‘जयनेपाल’मा यस्तो देखियो जोखना

‘जयनेपाल’मा यस्तो देखियो जोखना

साथीहरू माथि–माथि, आफूलाई चाहिने मापसे तीन पाथी ! अहिले प्रहरी हेडक्वार्टरभित्र यस्ताखाले हाकिमहरूको चर्चा चलिरहेको छ । 

एआइजी मीरा चौधरी र सन्दिप भण्डारीले अवकाश पाएपछि उक्त ठाउँमा भीम ढकाल र उमेशराज जोशीले बढुवा पाउँदा दुई डिआइजीको दरबन्दी रिक्त छ । वैशाख ७ गते उमेरहदका कारण विकासराज खनाल घर गए, अब जेठको १० गते अर्का डिआइजी सुरेन्द्रप्रसाद मैनालीलाई पनि उमेरहद लाग्दै छ । र, रिक्त तीन पदमा को–को पर्ने हुन् भनी चर्चा गरिँदा दुई जना ‘२४ घ’ को चर्चा हुने गरेको हो । यो प्रसंग निजामती सेवामा ‘पानी बढुवा’ भनिने ‘२४ घ’ हैन, मदिराका २४ घण्टे हाकिमको हो । अहिलेका आइजी र एआइजीहरूसँगै २०५१ सालको चैत ५ गते जागिर खाएर पनि एसएसपी दर्जामै रहेका ध्रुवराज राउत बढुवाको स्वाभाविक दाबेदार हुन् ।

अहिले प्रधानमन्त्री कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका उनले कुनै बेला बर्दी लगाएर सामाजिक सञ्जालमा पोष्ट गरिएका केही अशोभनीय दृश्यले प्रहरी संगठनकै छविमा असर परेको भनी सिपाहीहरूलाई कारवाही गरेका थिए । अहिले आफैं रक्सीको बोतल बोकेर, बर्दीमै फोटो हाल्ने, नाच्नेजस्ता दृश्यले समस्यामा परेका छन् । उनी मदिरा प्रेमी हुन्, ‘२४ घ’ भनेजस्तो । उनीमाथि छानबिन गर्ने एआइजी नेतृत्वको कार्यविभागअन्तर्गतको महाशाखामा छन् । अहिले सिआइबी प्रमुखमा सरुवा भएका श्यामलाल ज्ञवाली उक्त विभागको प्रमुख हुँदा उनीमाथि आफूभन्दा जुनियर एसएसपीको नेतृत्वमा छनवीन समिति नै बनेको थियो ।

अर्का ‘२४ घ’ छन्, भोलाबहादुर रावल । उनी क्रसरवालाको सेटिङमा एसपी हुँदा गोरखा पुगेका थिए । त्यसबेला गण्डकीका डिआइजीले फोन गर्दा राति मोबाइलबाटै गीत सुनाए । त्यसबापत सरुवा नै हुनुपरेको थियो । उनी पनि ०५१ चैतमा अहिलेका आइजीहरूसँगै इन्स्पेक्टरमा भर्ना भएका हुन् । ०६३ भदौ ८ मा डिएसपी र ०७२ फागुन १९ मा एसपी हुँदासम्म टोलीसँगै थिए । त्यसपछि उनलाई ‘२४ घ’ ले भेटेपछि बढुवाबाट छुट्दै अहिले एसएसपीमात्रै छन् । त्यसैले अब हुने डिआइजीमा ०५२ कात्तिक २७ को नियुक्तिका एक जना र ०७९ असार २५ मा एसएसपी हुने ०५३–०५४ को टोलीबाट एकजना पर्ने सम्भावना छ ।

०५२ को टोलीले ०५१ को टोलीसँगै भर्ना छनौटमा भाग लिएको, तर वैकल्पिकमा पर्नाले र नियुक्तिपत्र ढिलो दिनाले उनीहरूको जागिरको गणना ढिलो भएको बताइन्छ । उक्त टोलीबाट दिपक थापा, टेकबहादुर तामाङ र भीम ढकाल एआइजी भइसकेका छन् । केही व्याची अझै एसएसपी छन् । त्यसमध्येका कृष्णहरि शर्माको बढुवा हुने पक्का छ । उनलाई सिन्धुलीको दुधौलीस्थित प्रहरी शिक्षालयबाट भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिँदा नै डिआइजी बनाइने गरी ल्याइएको हो । अर्को एकजना डिआइजीमा ०७९ असार २५ मा एसएसपी हुने टोलीबाट ल्याइने भएको छ । उक्त टोलीको पहिलो नम्बर बढुवामा ०५१ चैतकै इन्स्पेक्टर गणेश चन्द थिए । व्याची तथा पत्नी दुर्गा सिंह डिआइजी भइसक्दा पनि उनी एसएसपीबाट घर जाने स्थितिमा छन् ।

दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशील सिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी थिए । यी तीनैजना ०५३ पुस ५ गते गुप्तचर विभागको इन्स्पेक्टरका रुपमा भर्ना भई ०५५ को समायोजनमा प्रहरी सेवातर्पm आएका हुन् । उक्त टोलीसँगै प्रहरीमा ०५४ चैत १८ मा भर्ना भएको टोलीले ०७४ मा एसपी र ०७९ मा एसएसपी हुँदा एउटै मितिको बढुवा पाएका थिए । त्यसमा गुप्तचर टोलीबाट सिद्धिविक्रम शाह र प्रहरी टोलीबाट दानबहादुर कार्की पहिलो नम्बरमा थिए । गुप्तचरबाट आएका र सीधै प्रहरीबाट आएका अधिकृतबीच बेलाबेला विवाद हुने गरेको छ । 

अब आइजीसँगैको (०५१ कै) व्याचका डिआइजी र एआइजीहरू पनि घर जाने नजिक नजिक पुगेका छन् । हालै एआइजी भएका उमेशराज जोशी असार ११ गते ५६ वर्षको उमेरहद लागेर घर जान्छन् भने भीम ढकालको पनि मंसिर २८ गते जागिर सकिन्छ । श्यामलाल ज्ञवाली भदौ २६ मा जान्छन् । अहिले उपत्यका ट्राफिक सम्हालेका डिआइजी पोषराज पोखरेल असार २१ गते उमेरहदका कारण अवकास हुँदै छन् । त्यस्तै, असईको १०५ टोली (०५१ भदौ १६) का बाट ०५४ मा इन्स्पेक्टर भएका जीवनकुमार श्रेष्ठ (क), रेवती ढकाल, किसनसिंह थापाहरू पनि भदौ १६ मै अवकास हुने भएका छन् ।

सोही मितिमा एसएसपी दिनेशराज मैनाली, एसपीहरू सविन प्रधान, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मी, कृष्ण प्रसाईं, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, अर्जुन रानाभाट, देवेन्द्र पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्रीले ३० वर्षे सेवा अवधीका कारण अवकाश पाउने भएका छन् । रविकुमार पौडेलचाहिँ असार ३ गते र तपनकुमार दाहाल कात्तिक १ गते रिटायर्ड हुन्छन् ।

भदौ १२ पछि ०७९ भदौ ३ का एसएसपीमध्ये ९ जना मात्रै बाँकी रहन्छन् । एआइजी र डिआइजीमा टेकप्रसाद राई, दिपक थापा, टेकबहादुर तामाङ, सुदीप गिरी, चन्द्रकुवेर खापुङ, लालमणि आचार्यहरू ३० वर्षे लागेर चैत ५ र ०८२ सालको भदौमा अवकाश हुन्छन् । यदि, ध्रुव, भोलालाई डिआइजी बनाइयो भने ०७९ सालका एसएसपीहरूले १७ महिनापछि आइजीका निम्ति तयार हुनुपर्ने कुरामा बाधा पुग्ने अवस्था हुन्छ । किनभने, अब ११ महिना अहिलेका आइजीसहितका एआइजी र डिआइजीले जागिर खान्छन् ।

त्यसपछि ०५२ भदौमा नियुक्त भएका एआइजी (दिपक, टेकबहादुर) मध्येबाट एकजनाले ०८२ भदौसम्म संगठन चलाउँछन् र त्यसपछि ०७९ सालका एसएसपीमध्येबाट आइजी र एआइजी हुनुपर्ने समय आउँछ ।
 

टिप्पणीहरू