यस्तो रमिता देख्न पाइन्छ आजभोलि गृहमा
जिल्ला कमाण्ड गर्न गएका हाकिम एक महिनामै तानिएर प्रहरीको मनोबल गिरेको छ, यता गृह मन्त्रालयमा बसेर ‘ठमेललाई रातभरि खोलौं’ भन्दै ‘गहन’ छलफल चल्छ ।
शुरुमा ‘नाका–नाकामा गोप्य क्यामेरासहितका मान्छे खटाएका छौं’ भन्दै भारतीय सीमावर्ती जिल्लामा खटिएका एसपीहरूलाई तर्साइयो । यसपछि भात–पानी माया मारेर बिचराहरू काममा खटिए । हुँदाहुँदा हाजिर भएको एक महिनामात्रै के बितेको थियो, सरुवामा परे । सामान्यतया एउटा युनिटमा खटिएको इञ्चार्जको अवधी हुन्छ, एक वर्षको ।
त्यसबीच सेवा–शर्तविपरितको काम गरेको भए वा गैरकानुनी र अनैतिक भूमिका खेलेको भए आरोपसहित फेरिन वा अन्य विभागीय कारवाहीमा पर्न पनि सक्छन् । तर, बिनादोष सात जिल्लाका एसपी सरुवा भएको डेढ महिना र हाजिर भएको एकै महिनामा लखेटिएका छन् । ‘यसो नगरौं हजुर, ठीक हुन्न’ भनेर मानवश्रोत विभागका डिआइजीहरू भन्दै थिए । भन्दाभन्दै शुक्रबार मध्यरातमै ती एसपी सरुवामा परे ।
बढुवाको यो रवैयाले सात एसपीमात्रै प्रभावित भएका छैनन् । राजनीतिक दबाबमा आफ्ना कर्मचारीको मनोबल गिराउने प्रयास हुँदा अडान लिनुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने महानिरीक्षक मन्त्रीकै ‘जी–हजुरी’ मा लाग्नुका कारण यस्तो भएको चर्चा नक्साल हेडक्वार्टरमा चल्न थालेको छ । एसपी दर्जाका अधिकृतमाथि त्यस्तो व्यवहार हुने भएपछि त्योभन्दा तल्लो युनिट कमाण्ड गरिरहेका डिएसपी र इन्स्पेक्टरहरू पनि आतंकित छन् । काम गर्न जाँगर लगाइरहेका छैनन् । आइजिपी नै पिपलपाते भएपछि यस्तो दुःख पाइएको प्रहरीहरू बताउँछन् ।
गृहमन्त्री हुनुअघि रवि लामिछानेको सहकारी काण्ड छानवीन गर्न पोखराबाट त्यहाँका एसपी मोहन थापाले माग गरेअनुसार सिआइबीबाट दुई इन्स्पेक्टर पठाउने यिनै आइजिपी कुँवर । एक हप्तामा रवि गृहमन्त्री भएपछि उनैले भन्न थाले ‘रवि निर्दोष छन् !’ जिबी राईको हकमा त्यस्तै भयो । मन्त्री हुनुअघि आकाश–पाताल जहाँबाट भए पनि ल्याउँछु भन्ने रविकै दबाबमा उनी जोगाइएका छन् । मलेसियाले अर्को देशले कुनै घटनाको कसुरदार माग गर्दा दिने चलन नै छ । नेपालबाट प्रहरीमार्फत डकुमेन्ट गइसकेको थियो । हिजो प्रहरीले डकुमेन्ट पठाउँदाको गृह मन्त्री नै आज परराष्ट्र मन्त्री भएको बेला जिबीलाई ल्याउन झन् सजिलो हुनुपर्ने हो । तर, यसमा पनि रविले प्रभावित पारेको चर्चा हुँदैछ ।
यता गृह मन्त्रालयमा भने पर्यटकीय क्षेत्रका नाममा ठमेलमा रातभरि व्यवसायिक गतिविधि खुला राख्नेबारे छलफल चलेको छ । ‘रात्रिकालीन व्यवसायलाई रातैभरि खोल्ने भनेपछि त्यहाँ सुरक्षाको कुरा आउने नै भयो । तर, सुरक्षाकर्मीको मनोबल गिराइएको बेला कसरी सम्भव होला ?’ उक्त छलफलमा कुरा उठ्यो । ठमेलका मनोरञ्जनस्थल, अर्थात् दोहोरी, डिस्को, पब, बार, क्यासिनो, स्पासहित त्यस क्षेत्रका होटलहरू रातभरि खुला राख्ने विषयमा छलफल गर्न प्रहरी र सशस्त्रका आइजिपीसहित वडाध्यक्ष, स्थानीय बासिन्दासम्म मन्त्रालयमा बोलाइएका थिए ।
त्यहाँ व्यवसायिक गतिविधिसँगै बहुसंख्यक नेवार समुदायका मानिसहरूको बाक्लो बसोबास पनि छ । ‘रातभरि नखोल्दा त बिहानै उठेर मन्दिर जान हिँड्यो, हाम्रो घरको भित्तामा जँड्याहाहरूले पिसाब फेरिराखेको हुन्छ, अब रातैभरि खोलिदियो भने के होला ?’, एकजना वडाध्यक्ष कराउँदै थिए ।
उक्त छलफलमा काठमाडौंकी उपमेयर सुनीता डंगोल, प्रदेश सांसद बसन्त मानन्धर, क्षेत्र नं. ६ का संघीय सांसद शिशिर खनालहरू पनि थिए । रातभरि खोल्नुपर्छ भन्नेहरूको तर्क थियो, ‘विदेशबाट आउने जहाज मध्यरात अवतरण हुन्छन्, उनीहरूलाई बस्ने, खाने ठाउँको सुविधा नहुँदा समस्या भएको छ ।’ अन्तर्राष्ट्रियमात्रै हैन, आन्तरिक उडानका जहाज पनि रात्रिकालीन छन् । विराटनगर, भैरहवा, पोखरा र धनगढी विमानस्थलबाट राति १०–११ बजेसम्म उडान हुने गरेका छन् । ती जहाजबाट आउने यात्रु काठमाडौंमा अवतरण हुँदा रातको ११–१२ सम्म बज्ने गरेको छ । मध्यरात घरमा ढोका र गेट बजाउन पुग्नुभन्दा बाहिरै बस्छु भन्नेहरू हुन्छन्, तर ठाउँ हुँदैन ।
त्यसैले गृहमा कुरा उठ्यो, क्षेत्र तोक्नेबारे । ठमेललाई रातभरि खोल्दा त्यहाँ बसोबास गर्ने स्थानीयलाई समस्या हुन्छ भने स्थानीय मानिसको कम बसोबास भएको क्षेत्र खुला गर्न सकिन्छ । यदि विमानस्थललाई नै लक्ष्यित गरी रात्रिकालीन व्यवसाय चलाउने हो भने स्थानीयको कम बसोबास रहेको सिनामंगल, शम्भुमार्ग र तिलगंगा क्षेत्र पनि उपयुक्त हुने तर्क गरिएको थियो । ठमेलमा व्यवसाय गर्नेहरूलाई रातभरि जाग्नुपर्ने, बासिन्दालाई सुत्नुपर्ने कुराले उक्त छलफलमा लामो समय खायो । त्यहाँका बासिन्दा र तिनका परिवारको समस्या थरिथरिका छन् । बालबच्चाको पढाई हुन्छ ।
त्यसै पनि ११–१२ बजेसम्म दोहोरी र डिस्कोका आवाजले ठमेल अशान्त नै हुन्छ । विद्यार्थीले बिहानै उठेर स्कुल, कलेज जानुपर्छ । अफिस जानुपर्नेले पनि बिहान तयार हुनैप¥यो । त्यसमाथि सुरक्षाकर्मीको पर्याप्त उपस्थिति नहुँदा रातभरका झैंझगडा, मारकाट कसले थाम्ने ?
रात्रिकालीन व्यवसायमाथि कानुन आकर्षित हुने ‘होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३’ छ । त्यसले मदिरा तथा लागु पदार्थ बेचबिखनका निम्ति उमेरको हदबन्दी तोक्छ । उमेर जुनसुकै भए पनि होटलमा बस्नका लागि रजिष्ट्रेसन गरेर जानुपर्छ । मान्छेलाई नशाले ढालुञ्जेलसम्म नशालु पदार्थ बिक्रि गर्न पाइँदैन । तर, ठमेलमा यसविपरितका गतिविधि अहिले पनि चलिरहेका छन् । ग्राहकदेखि कामदारसम्म लुटिने, कुटिने क्रम उस्तै छ ।
अहिले पनि लुकामारीको शैलीमा त्यहाँ रातभरि नाचगानका गतिविधि चल्ने गरेको छ । ऐनमा बिहान १० देखि राति १० सम्म भनिएको छ । त्यसैले अहिल्यै रातभरि खोल्न पाइने भनेर गृहले अनुमति दिएछ भने पनि अदालतमा मुद्दा हालिन्छ । प्रहरीले राति रक्सी बेच्न पाइँदैनमात्रै भनेको हुन्छ । रक्सी नै बेच्न नपाइने भएपछि रातभरि केका लागि खोल्नु भन्दै व्यवसायीले अदालत र जिल्ला प्रशासनसँग कुरा मिलाउने गरेका छन् । उनीहरूले ऐनको व्यवस्था उल्लेख गर्दै अदालतमा एउटा निवेदन दर्ता गर्छन् र जिल्ला अदालतबाट ‘अर्को आदेश नभएसम्म...’ अन्तरिम आदेश लेखिन्छ ।
कसैले २, कसैले ५ बजेसम्मको अनुमति लिएका छन् । होटलबिना कहीँ पनि क्यासिनो खोल्न पाइँदैन । दरबारमार्गस्थित होटल अन्नपूर्ण बन्द छ, त्यहीँको क्यासिनो भने रातभर खुल्ला हुन्छ । भित्रभित्र प्रतिबन्धित क्रिप्टोको कारोबार हुने सुराक पाएर प्रहरीले मुद्दा पनि चलाएकै छ । रात्रिकालीन व्यवसायका विषयमा अहिलेका जस्ता छलफल २०७० सालतिरै भएका थिए अहिलेका गृहसचिव एकनारायण अर्याल त्यसबेला काठमाडौंको सिडिओ हुँदा । त्यसबेला वैशाख १५ देखि रात्रिकालीन व्यवसायलाई खुला गर्ने भनिएको थियो । तर, १० वर्ष बित्दा पनि त्यो काम हुन सकेन ।
भारतको प्रख्यात पर्यटकीय गन्तव्य गोवा पनि बिहान २–३ बजे बन्द हुन्छ । अमेरिकाको क्यासिनो हब भनिने लस भेगास २४ सैं घण्टा खुल्छ । तर, ती ठाउँमा त्यस्ताखाले व्यवसायिक गतिविधिमात्रै हुन्छन् । आवासीय क्षेत्रभन्दा बाहिर त्यस्ता व्यवसाय सञ्चालित छन् । तर, ठमेल, दरबारमार्गतिर मुन्तिर डिस्कोलाई घर भाडामा दिइएको हुन्छ, माथिल्लो तलामा घरबेटी बसेका हुन्छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू