एकमुष्ट नियुक्तीको दौड शुरु !

आगामी कात्तिक ७ गते मुख्यसचिव लोकदर्शन रेग्मीले अवकाश पाउँदैछन् । त्यसअघि नै अर्थात् असोज २१ गते परराष्ट्र सचिव शंकरदास वैरागी पनि पाँच वर्षे अवधिका कारण सचिवबाट अवकाश हुनेछन् ।

सरकार भने दशैंको मुखमा मुख्यसचिव र परराष्ट्र सचिव छान्नुपर्ने अवस्थामा छ । बजारमा चर्चा चलाइए पनि चन्द्र घिमिरेलाई मुख्यसचिव दिने पक्षमा प्रधानमन्त्री देखिनुहुन्न । रेग्मी पहिले,त्यसपछि बैरागी अवकाश हुने भएको भए कुरो मिलेको थियो । तर, हुन गयो ठ्याक्कै उल्टो ।

त्यसो हुँदा बेलायतको रिक्त राजदूतमा लोकदर्शनलाई असोज २१ गते अगावै नियुक्त गरी पठाउने र शंकरलाई मुख्यसचिव बनाउने सम्भावना प्रवल हुँदै गएको छ । यसो गर्दा बहालरत मुख्यसचिवलाई राम्रै देशमा राजदूत बनाउनुपर्ने बाध्यतामा सरकार पुगेको हो ।

अर्थ मन्त्रीबाट राजीनामा दिएर फुर्सदिलो देखिएका युवराज खतिवडालाई पनि गतिलो ठाउँमा सेटिङ्ग गर्नुपर्ने बाध्यतामा प्रधानमन्त्री हुनुहुन्छ । अमेरिकाका लागि राजदूत अर्जुन कार्कीलाई चार वर्षे कार्यकाल सकाए पनि झण्डै एक वर्षदेखि ‘अर्को व्यवस्था नहुञ्जेलको लागि’ भन्दै अस्थायी थमौती गरिएको छ । विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष र एमसीसीलगायतका अमेरिकी सहयोग नियोगहरू सबैजसो वासिङ्गटन डिसीमा रहेकाले पनि खतिवडालाई त्यहाँको राजदूत बनाउने सम्भावना बढेको स्रोतको दाबी छ ।

खतिवडा गत शुक्रबारसम्म झण्डा हल्लाउँदै अर्थमन्त्रालय ओहोरदोहोर गरिरहेका थिए । प्रधानमन्त्रीको आड,भरोसा छपक्कै भएकाले पनि हुनसक्छ पछिल्लो समय उनी लगभग ‘डिफ्याक्टो प्रधानमन्त्री’ जस्तै देखिएका थिए । आइतबार बालुवाटारमा भएको प्रधानमन्त्रीको उद्योगी तथा व्यापारीसँगको छलफलमा समेत उनले बहालरत मन्त्रीकै रवाफमा सवाल जवाफ गरेका थिए ।

प्रभावशाली मन्त्रीबाट खुस्केर प्रधानमन्त्रीको मुख्य सल्लाहकार नै भएपनि न झण्डा, न डण्डाको अवस्थामा हुनेछन् उनी । त्यस्तो नङ्ग्रा भाँचिएको सिंह भएर बस्नुको औचित्य कति छ भन्ने कुरोको उनी स्वयम् अढाई वर्षदेखि त्यहाँका सल्लाहकारहरूलाई हेरेर र भोगेर भुक्तभोगी बनिसकेका छन् । त्यसैले उनले पनि ‘न रहे बाँस, न बजे बाँसुरी’ को सिद्धान्तमा सात समुद्रपारको सडकमा झण्डा हल्लाउनु ‘बरु ठीक’ भनेर सोचेको हुनसक्ने स्रोतको दाबी छ । यता, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्तिको प्रकृया थाल्नेबित्तिकै काँग्रेसले पनि आफ्नो भाग खोज्ने पक्का छ ।

हालका प्रमुख आयुक्त नवीन घिमिरेले यहि २८ गते अवकाश पाएपछि त्यहाँ आयुक्तहरू गणेशराज जोशी र सावित्री गुरुङ्ग मात्र दुईजना बाँकी रहनेछन् । आइतबारपछि तीन पद खाली हुने भएकाले राईलाई आठ महिनापछि जोशीको अवकाश पश्चात् प्रमुख आयुक्त बनाउने गरी अहिले आयुक्तमा नियुक्तिको सन्दर्भ मिलाउँदा पनि दुईवटा पद बाँकी नै हुन्छ । त्यस्तो अवस्थामा एउटा काँग्रेस र एउटा पूर्व एमाओवादीले आफ्नो भाग खोज्ने पक्का झैँ देखिन्छ ।

उता, संवैधानिक अङ्गहरूमध्ये लोकसेवा आयोग र निर्वाचन आयोगमा पनि सदस्यहरू रिक्त छन् । मुस्लिम आयोग,वित्त आयोग,महिला आयोगलगायतका निकायमा धेरै वटा पद लामो समयदेखि रिक्त छ । यसबीचमा थुप्रै देशका राजदूतहरू भटाभट खाली हुन थालेका छन् । त्यहि भएर होला एकमुष्ट नियुक्तिको दौडादौड समेत शुरु भइसकेको छ ।

 

टिप्पणीहरू