एमालेको ‘लय’ र माओवादीको ‘भय’
नेपाली कांग्रेससँग कुरा नमिल्दा नेकपा माओवादी केन्द्र फेरि नेकपा एमालेसहितको गठबन्धनमा फर्कियो । गत साल एमालेसँग ‘कम्फोटेवल’ नभएको भन्दै माओवादीले कांग्रेस, एकीकृत समाजवादी र अन्य केही दलसँग मिलेर सरकार बनाएको थियो । कांग्रेससहितको गठबन्धनलाई ०८४ सालसम्मै पु¥याउने भनेर नेताहरू यो गठबन्धन नतोडिने दिनसम्म बोलिरहेका थिए । एमालेको प्रमुख मिहिनेत भने कांग्रेससहितको गठबन्धन तोडेर आफूसहितको गठबन्धन बनाउने भन्ने थियो । अन्ततः केही महिनापछि ऊ सफल भयो पनि ।
कांग्रेसको ‘कचकच’ र आन्तरिक कचिंगलले दिक्क भएर एमालेसहितको सरकारी गठबन्धनमा जानुपरेको माओवादीको तर्क छ । कांग्रेसले भने माओवादीले धोका दिएको आरोप लगाइरहेको छ । तथापि माओवादीको गठबन्धन परिवर्तनलाई पुरानो गठबन्धनका सहयात्री दलले नै मन पराएका छैनन् । एकीकृत समाजवादी पार्टीले त सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि अभिव्यक्त गरिसकेको छ । तैपनि, वर्तमान एजेन्डा र आगामी गन्तव्य मिल्ने भएकाले उनीहरू नयाँ गठबन्धनमा गएका छन् । संस्थापनबाहेकको पक्षले अबका चुनावमा एक्लै भिड्नुपर्छ भने पनि कांग्रेसलाई जिम्मेवार प्रतिपक्ष भएर बस्न उकुसमुकुस भएको छ । प्रतिपक्षको भूमिकामा बसेर लोकतान्त्रिक शैलीमा विरोध गर्नका लागि उसले उठाउने प्रभावकारी मुद्दा पाएजस्तो देखिँदैन । त्यसैले होला ‘गृहमन्त्री’को विषयलाई लिएर संसद् अवरोध गरिरहेको छ । तथापि, यिनै ‘गृहमन्त्री’ आफ्नो गठबन्धनमा आएको भए प्रधानमन्त्रीमै समर्थन गर्ने कांग्रेसको योजना थियो भन्ने कुरा बाहिर आइसकेको हो । यो स्वयं वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीकै दलका सांसद्ले संसद्मै खोलिसकेको विषय हो ।
नयाँ गठबन्धन बनेपछि एमालेले रहस्यमय रूपमा ‘लय’ लिएको देखिन्छ । एमाले नेतृत्वको अभिव्यक्ति पहिलेभन्दा संयम लाग्छ । उत्तेजना, उत्ताउलोपना देखिँदैन । हुनतः राजनीतिक हात माथि पार्ने अवस्थामा यस्तै व्यवहार प्रदर्शन गर्ने शैली हो एमालेको तैपनि अहिले ऊ पहिलेको तुलनामा अरु दलभन्दा बढी जिम्मेवार देखिएको छ । विगतमा जस्तो पदलोलुपता देखिएको छैन । पहिले–पहिलेझैँ उसले प्रमुख र प्रभावशाली भनिने ‘मालदार’ मन्त्रालयमा दाबी नगरी सामान्य मन्त्रालयमा चित्त बुझाएको छ । राष्ट्रियसभा अध्यक्षमा पनि उसको जोड र जिकिर रहेन । बाहिरी रूपमा हेर्दा मुख्यमन्त्री र प्रदेशका मन्त्रीका विषयमा पनि ‘बार्गेनिङ’ गरेको पाइँदैन ।
एमालेको यो लयलाई विभित्र कोणबाट विश्लेषण गर्न सकिन्छ । एक, उसको प्रमुख कार्यनीति भनेकै नयाँ गठबन्धन बनाउनु थियो । यो पूरा भयो । यसमा सफल भइसकेपछि स्वभावतः ऊ यसलाई जोगाउन चाहन्छ । किनकि अघिल्लो चुनावमा कम्युनिष्ट गठबन्धन नहुँदा त्यसको फाइदा एमालेलाई भएन । यो विरासत, वामपन्थीको झण्डै दुई तिहाइ सरकार हुँदा भएको गल्ती र ०८४ सालको चुनावलाई समेत समीक्षा गरेर एमालेले यसरी लय लिएको हुन सक्छ । किनकि यसअघि मिल्न नसक्दा उसले करिब करिब सातै प्रदेशमा सत्ताविमुख हुनुप¥यो । अहिले नयाँ सरकारी गठबन्धन बनेपछि जति भए पनि गुमेको उपलब्धि पुनः प्राप्त हुँदै छ ।
अहिलेकाे मिश्रित चुनावी प्रणाली रहेसम्म एमाले मात्र हैन, कुनै पनि दलले एक्लै लडेर बहुमत ल्याउने सम्भावना छैन ।
दुई, यदि यो गठबन्धन ०८४ सालसम्मै जाने हो भने, पहिलो चरणमा माओवादी र गठबन्धनका अन्य दललाई आफ्नै बुद्धि, विवेक र ढंगले काम गर्न दिऔँ, त्यसको समीक्षा जनताबाटै हुनेछ भन्ने हुन सक्छ । तीन, एमाले सधैँ पद र राम्रा मन्त्रालयका लागि मात्रै बहस गर्दैन, अरू दलभन्दा फरक र जिम्मेवार दल हो, हुनुपर्छ भन्ने देखाएर ०८४ सालमा बाजी मार्न यसो गरेकोे हुन सक्छ । अर्काे महत्वपूर्ण विषय यो छ कि यतिबेला एमाले युवा नेतृत्वलाई अधिकार दिने सबालमा अरु दलभन्दा अगाडि देखिएको छ । मुलुकमा पुराना दल र नेताप्रति वितृष्णा बढिरहेको छ । यो विषय बालेन, हर्क र रविहरूको राजनीतिक उदयबाट प्रष्टै भएको छ । यस्तो मनोविज्ञानलाई समेत बुझेर होला, एमालेले युवा नेता महेश बर्ताैलालाई संसद्को प्रमुख सचेतक, सुनिता बराललाई सचेतक र केही युवा नेतालाई वर्तमान सरकारमा मन्त्री बनाएको छ । यसैगरी, अब हुने इलामको उपचुनावमा सुहाङ नेम्वाङलाई उठाउने निर्णय गरेर मानिसको पछिल्लो मनोविज्ञानलाई आफूतिर तान्ने कोसिस गरिरहेको छ ।
एमालेले लिएको पछिल्लो लयलाई माओवादीले अझै गहिरो रूपमा विश्लेषण गर्न सकेको छैन । उसमा एमालेसँग फेरि कुरा मिलेन भने कांग्रेस र एमाले मिल्ने हुन् कि भनेर भय उत्पन्न भएको देखिन्छ । उनीहरू मिलेर द्वन्द्वकालीन मुद्दा, घटनामा फसाउने हुन् कि भन्ने आशंका पलाएको पाइन्छ । यो कुरा माओवादीले नै संसद्मा ‘एक्सपोज’ गरिसकेको छ । उसले कांग्रेस र एमालेलाई मिल्न चुनौती र शुभकामना दिँदै आफू प्रतिपक्षमा बस्न तयार हुने बताइसकेको छ । तर, राजनीतिक एजेण्डा, पार्टीलाइन, पृष्ठभूमि र विश्व परिवेश हेर्दा एमाले र कांग्रेस मिल्ने सम्भावना खासै देखिँदैन ।
कांग्रेसको एउटा वृत्त हिन्दू राष्ट्र र विस्तारै राजा राख्ने ०४७ सालको संविधानमा फर्कनुपर्छ भन्ने चिन्तनमा पुगेको देखिन्छ । यो धार करिब–करिब ‘राजा’ चाहिन्छ भन्नेहरूको नजिक पुगेको देखिन्छ । त्यसैले सधैँ वर्ग संघर्ष गरेको र जीवनभर गणतन्त्रका लागि लडेको भन्ने एमाले यतिसम्म तल गिर्छ भन्न सकिन्न । बरु, चेतेका हुन् भने एमाले र माओवादीबीच पुनः पार्टी एकता हुने प्रवल आधार, सम्भावना र अवस्था छ : एजेण्डा, विचार र मुद्दा, जात–गोत्रका हिसाबले । अहिलेको गठबन्धनमा युवा नेताको मिहिनेत र सक्रियता रहेकाले पहिलेको भन्दा परसम्म जान सक्ने आधार पनि छ । किनकि कांग्रेस र एमालेबीच जिन्दगीभरि ‘पार्टी–एकता’ हुने देखिन्न । यो अपवित्र गठन हो ।
कांग्रेस र एमाले सत्ताकै लागि मिले भने पनि कहाँसम्म पुग्ने भन्ने अवस्था आउँछ । जनतामा सत्ताकै लागि एकता भएको भान पर्छ । कम्युनिष्टहरूसँग नमिली एक्लै चुनाव लड्नुपर्छ भन्ने कांग्रेस आगामी चुनावमा एमालेसँग कुन वचनले मिल्ने र ? कथंकथाचित यी दुई पार्टी मिले भने पनि माओवादी, एकीकृत समाजवादीसहित तराई–मधेसका अन्य पार्टी, नयाँ उदय भएका घटकहरू एक हुने अवस्था आउँछ । फुटेका सबै माओवादी जुट्ने सम्भावना हुन्छ किनकि कम्युनिष्टहरू सत्तामा हुँदा फुट्ने र सत्ताच्युत भएपछि मिल्ने गरेको इतिहास छ ।
अहिलेको मिश्रित चुनावी प्रणाली रहेसम्म एमाले मात्र हैन, कुनै पनि दलले एक्लै लडेर बहुमत ल्याउने सम्भावना छैन । त्यसैले वैदेशिक हस्तक्षेपलाई परास्त गर्दै, ज्येष्ठ नेताहरू त्यो प्रभावमा नपरी पुनः विस्तारै वाम–कम्युनिष्ट एकतामा जानुपर्छ । अब माओवादी पनि पहिलेको अवस्थाको पार्टीमा फर्कन सक्ने अवस्था छैन । यो एउटा आन्दोलन भए पनि संस्थागत पार्टी बन्न सकेन र बन्न सक्ने देखिँदैन । जति यो अवस्थमा रह्यो त्यत्ति गोलचक्करमा फस्नेछ । फुट्दै जानेछ । पार्टीको नाममा लोभीपापी बढ्दै जानेछन् । पार्टीको नाम भजाएर दुनो सोझ्याउनेहरू थपिनेछन् । नेता–कार्यकर्ता अनेक काण्डमा मुछिँदै जानेछन् । किनकि माओवादीले शान्ति प्रक्रियामा आएपछि नेताहरूको सामाजिक र आर्थिक व्यवस्थापनमा ध्यान नदिएर ठूलो गल्ती गरिसकेको छ ।
सुप्रिमोले निर्देशन दिँदैमा पार्टी बन्ने होइन, त्यसका लागि कडा मिहिनेत हुनुपर्छ । यसरी मिहिनेत गर्नेहरू देखिँदैनन् माओवादीमा, बरु आफ्नै लागि अनेक कसरत गर्नेहरूचाहिँ छन् । इतिहासको हिङ सुँघ्नुबाहेक नयाँ आकर्षक एजेण्डा पनि देखिँदैन उसमा । त्यसैले माओवादी एमालेसँग मिल्नुको विकल्प छैन । माओवादी र एमाले मात्रै होइन, सबै वाम–कम्युनिष्ट मिल्नै पर्छ । पहिला यिनीहरू मिल्दा जनतामा उत्साह र आशा पलाएको थियो । त्यही भएर जनताले झण्डै दुई तिहाइ मत दिएका थिए । यिनीहरू फुटेपछि आम निराश पलायो । मानिस स्वदेशको सम्भावनालाई नै नजरअन्दाज गरेर विदेश पलायन हुन थाले । कांग्रेससहित सबै दल मिल्दा पटक–पटक जनआन्दोलन भयो । लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । नयाँ संविधान बन्यो । किनकि जनतामा शतप्रतिशत उत्साह र उमंग छाएको थियो ।
अब एमाले, माओवादी, समाजवादीसहित वाम–कम्युनिष्ट मात्रै मिल्दा पनि जनतामा ८० प्रतिशत खुशी, जोश, जाँगर छाउँछ । हो, अब यो एकताका लागि पनि एमालेले नै अहिलेजस्तै लय लिनुपर्छ । किनकि यो लय लिन सक्ने छाँट अहिलेको अवस्थामा एमालेबाहेक अरूमा देखिएन । तर, यो गठबन्धन, मिलन र एकताका लागि राजनीतिक, आर्थिक, पत्रकारितालगायत विभिन्न क्षेत्रका युवाको दबाब, हस्तक्षेप र निगरानी जरुरी भइरहन्छ । परिपक्व नेताहरूको सल्लाह लिइरहनुपर्छ, उनीहरूलाई सुझाव दिइरहनुपर्छ ।
टिप्पणीहरू