चल्तीका कलाकारहरु एकैसाथ हलमा

चल्तीका कलाकारहरु एकैसाथ हलमा

नेपाली चलचित्रको प्रदर्शन मिति जुध्ने समस्या नयाँ होइन । तर, जानी-जानी जुधाइन्छ वा संयोग मात्रै हो ? भन्ने चैं चलचित्रकर्मीहरुको बहस विषय होला ! 

गत फागुन २५ गते एकैसाथ 'रंगेली', 'उपहार' र 'काँडेतार' रिलिज हुँदा तीनवटै चलचित्रको व्यापारमा प्रत्यक्ष असर देखियो । जसको कारण हलमा लागेको एकदिनमै 'काँडेतार' पर्दाबाट उत्रियो भने 'रंगेली'ले लगानी उठाउन सकेन । 'उपहार'ले भने जसोतसो लगानी सुरक्षित गरेको निर्माताहरुको दावी छ । 

यस्तै हालत हुँदैछ, आगामी जेठ ११ गते । प्रतिक्षित मानिएका तीनवटा चलचित्र सो दिन एकसाथ रिलिज हुँदैछन् । तीनवटै चलचित्रमा अहिलेका ट्रेण्डिङ कलाकार छन् । 

पहिलो चलचित्र हो, 'फर्की फर्की' । यसमा अभिनेता अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका छ । प्रेमकथामा आधारित यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । 

युवापुस्तामा अनमोलको लोभलाग्दो क्रेज छ । तर 'छड्के २.०' को फ्लपले भने उनको स्टारडमलाई केही असर पुर्याएको देखिन्छ । 'छड्के' फ्लप भएपछि अनमोलले सामजिक सञ्जालमै माफी मागेर आगामी दिनमा चलचित्र छनोट गर्दा ध्यान दिने बताएका थिए । फलस्वरुप उनले लामो समय लगाएर 'फर्की फर्की' साइन गरेका हुन् । 

यो चलचित्र जेठ ११ गतेबाट रिलिज हुने भनिए पनि निर्माण टिमले एक दिनअघि बुद्धजयन्तीको अवसर पारेर हलमा लैजाने तयारी गरिरहेको बुझिएको छ । अहिले धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रका केही पोस्टरले दर्शकमा हाइप बनाइसकेको छ । तर, चलचित्रले अनमोलको स्टारडमलाई बढाउँछ कि बढाउँदैन भन्ने चै दर्शकसम्म पुगेपछि मात्रै थाहा हुनेछ । 

जेठ ११ मै रिलिज हुन लागेको अर्को चलचित्र हो, 'पुजार सार्की' । यस चलचित्रका विभिन्न पोस्टरहरु पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जातीय विभेदको कथा प्रस्तुत गरिएको पुजार सार्कीलाई  दिनेश राउतले निर्देशन गरेका हुन् । 

चलचित्रको मुख्य भूमिकामा प्रदिप खड्का, पल शाह र आर्यन सिग्देल छन् । तीनजना स्थापित कलाकार हुन् । उनीहरुलाई पनि युवापुस्ताले निकै रुचाएको पाइन्छ । 

रोहित अधिकारीको लगानी रहेको यस चलचित्रको छायांकन पोखरामा गरिएको हो । निर्माण टिमले अहिले कलाकारहरुको विभिन्न लुक्सहरु क्रमश: सार्वजनिक गर्दै आएको छ । 

यी दुईसँगै रिलिज हुन लागेको अर्को चलचित्र हो, 'दान्भी' । यस चलचित्रको निर्माण टिमले गत फागुन २५ गते एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो । साहसिक महिलाको कथामा बनाइएको चलचित्रमा अभिनेत्री पुजा शर्माको मुख्य भूमिका छ । यसमा उनी एक्शन अवतारमा देखिने सार्वजनिक पोस्टरहरुले संकेत गरिसकेका छन् । 

यसअघि लभस्टोरी चलचित्रमा रुचाइएकी पुजाको दान्भी अवतारलाई दर्शकले कत्तिको रुचाउछन्, त्यो रिलिजपछि नै थाहा हुनेछ । देव मगर र अनुप गडालको लागनी रहेको चलचित्रमा अभिनेता कुन्साङ बोमजमको पनि अभिनय छ ।

टिप्पणीहरू