पौडेलहरू अब जेल जाने पक्का

पौडेलहरू अब जेल जाने पक्का
सुन्नुहोस्

अनेकौँ अनियमिततामा मुछिएर लामो समयदेखि अख्तियारको हिरासतमा रहँदै आएका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल अन्ततः यही महिनाको अन्त्यमा जेल जाने भएका छन् ।

विशेष अदालतले उनलाई नेशनल पेमेन्ट गेटवे प्रणाली खरिदमा करिब २४ करोड भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरिसकेको छ । यसको बिगोसमेत गर्दा दोब्बर हुन आउँछ । एकातिर अदालतले यही एउटा मुद्दामा वैशाख २६ गते सजायँँ निर्धारणका लागि पेसी तोकेको छ भने अर्कातिर अख्तियारले असोज १५ गते दायर गरेको एमडीएमएससम्बन्धी मुद्दासँगै अकुत सम्पत्ति र दूरसञ्चारसम्बन्धी अरु विषयमा पनि अनुसन्धान जारी राखेको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पनि उनीसँगै हिरासतमा छन् । यी दुवैले गरेको भ्रष्टाचारको बिगो र सजायँ मात्रै अर्बौं हुने भएकाले धरौटीमा छुट्ने सम्भावना अत्यन्त क्षीण देखिन्छ । तीन वर्षभन्दा कम कैद तोकिएको अवस्थामा मात्र धरौटीमा छुट्न पाइने हो । तर, सुनिल र विकलका हकमा त्योभन्दा बढी कम्तीमा आठ वर्ष कैद हुनसक्ने अवस्था टड्कारो छ । यसर्थ उनीहरू जेल जाने कुरामा कुनै शंका रहेन ।

ठूलाबडा र प्रभावशालीहरूको मोहरा बनेर बाह्रैमास नियुक्ति खान सफल पौडेलहरूको पर्दा पछाडिका कोही पनि हल्लिएका छैनन् । यसअघि लागुऔषध र सुन ओसारपसार काण्डमा पनि बिचरा भरियाहरू मात्रै पर्ने गरेका छन् । लाइसेन्सको केसमा पनि अवस्था उस्तै छ । उच्च अदालत पाटनमा विचाराधीन राजश्व अनुसन्धानसँग सम्बन्धित अधिकांश मुद्दामा भरियाहरू मात्रैलाई संलग्न गराइएको देखिन्छ ।

यस्ता ठूला काण्ड र अपराधमा प्रभावशाली र मूल मान्छेको प्रत्यक्ष संलग्नता भेटिँदैन । काण्ड अर्बौंको तर सतहमा भरिया मात्र देखिने गरेकाले पनि पौडेलद्वयको भ्रष्टाचारमा भित्रियाहरू चोखिने सम्भावना प्रबल छ । आफूलाई शिक्षित, पढेलेखेका भन्दै आएका पौडेलहरूले कसैको आड भरोसामा पटक पटक नियुक्ति लिने, म्याद थप्ने गरेका थिए । सबैभन्दा रोचक पक्ष त उनीहरू जुन सत्ता आए पनि सबैको प्यारो बनेको प्रष्ट छ । 

हुन तः सम्पत्ति शुद्धिकरण र अकुत सम्पत्तिमा जो कोहीविरुद्ध अदालतमा मुदा दायर भएपछि सरकारलाई अर्को झ्याउलो आइलाग्ने अवस्था छ । राज्यले जफत गरेका सम्पत्तिमध्ये सुन र पैसा भए राष्ट्र बैंकलाई बुझाइन्छ । जमिन र भवन भए सम्बन्धित मालपोत कार्यालयको जिम्मा लगाइन्छ । गाडी जफत हुँदा लिलाम प्रक्रिया निकै जटिल हुने गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा गृह मन्त्रालयस्थित कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको हो । विभागको महानिर्देशकमा यतिखेर महादेव पन्थ छन् । पछिल्लो समय धेरै कसुरदारका सम्पत्ति न जफत, न भोगचलनको अवस्था छ । कुनै अदालतमा एउटा मुद्दा परेपछि व्यक्तिका बैंक खातादेखि भएभरका चलअचल सम्पत्ति स्वतः रोक्का हुने कानुनी प्रावधान छ । सरकारले जफत नगरेसम्म ती सम्पत्ति चलाइरहन त पाइयो । तर, रोक्का भएकाले बेच्न सम्भव हुँदैन । अदालती ढिलासुस्तीका कारण सम्पत्ति रोक्का भएका कतिपय निर्दोषले पनि न्याय पाएका छैनन् ।

उता, सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डार बलम्बुमा दुई साताअघि लागेको आगोको कारण विभिन्न कोणबाट खोज्न थालिएको छ । एउटै मान्छे तीन तीन वर्षसम्म भण्डारको हाकिम भएर बसेको तर त्यहाँबाट सरुवा हुने बेलामा भण्डारमा एकाएक आगो दन्किनुलाई संयोगको रूपमा मात्र लिन नहुने बताइन्छ । 

यसबीच नेपाल प्रहरी र सशस्त्रका निम्ति हतियार खरिद गर्ने सरकारको कुनै सुरसार देखिँदैन । अत्यावश्यक अश्रुग्यास, लत्ताकपडा, जुत्तालगायत बन्दोबस्तीका सामान ल्याउने कुरासम्म चलिरहेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था टेण्डरबाट गर्न सकिने तर थप बजेट मागेर केही हुनेवाला नरहेको गृहका अधिकारीहरू बताउँछन् ।

टिप्पणीहरू