‘राष्ट्रिय क्रस’ को सम्पत्ति बढेर ७२ करोड

‘राष्ट्रिय क्रस’ को सम्पत्ति बढेर ७२ करोड

बलिउडमा नेपोटिज्मको कारण अथाह सम्भावना बोकेका कयौं कलाकारहरु ओझेलका परेका उदाहरण प्रशस्त पाइन्छ । तर यसमा अपवाद बनेकी छन् अभिनेत्री रश्मिका मन्दना । उनै रश्मिका आजदेखि २८औं वर्षमा प्रवेश गरेकी छन् । 

कर्नाटाकस्थित विराजपेटको एक सामान्य परिवारमा जन्मिएकी उनले १९ वर्षमै ‘किरिक पार्टी’ बाट चलचित्रमा डेब्यु गरिन् । जतिबेला उनी ११ मा पढ्दै थिइन् । 

त्यतिबेला चलचित्रमा डेब्यु गर्नु उनको पहिलो र अन्तिम रिस्क थियो । यो चलचित्र फ्लप भए रश्मिकालाई परिवारले भनेबमोजिमको जागिर गर्नुपर्ने थियो, उनको रुची प्रतिकूलको अर्कै क्षेत्रमा । तर, त्यस्तो भएन, उनलाई भाग्यले साथ दियो । पहिलो चलचित्रले नै कन्नाडामा राम्रो तहल्का पिट्यो । यसपछि उनले कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । 

रश्मिकाको सुन्दरता र अभिनयको जादु भनौ वा भाग्य, चार वर्षमा आठ वटा हिट चलचित्र दिइन् । जसमा ‘गीता गोविंदम’, ‘डियर कमरेड’, ‘भिष्म’, ‘याजमान’ लगायत पर्छन् । 

त्यसो त, सुन्दरताको दृष्टिकोणले पनि रश्मिकाले सँधै मिडिया अटेन्सन पाइरहिन् । सन् २०२० मा भारतीय मिडियाले उनलाई ‘राष्ट्रिय क्रस’ को सम्बोधनसहित समाचारहरु छापे । त्यसयता अहिले पनि उनलाई दर्शकहरुले यही नामले चिन्छन् । 

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः दी राइज’ ले रश्मिकाको उचाई झन् माथि पुर्यायो । यसमा उनले अल्लु अर्जुनसँग स्क्रिन सेयर गरेकी छन् । 

सुरुमा यस चलचित्रमा अभिनत्री समान्था रुथ प्रभूलाई पक्का गरिएको थियो । तर, उनले व्यस्तताको कारण चलचित्रमा काम गर्न नभ्याएपछि रश्मिकाले अवसर पाइन् । फलस्वरुप, यो चलचित्रले बक्स अफिस कलेक्सनमा पहिलो  रेकर्ड बनायो, चार सय करोडको । 

त्यस्तै, गएको वर्ष पनि रश्मिकालाई निकै फाप्यो । अभिनेता रणवीर कपुरसँग स्क्रीन सेयर गरेको चलचित्र ‘एनिमल’ ले पनि नौ सय ७३ करोड कमाएको थियो । यो वर्ष पनि उनका चलचित्रहरु लाइनअपमा छन् । ‘पुष्पा २ दी रुल’, ‘रेन् वो’, ‘दी गर्लफ्रेन्ड’ र ‘छावा’ उनको आगामी चलचित्र हुन् । 

यी सबै महंगा बजेटका चलचित्र मानिन्छ । एक हिसाबले भन्ने हो भने पछिल्लो समय बलिउडका निर्माताहरुले रश्मिकाको चलचित्रमा आँखा चिम्लिएर लगानी गर्न थालेको देखिन्छ । 

त्यसो त, रश्मिका बेला–बेला अभिनेता विजय देवराकोन्डासँगको प्रेम सम्बन्धको कारण पनि चर्चामा आउछिन् । ‘गीता गोविन्दम’ बाट उनीहरुको प्रेम सुरु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । केही महिनाअघि उनीहरुले इन्जेगमेन्ट गरिसकेको र चाँडै बिहे गर्न लागेको खबर बाहिरिएको थियो । तर, यसबारे अहिलेसम्म रश्मिकाले मुख खोलेकी छैनन् । 

रश्मिकाले पछिल्लो समय पारिश्रमिक पनि बढाएको चर्चा छ । उनले अघिल्ला वर्षमा एउटा चलचित्रको लागि ५–८ करोड पारिश्रमिक लिन्थिन् भने ‘एनिमल’ हिट भएपछि १० करोड पुगेको दावी गरिएको छ । उनको सम्पत्ति पनि बढेर ७२ करोड पुगेको बताइन्छ । 

रश्मिकाले हालै ‘रेन्ज रोभर स्पोर्ड’ कार किनेकी थिइन् । यसअघि पनि उनीसँग ‘अडी क्बी ३’, ‘मर्सिडिज बेन्ज सी’, ‘टोयोटा इनोभा’ र ‘हुन्डाई क्रेटा’ गरी चारवटा कार थिए ।
 

टिप्पणीहरू