बलिको बोको त यसरी पो बनाइन्छ
अरुका हकमा ‘ठाउँको ठाउँ’, आफूलाई परे ‘पछि भनौँला !’ यस्तो मापदण्ड हो, रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको । समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड चाहियो भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग फोनमा गरेको कुराकानी बाहिरिएपछि ‘प्रश्न उठ्नेबित्तिकै कारवाही गर्नुपर्छ’ भन्दै उनलाई पदमुक्त गरियो । तर, त्यस्ता थुप्रै करोडको मामिलामा एकपछि अर्को गर्दैै स्वयं रवि लामिछाने बदनाम भइरहँदा ठाउँ–ठाउँमा आफ्ना मान्छे राख्ने र फाइलहरु गुपचुप पार्ने धन्दा चलिरहेको छ । त्यसैको एउटा सिलसिला हो, प्रहरी सरुवा प्रकरण ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका सोमेन्द्रसिंह राठौर ९ महिनामै तानिए । सामान्यतया कुनै गम्भीर त्रुटि नभएसम्म कमाण्डरले एक वर्षसम्म कमाण्ड चलाउन पाइने प्रचलन छ । तर, रवि गृहमन्त्री भएयता त्यस्तो प्रचलनलाई धोति लगाइएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट रविले गाडी खरिदका नाममा ४६ लाखका दरले दुईपटक पैसा लगेकै हुन् ।
त्यससम्बन्धी फाइल सहकारी विभाग हुँदै काठमाडौं प्रहरी परिसर र त्यहाँबाट प्रहरी बृत्त कालिमाटी पुगेको थियो । सहकारीकै मामिलामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले गरेको अनुसन्धान अन्तिम अवस्थामा पुगी रविलाई कारवाही गर्न मात्रै बाँकी हुँदा त्यहाँकी एआइजी किरण बज्राचार्य हेडक्वार्टर तानिएकै शैलीमा काठमाडौं प्रहरी प्रमुखबाट भूपेन्द्र तानिए ।
सुनसम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेको नाममा किरण बज्राचार्यले सिआइबीको प्रमुखबाट हट्नुपरेको त बहाना मात्रै थियो । उनले पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविको संलग्नता किटान गरी मुद्दा अगाडि बढाउन र बयानका लागि रविलाई बोलाउन ठिक्क परेको बेला त्यहीँ कार्यरत एक जना डिएसपीले उक्त सूचना रविलाई दिए । त्यसपछि किरण झण्डै निलम्बित भइन् । यही सिलसिला थियो, भूपेन्द्र र सोमेन्द्रका हकमा । काठमाडौं परिसरका एसपी कुमोध ढुंगेल सरुवा भएर पर्सा भएपछि त्यहाँ खाली रहेको टुवाइसीमा सिआइबीबाट नवराज अधिकारी पठाइए । लगत्तै कालिमाटी बृत्तबाट मगाइयो स्वर्णलक्ष्मी सहकारीको फाइल ।
अनि कसैले गएर रविलाई कुरा लगायो, ‘रौतहटका १२ जना एसपीले पक्राउ गर्न नसकेका आफ्ताव आलमलाई समात्ने मान्छे भूपेन्द्र खत्री नै हो, स्वर्णलक्ष्मीको केसमा यसले समात्न सक्छ !’ भूपेन्द्रजस्तै सोमेन्द्र पनि अरुका अनुचित कुरा नसुन्ने एसएसपी, जो अपराध महाशाखामा कार्यरत थिए । दुई एसएसपी तानिए रवि सुरक्षित हुन्छन् भनेर प्रहरीहरूले नै दिएको सल्लाहअनुसार ९ महिनामै उक्त सरुवा भएको भनिन्छ ।
रविले पहिला–पहिला एसपी अंगुर जिसीका कुरा सुन्थे । उनले भूपेन्द्र र सोमेन्द्रजस्ता काविल अफिसर विभागमा थोरै छन् भन्दाभन्दै तानिनुसँग एक जना डिआइजीको डिजाइन र त्यसमा केही एसपीको ‘सूचना’ ले काम गरेको बताइन्छ । त्यसपछि काठमाडौं परिसरमा बसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई पठाइयो । बसन्त दाङका हुन् । त्यसैले उनलाई एमाले महासचिव शंकर पोखरेलको मान्छे बनाइयो । यद्यपि, उनी कांग्रेस पृष्ठभूमिका हुन् । त्यसरी कुरा उठाउनेलाई उनी ससुरालीतिरका खाँट्टी एमाले हुन् पनि भनियो ।
सिन्धुलीका एमाले नेता गणेश पहाडीकी भतिजी तथा पत्रकार उज्वलकी बहिनी बसन्तकी पत्नी हुन् । सानुरामचाहिँ विद्यार्थीकालमा अखिलका ‘राम्रै’ नेता र केपी ओली पहिलोचोटि प्रधानमन्त्री हुँदा पिएसओ पनि थिए । रविलाई ‘ओली बा’ र उनका मान्छे त्यसै पनि मन पर्ने भएपछि यस्तो मन्त्र फुकिएको बताइन्छ । यद्यपि, यी दुबै एसएसपी व्यवसायिक दक्षतामा अहिलेसम्म प्रश्न नउठेका अफिसरभित्र पर्छन् । यिनै पात्रलाई अगाडि सारेर कसै–कसैले ‘ठुल्ठूला माछा समातेर हजुरको कार्यकाललाई सफल पार्छु’ भनी रविलाई फुर्काएको बताइन्छ ।
यी दुई एसएसपीको सरुवाबारे प्रधानमन्त्री निवास बालुवाटारसम्म चर्चा चलेको छ । ‘आइजिपी नभएको बेला, कुनै कारण नभई अहिल्यै किन गर्नुपर्यो’ भनेर प्रधानमन्त्रीले आनाकानी गर्नुभएको थियो । तर, रवि दुई एसएसपी पनि फेर्न पाइनँ भने सत्ता समीकरणबाटै बाहिरिन्छु भन्दै उफ्रिन पुगे । ‘पूरै केटाकेटी पाराको मान्छे रहेछ’ बालुवाटारमा यस्तो पनि चर्चा छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू