ग्लोबल क्यापिटलद्वारा ‘ग्लोबल मनी विक’ समापन

ग्लोबल क्यापिटलद्वारा ‘ग्लोबल मनी विक’ समापन

विश्व वित्तिय सप्ताह–२०२४ (ग्लोबल मनी विक) को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मुलुकभर वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । क्यापिटलले सातै प्रदेशमा वित्तिय साक्षरताअन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको जनाएको छ । 

कक्षा १२ (प्लस २) तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवम् वैदेशिक रोजगारीका लागि भाषा शिक्षा अध्ययन गरिरहेका युवा युवतीलक्षित कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा क्यापिटलका पदाधिकारीहरुले पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएका थिए  । 

उनीहरुले विशेषगरी बचत तथा लगानीबीचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो शेयर सेवा, लगानी व्यवस्थापन सेवालगायत दोस्रो बजारको बारेमा विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारका विभिन्न उपकरणको अवसर तथा जोखिमको बारेमा पनि प्रकाश पारेका थिए । 

त्यस्तै, सानै उमेरदेखि आफूसँग रहेको रकमलाई एकीकृत गरी पुँजी बजारमा कसरी लगानी गर्ने ?, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा पनि प्रस्तुतीकरण गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षणमा सहभागीहरुको उल्लेख्यीय उपस्थिति रहेको बताइन्छ ।  

कार्यक्रममा सम्बन्धित विद्यालय÷कलेजका प्रिन्सिपल तथा स्थानीय निकायका जनप्रतिनिधिहरुले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीको लागि पुँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए । 

विद्यार्थी तथा युवायुवतीमा बचत गर्ने बानी बसाल्न र वित्तिय शिक्षाको महत्व बुझाउन ओइसिडि÷आइएनएफईको संयोजन तथा नेपाल राष्ट्र बैंकको अनुरोधमा हरेक वर्षको मार्च १८ देखि २४ सम्म विश्व वित्तिय सप्ताह मनाउने गरिन्छ ।

टिप्पणीहरू