ज्योतिका लागि को चाहिँ बलात्कारी

ज्योतिका लागि को चाहिँ बलात्कारी
सुन्नुहोस्

गायिका ज्योति मगर आउने भएपछि स्टेज मात्रै बलियो बनाइएन, सुरक्षा व्यवस्था पनि कडै पारियो । उनले प्रस्तुतिको शुरुमै आयोजकतिर हेर्दै स्टेज त भाँचिन्न नि ? भन्दा कार्यक्रमको अध्यक्षता गरिरहेका उद्योग वाणिज्य संघका अध्यक्षले भनेका थिए– भाँचिन्न, भाँचिन्न जति उफ्रे पनि । 

जब ज्योति प्रस्तुति दिन स्टेजअगाडि देखापरिन्, हुटिङको ओइरो लाग्यो । शुरुमै छोटो लुगा किन लगाएको भन्नेबारे प्रवचन दिइन् । केटीहरूको सेता र मुलायम छाला, मोटा तिघ्रा त देखाउनै छ, त्यति मात्र हैन पहिरन मेरो अधिकार हो । कुरा काट्नेहरूको सोच नै बलात्कारी छ, मन कालो छ कुरा त काटिहाल्छन् नि हैन ? भनिरहिन् । छोटो लुगा लगाउन केटीहरूलाई उकास्दै ‘खोलीभित्र पानी, चोलीभित्र जवानी’ ‘चानचुने त कहाँ हो र जिम्मुवाल बाउकी छोरी’ जस्ता गीत पस्केकी ज्योतिको प्रस्तुतिमा युवा केटाहरू झुम्मिए पनि धुर्मुस–सुन्तलीको प्रहसन हेर्न गएका बूढाबूढी भने छ्या कस्ती छाडा आइमाई भन्दै महोत्सव स्थलबाट निस्किए ।

स्पिकरमाथि खुट्टा राखेर नारी अस्मिता ढाक्ने भित्री वस्त्र देखाएकी ज्योतिको प्रस्तुतिबाट उत्तेजित केही केटा मञ्चमा जान खोज्दा प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । चौध वर्षपछि लमजुङ पुगेका धुर्मुस–सुन्तलीले चितवनको निर्माणाधीन क्रिकेट रंगशालामा आफूहरूले कुनै घोटाला नगरेको बरु दाताहरूले ठगेको बताए । ‘दिन्छु भनेर दिएनन् । हाम्रो ५४ करोड खर्च भएको छ । निर्माणका लागि ३ अर्ब ५५ करोड अनुमान गरिएको थियो, राज्यले सहयोग गरेन । दाताहरूले घात गरे’ भन्न भ्याए । 

धुर्मुस उर्फ सीताराम कट्टेलले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा चोखो नभएको, पदको दुरूपयोग गरेको आरोप लगाए भने ज्योतिले चाहिँ चुनावताका विदेशमा भएका नेपालीलाई फर्काउने र स्वदेशमै जागिर दिलाउने भन्नेले कति नेपाली फर्काएर रोजगारी दिलाए ? भनी प्रश्न गरेकी थिइन् । भनिन्, ‘गृहमन्त्री बन्नेबित्तिकै जिबी राईलाई समात्छु भनेको हैन, खै आजसम्म किन समातेनन् ? सानातिना हामीजस्तालाई धम्क्याउने हो, तर्साउने हो, ठूला माछा त यिनका साझेदारी हो भनेर गीत गाउँदा गाउँदै शब्द वर्षा गर्दा ड्युटीमा खटिएका प्रहरीले खुब चाख मानेको देखिन्थ्यो । 

घरिघरि स्पिकरमाथि खुट्टा चढाउन पुग्ने ज्योतिलाई भारतीय पेन्सनवाला एक गुरुङ बाजेले देखियो देखियो भन्दै उकासे भने दोर्दी गाउँपलिकाका अध्यक्ष युवराज अधिकारीले आफूलाई मनपर्ने गायिकामा पर्ने र हक्की स्वभावको आफू फ्यान भएको बताएका थिए । ग्रामीण परिवेशमा उनको प्रस्तुति खासै पाच्य नभए पनि लमजुङ महोत्सवको चौथो दिन निकै दर्शकको उपस्थिति थियो । लगातार डेढ घण्टा जति उफ्रिएकी ज्योतिलाई महोत्सवका ठेकेदारले १ लाख खर्चिएका थिए । 

– अञ्जनकुमार
 

टिप्पणीहरू