कुरा यिनै हुन्, खुल्दै जालान् अब झन्

कुरा यिनै हुन्, खुल्दै जालान् अब झन्

विभिन्न सहकारीमात्रै हैन, बैंकहरूलाई पनि त्रासमा राखेर गृहमन्त्री रवि लामिछानेले कस्तो आर्थिक खेलो चलाएका रहेछन्, भन्ने कुराको भर्खरै खुलासा भएको छ । 

अरुको अन्ध, उग्र आलोचकले आफूमाथि आलोचना सोझिँदा आक्रामक हुने, तिल्मिलाउने र उग्र प्रतिक्रिया जनाउने गर्दछन् । यही कुरा लागु हुन्छ, रवि लामिछानेको हकमा । विचारबाट पराजित भएपछि व्यक्तिगत प्रतिशोधमा उत्रिने उनको बानी छर्लङ्ग भएको छ । आफ्नै ड्राइभर शम्भु र चितवनमै पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकै हुन् । दोहोरो नागरिकतामा सर्वोच्चले कैफियत देखाएकै हो । त्यही कारण चितवनमा अर्को चुनाव भयो । दोहोरो पासपोर्ट बोकेकै हुन्, जुन मुद्दा महान्यायाधिवक्ताको रायका आधारमा अहिले स्थगितमात्रै भएको हो । बुटवल र पोखरामात्रै हैन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि उनको संलग्नता छ । कि, त्यो हस्ताक्षर र ल्याप्चेसहितको डकुमेन्ट हैन भन्न सक्नुपर्‍यो । कम्पनी रजिष्ट्रारले कीर्ते गरेको ठहरसहित कर्मचारीलाई कारवाही गर्न सक्नुपर्‍यो । ग्यालेक्सी टिभीबाट जिबी राईसँग पसिनाको मूल्य लिएको भनेका छन् । तर, पसिनाकै मूल्य लिने पनि तरिका हुन्छ । कुन विधिबाट त्यत्तिका रकम लिए ? त्यसको कर के हुन्छ ? प्रश्न अनेक छन् ।

अहिले साई स्वागत सहकारी प्रकरणमा पत्नीको नाम आएपछि आर्थिक अपराधमा संलग्न हुने तर त्यसको ढाकछोप गर्न अदालतको सहारा लिने प्रवृत्ति प्रकट भएको छ । मिडियाले सही सत्य लेख्दा तिनको पनि मुख थुन्न कानुनी छिद्रता प्रयोग गरिएको छ । सार्वजनिक व्यक्तिले कहिल्यै पनि गालीबेइज्जती मुद्दा हाल्दैन । ऊ पब्लिक अथोरिटी हो, गाली सहनुपर्छ । त्यसैले राज्यशक्तिको दुरुपयोग गर्दै मुद्दामा गएको प्रष्ट छ । उनकी पत्नी सरकारी तलब खाने गरी चलचित्र विकास बोर्डको अध्यक्ष भएकी थिइन् । बुबा उद्धवको टेलिभिजन च्यानलको सिग्नल जिबीलाई बेचेकै हुन् । नारी टेलिभिजन चलाएकै हुन् । आर्थिक कारोबारमा आफैं संलग्न थिइन् । चर्चित मिडिया हाउसले विज्ञापनबापत मासिक २० हजार नपाउने बेला नारी टेलिभिजनका नाममा प्रभु बैंकका सिइओबाट एकैपटक तीन लाख रुपैयाँ लिएकी छन् । के आधारमा त्यत्तिका रकम पाइन् ? यो प्रश्न स्वाभाविक रुपमा उठ्छ नै ।

रविले आफ्नो फाइदाका लागि केसम्म गर्छन् भन्ने कुरा लुगाको नेपाली  ब्राण्ड ‘सोनाम’ सँगको व्यवहार हेर्दा छर्लंग हुन्छ । ससुरालीको गोपीकृष्ण हल भएको चाबहिलस्थित जमिनमा एउटा परियोजनाको प्रस्ताव पेश गरी तीनवटा बैंकलाई मूर्ख बनाउँदै २० करोडभन्दा बढी रकम लिएका छन् । गोपीकृष्ण मुभिजको कर मामिला निकै बढी भएपछि उक्त कम्पनी अहिले बन्द छ । त्यही जमिनमा गोपीकृष्ण कमर्सियल कम्प्लेक्स (जिकेसीसी) सञ्चालनका नाममा प्रभु, सिद्धार्थ र कामना सेवा विकास बैंकबाट रविका सालोले ऋण लिएका छन् । त्यसमध्ये प्रभुबाट आठ करोडभन्दा बढी, सिद्धार्थबाट १७ करोडको हाराहारीमा र कामना सेवा विकास बैंकबाट पाँच करोडभन्दा बढी ऋण चलाएका छन् । ती बैंकहरूलाई ऋण प्रवाहबारे राष्ट्रबैंकले पटक पटक सोधिसक्यो ।

तर, झुठो जवाफ दिँदै अहिलेसम्म जोगिएका छन् । त्यसरी झुठो जवाफ दिनुको कारण हो, रविको धाक र धम्की । त्यसमध्ये कामना सेवा विकास बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यलाई खुशी पार्न उनकी पत्नी लिमा अधिकारीलाई रास्वपाको कोषाध्यक्ष नै बनाइएको छ । भविष्यमा मन्त्री बनाउने आश्वासन दिइएको चर्चा यसै चलेको हैन । लिमा पूर्वअर्थमन्त्री तथा एमाले नेता स्व.भरतमोहन अधिकारीकी छोरी तथा व्यापारी कृष्ण आचार्यकी बुहारी हुन् । २०७९ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट समानुपातिक उम्मेदवार थिइन् । चुनाव सकिएपछि रास्वपामा गइन् ।
 

टिप्पणीहरू