स अफिमा ५१औँ दिन मनाउदै राम्रै कलेक्शन गरेको थियो । 

उनी अहिले नयाँ चलचित्र 'मेयर'को शुटिङमा व्यस्त छन् । 

मेनुका प्रधान

नवलपुरको गैँडाकोटमा जन्मिएकी मेनुका सशक्त अभिनेत्रीहरुको अग्रपंक्तिमा पर्छिन् । कमर्सियल चलचित्र कम रहेपनि दर्जनौँ चलचित्रमा उनले निभाएको अब्बल भूमिकालाई दर्शकले रुचाएको पाइन्छ । 

गुरुकुलमा दर्जनौ नाटक गरेपछि चलचित्रमा डेब्यु गरेकी मेनुकालाई कतिपयले 'साइली' उपनामले चिन्छन् । कारण हो- उनले निभाएको साइलीको भूमिका । 'साइली' चलचित्रको शीर्ष गीत 'चालिस कटेसी रमाउला'ले मेनुकाको चर्चालाई उचाइमा पुर्याउन ठूलो सहयोग गर्यो । 

मेनुकाले अहिलेसम्म दुई दर्जन चलचित्रमा काम गरिसकेकी छन् । जसमध्ये 'भिसा गर्ल', 'टलकजङ भर्सेज टुल्के', 'पुरानो डुंगा', 'दुई रुपैयाँ', 'डमरुको डण्डिवियो' लगायतका चलचित्र सफल मानिन्छ । 

उनको नयाँ चलचित्र 'मनसरा' प्रदर्शनको तयारीमा छ । 

दिया मास्के

नेपाली चलचित्रमा बौद्धिक कलाकारको छवि बनाएकी दिया पनि पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । संख्यात्मक हिसाबले उनका चलचित्र धेरै नभए पनि प्रंशसायोग्य छन् । 

थियटर हुँदै चलचित्रमा डेब्यु गरेकी दियालाई कपिपयले टेलिभिजन रियालिटी शो 'हिमालय रोडिज'को निर्णायकको रुपमा पनि चिन्छन् । तर उनी सशक्त अभिनेत्री नै हुन् । 

'कागबेनी', 'एक दिन एक रात', 'सुनगाभा', 'साँघुरो' जस्ता चलचित्रमा उनले प्राण भरेकी छन् । कमर्सियलभन्दा रियालिस्टिक चलचित्रमा आफूलाई अब्बल सावित गरेकी दियाले पछिल्लो समय 'प्रकाश'मा काम गरेकी थिइन् । उनले आफ्नै श्रीमान तथा नाट्य प्रशिक्षक अनुप बरालसँग 'दोख'मा पनि काम गरिन् । 

यी दुवै चलचित्रले राम्रो समीक्षा पाएको थियो ।  

सहायक भूमिकामा रुचाइएका यी कलाकार

नाटकबाट चलचित्रमा उदाएका कलाकार प्रशस्त छन् । तीमध्ये केही कलाकार चलचित्रका सहायक भूमिकामा मज्जाले जमेका छन् । 

विजय बराल, बुद्धि तामाङ, रविन्द्रसिंह वानिया, कमलमणि नेपाल, भोलाराज सापकोटा, महेश त्रिपाठी, प्रविण खतिवडा, लक्ष्मी बर्देवा चलचित्रमा सहायक भूमिकामा रहेर पनि चर्चा बटुलेका कलाकार हुन् । यी सबैले आफ्नो करिअर थियटरबाटै शुरु गरेका थिए । 

रमाइलो कुरा के छ भने, म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गरेका केही अभिनेत्रीहरुको पनि पछिल्लो समय थियटरमा लगाब देखिन्छ । अभिनेत्री स्वस्तिमा खड्काले केही समयअघि मात्र चर्चित उपन्यास पल्पसा क्यापेको कथामा नाटक गरिन्, मण्डलामा । त्यस्तै अभिनेत्री तथा मिस नेपाल सृष्टि श्रेष्ठले पनि मण्डलामै नाटक गरेकी थिइन् । 

टिप्पणीहरू