कार्यालय खाद्य, गतिविधि अपाच्य

कार्यालय खाद्य, गतिविधि अपाच्य
सुन्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको प्रमुख फेरिएकोमा चितवनका उद्योगी, व्यवसायीहरु खुशी देखिन्छन् । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. क्षितिज श्रेष्ठको सरुवा भएको खबरपछि यताका उद्योगी, व्यवसायीहरु फुरुङ्ग भएका हुन् । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अहिले पनि डा. क्षितिज श्रेष्ठ नै कार्यालय प्रमुख रहेको अस्ति बताइएको थियो । प्रमुख फेरबदल भएको लिखित जानकारी आफूलाई प्राप्त नभएको कार्यालयकी सूचना अधिकारी प्रगति अधिकारीले बताइन्। ठूलै लफडाकाबीच बिहीबारै काशीनाथ घिमिरे नियुक्त भएको यता व्यवसायीहरुमाझ चर्चा थियो । 

डा. क्षितिज श्रेष्ठविरुद्ध चितवनका उद्योगी, व्यवसायीहरु एकढिक्का भएर लागेपछि उनी लखेटिएका हुन् । श्रेष्ठले गरिखान नदिएको भन्दै उद्योगी, व्यवसायीहरुले राजनीतिक दलका नेता, विभागका निर्देशक, महानिर्देशकदेखि लिएर मन्त्रीसम्मै कुरा पुर्याएका थिए । ‘हामी पनि काठमाडौं जाँदा डिजीसँग भेटेर यो मान्छेको कारणले समस्या भयो भन्ने कुरा राख्यौं’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भने । चैत २८ गते नै व्यवसायीहरुको छुट्टै प्रतिनिधिमण्डलले पनि दुःखेसो पोखेको थियो । 

खाद्य स्वच्छता एवम् खाद्य ऐन–नियमको पालना गराउन क्षेत्रीय कार्यालयमा प्रमुख भएर खटिएका श्रेष्ठले विनासित्ति दुःख दिएको, अत्याचार गरेको भन्दै उद्योगी, व्यवसायीहरुले उनीमाथि पदको दुरुपयोग र भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका छन् । क्षितिजले विभिन्न स्वार्थ र बहानामा सताउने गरेको उद्योगी, व्यवसायीको भनाइ छ । 

डा. श्रेष्ठद्वारा पीडित भनिएका किसान, युवा, साना व्यवसायी, स्थानीय उद्योगीहरुको समूहले संघर्ष समिति नै बनाएर आन्दोलन चर्काइरहेको अवस्थामा गत चैतको अन्त्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको प्रमुखसमेत फेरिएका छन् । घननाथ अधिकारी विराटनगर गएको र बागलुङमा कार्यरत सौरभ श्रेष्ठ चितवन आउन लागेको डिभिजन कार्यालय चितवनकी खाद्य निरीक्षक वन्दना पन्तले बताइन् । हेटौंडाको विषयमा भने थाहा नभएको उनको भनाइ छ । 

डा. क्षितिज श्रेष्ठले अप्ठ्यारो परिस्थिति सिर्जना गरिदिएपछि असन्तुष्ट व्यवसायीहरुको समूहले उनीविरुद्ध तयार पारेको लामै फेहरिस्त जनआस्थाले प्राप्त गरेको छ । डा. क्षितिजले घुस नपाएपछि खाद्य उत्पादनको स्याम्पल कलेक्सन गरी आफ्नै मनोमानीले ल्याब टेष्ट गरेको बहाना बनाई उद्योगलाई मुद्दा चलाउने तयारी गरेको आरोप त्यसमा लेखिएको छ ।

अनुज्ञापत्र नवीकरण नभएको बहानामा उद्योगहरुलाई सिल गरेको, सिल गर्नु अगाडि र सिल खोल्दाको बखत स्थानीय सरकार र प्रशासनलाई जानकारी नगराएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको कार्य क्षेत्रभित्र अनुगमन, उद्योग बन्द, स्याम्पल कलेक्सन गर्दासमेत डिभिजन कार्यालय र प्रशासन कार्यालयलाई सुइँकोसम्म नदिएको व्यवसायीहरुले बताएका छन् ।

सिल गरेको उद्योगहरुसँग ड्राइभरमार्फत् मोटो रकम असुल गरेको र निजले पटक–पटक विभिन्न व्यवसायीहरुसँग घुस लिएको प्रमाण सुरक्षित रहेकोसमेत आरोपमा उल्लेख छ । उद्योग मर्मतको बेलामा बिदाको दिन शनिबार आएर सिल गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । स्याम्पल बुझाउन जाँदा बुझ्न नमानेको, उद्योग सिल गर्दा लिखित पेपरको अफिस कपी (ओसी) पनि नदिएको आरोप डा. क्षितिज श्रेष्ठमाथि छ । कुनै उद्योगको कुनै स्याम्पलको ल्याब परीक्षण गर्दा २५ सय तिनुपर्ने र कुनै पारामिटर फेल भएमा अन्यत्र छ सय तिरेर पुनः परीक्षण हुने अवस्थामा हेटौंडामा पटकैपिच्छे पूरै २५ सय नै लिने गरेको उद्योेगी, व्यवसायीको भनाइ छ । अनुज्ञापत्र नलिएको उद्योगलाई खेलोफड्को गरेर चल्न दिएको आरोप पनि छ । 

क्षितिजले अनुज्ञापत्र नवीकरणको निम्ति बुझाएको स्याम्पल समयमै परीक्षण नगरी अनेक बहाना देखाइ झुलाउने र दुःख दिने गरेको एकोहोरो आरोप व्यवसायीहरुको छ । गरिब किसानहरुद्वारा सञ्चालित डेरी उद्योगहरुलाई वर्षाैंसम्म अनुज्ञापत्र नदिने र लाखौंको चलखेलमा वर्षाैंसम्म उत्पादन रोकी दिँदा किसानका दशौं लाखका नौनी, घिउलगायत सम्पूर्ण डेरी उत्पादनहरु स्वयम् आफैंले नष्ट गरेको प्रमाणसमेत कार्यालयको वेबसाइटमा राखिएको बताइन्छ । यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडामा आज बिहान सवा १० बजेतिर सम्पर्क राख्दा डा. क्षितिजको सुर्खेत सरुवा भएको जानकारी सूचना अधिकारीले नै दिएकी छन् । 

टिप्पणीहरू