पर्यटक नपाउँदा रोल्पालाई पिरलो
शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था कहालीलाग्दो भए पनि रोल्पाका तीनै थरी सरकारको चासो पर्यटनमा देखिएको छ । तर, पर्यटनको विकासका लागि न कुनै अध्ययन अनुसन्धान भएको छ न त स्पष्ट दृष्टिकोण नै !
बिना कुनै योजना, नीति तथा सम्भाव्यता अध्ययनसमेत नगरी लहडमा शुरु गरिएको पर्यटन विकास भ्युटावर, गेट र पार्कका टालटुले काममा सीमित छ । पर्यटन पूर्वाधार निर्माण गर्ने भन्दै बितेका करिब १७ वर्षमा रोल्पा जिल्लामा अर्ब बजेट खर्च भइसकेको छ । यति ठूलो बजेट खर्च हुँदासम्म पनि जिल्लामा पर्यटनको भरपर्दो आधार भने अझै तयार भइसकेको छैन । पर्यटकलाई जिल्लामा आकर्षण गर्न र केही समय टिकाइराख्न सक्ने कुनै पर्यटकीय क्षेत्र बनेको छैन । उच्च पहाडी भूभागमा पर्ने रोल्पामा अग्ला–अग्ला डाँडा छन् । रोल्पाको जलजला क्षेत्र समुद्र सतहदेखि ३६३९ मिटर उचाइमा छ । तर, प्राकृतिक रूपमै भ्युटावरजस्ता यी रोल्पाली डाँडामा सिमेन्ट र क्रंक्रिटको थुप्रो लगाएर भ्युटावर बनेका छन् । प्राकृतिक सुन्दरता बिथोल्ने पर्यावरण बिगार्ने यी भ्युटावर बनाउनुको उद्देश्य अर्थपूर्ण देखिँदैन ।
जिल्लाको अविकासलाई जिस्क्याउँदै २०५५ मिटर उचाइ रहेको रोल्पा नगरपालिका– ३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्युटावर बनेको छ । रोल्पा नगरपालिकाले बनाएको ६ करोड बढीको लागतको १० तले टावर २ वर्ष पूरा भइसक्दासमेत पर्यटकको खासै आकर्षण देखिँदैन । यसैगरी, थवाङ गाउँपालिकाले जलजलामा २५ लाखमा भ्युटावर निर्माण गरेको छ । त्रिवेणी गाउँपालिकाको टिलामा पनि प्रदेश सरकारले २५ लाख लागतमा भ्युटावर निर्माण गर्ने भनेको थियो । होलेरी एकीकृत पर्यटन विकासअन्तर्गत गढीलेखमा समेत भ्युटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पामार्फत २० लाख लागतमा सो भ्युटावर निर्माण गरिएको हो ।
हिलस्टेसनको रूपमा पर्यटकीय विकास हुनुपर्ने स्थल छन् । एक अर्का जिल्लालाई जोडेर टुर र प्याकेज बन्न सकेका छैनन् । सोअनुसार सम्पदाको संरक्षणसमेत भएका छैनन् । संस्कृतिको धनी यस जिल्लामा सञ्चालनमा आएका होम स्टे पनि बन्द हुने अवस्थामा छन् । रोल्पा नगरपालिका–४ मा रहेको गुरुङ होम स्टेका लागि गुरुङ गाउँमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । तीन वटा आधुनिक भवन, मञ्च, पिकनिक पार्कसमेत रहेको सो आयोजनाका भवन डिभिजन कार्यालय दाङले निर्माण गरेको हो । योजनाका लागि बाहेक २ करोड ८९ लाख खर्च भएको गुरुङ गाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिजंग गुरुङले जानकारी दिए । दुई वर्ष बढी समय लगाएर निर्माण सम्पन्न गरिएको सो संरचनाले होमस्टे प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ । कोरोना अघि आन्तरिक पर्यटक गुरुङमा रहेको सो होमस्टेमा फाट्टफुट्ट गए पनि कोरोनापछि भने होमस्टे बन्दजस्तै छ । होमस्टे सञ्चालन नभएपछि स्थानीयको आम्दानीको आधार बन्द हुनुका साथै राज्यको ठूलो लगानी पनि प्रयोजनविहीन हुन पुगेको छ ।
होमस्टे सञ्चालनमा आउन नसक्दा सञ्चालकहरू समस्यामा परेका छन्् । होमस्टे सञ्चालन नभएपछि आर्थिक जोहो गर्नसमेत सञ्चालकलाई समस्या भएको छ । १० वर्षअघि ५ घरबाट शुरु भएको होमस्टे १५ घरमा पुगेका बेला बन्द हुँदा सञ्चालकहरू मर्कामा परेका छन् भने कतिपयले व्यवसाय नै परिवर्तन गरेका छन् । होमस्टे बन्द भएका कारण खासै गतिविधि नभएको गुरुङ सामुदायिक होमस्टेका अध्यक्ष हरिजंग गुरुङले बताए । होमस्टे सञ्चालन भएपछि गाउँमै रोजगारी सिर्जना भएको थियो, अग्र्यानिक खानाको माग बढेपछि स्थानीय उत्पादनमा लागेकाहरू पनि अहिले अन्योलमा परेका छन् ।
गुरुङ गाउँजस्तै रोल्पाको जेल्वाङ गेमी होमस्टे र थवाङ थवाङ्गी सामुदायिक होमस्टे गरी तीन वटा होमस्टे नेपाल सरकारमा आधिकारिक दर्ता भएका छन् । यसका अलावा रोल्पा नगरपालिका–१० पेवामा कृषि होम स्टे, रोल्पा नगरपालिका–७ माडीचौर र वडा नंं २ रेउघामा पनि कृषि होमस्टे सञ्चालन गरिएको पर्यटन अभियान्ता बालकुमार पुनले जानकारी दिए ।
रोल्पाको बहुचर्तित पर्यटकीय क्षेत्र होलेरीलाई हिल स्टेसन बनाउन पहल गरिए पनि मूर्तरूप लिएको छैन । पर्यटक तान्न रुन्टीगढी गाउँपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो । यसका लागि गाउँपालिकाले ४८ लाखको लागतमा हिल स्टेसनका केही संरचनासमेत निर्माण गरिसकेको छ ।रुन्टीगढी गाउँपालिका ६ सैवाङ खुटीमा रहेको समथर भूभागमा हिल स्टेसनको संरचना बनाउन थालिएको हो । सो स्थानबाट उत्तरको सेताम्य हिमालदेखि दक्षिणको समथर भूभागका साथै भारतको सीमावर्ती क्षेत्रसमेत एकै पटक अवलोकन गर्न सकिन्छ । बसेकै स्थानबाट उत्तर फर्के सेताम्य हिमाल र दक्षिण फर्के एसियाकै ठूलो उपत्यका दाङ र भारतको सीमावर्ती क्षेत्रसमेत भ्युटावरबिनै अवलोकन गर्न सकिन्छ ।
बस यात्रामार्फत होलेरी दाङको घोराहीबाट ३० किलोमिटर दूरीमा छ । बढीमा डेढ घण्टाको समय लाग्ने सो स्थान पुग्न घोराहीबाट बाह्रकुने ताल र कोइलाखानी हुँदै शहीद मार्गबाट यात्रा गर्ने सुविधा छ । दाङको धुलो, धुँवा, ध्वनि र उकुसमुकुस गर्मीले आक्रान्त मानिसहरू होलेरीको शान्त, शीतल र रमणीय वातावरणमा केही दिन रम्न र घुम्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् । वर्षातको मौसममा होलेरीलाई छपक्क छोप्ने कुहिरो तथा सिमसिम पर्ने पानीले स्वर्गको अनुभूति दिन्छ ।
चालु वर्ष सो स्थानमा होमस्टे निर्माण गर्ने गरी बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जनक पुनको भनाइ छ । ‘होमस्टेसहितको संरचना तयार गरी सो स्थानको समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई दिन्छाैँ’, अध्यक्ष पुनले भने । हिल स्टेसन बन्दै गरेको होलेरीलाई अन्य पर्यटकीय क्षेत्रसँग पनि जोड्ने गरी योजना बनाइरहेको अध्यक्ष पुनले बताए । रुन्टीगढी गाउँपालिका समृद्धिको पहिलो आधार कृषि र पर्यटन रहेको उनको भनाइ छ । होलेरीलाई केन्द्रमा राखेर त्यस वरपरका पर्यटकीय क्षेत्रलाई समेत जोडेर हिल स्टेसन बनाउने गरी काम थालनी गरेको अध्यक्ष पुनले बताए ।
होलेरीजस्तै रोल्पा र रुकुम पूर्वका अधिकांश डाँडाकाँडा हिल स्टेसन बन्न सक्छन् । तराई, पहाड र हिमालको विविधता भएको लुम्बिनी प्रदेशको तराई क्षेत्रमा बस्ने प्रदेशवासीलाई पहाडी हिल स्टेसन आकर्षणको केन्द्र बन्न सक्छन् । जसकारण रोल्पा–रुकुम पूर्वको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताइन्छ । विवाङदह, जाँगा दह र पारिवाङ दह, ऐतिहासिक महत्वको क्षेत्र थवाड गजुलकोट, खुंग्री दरवार, प्युठानको स्वर्गद्वारी, रोल्पाको रुन्टी, रोल्पाको जलजला सुनछहरी झरना, शिव गुफा आदि महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन् ।
जिल्लामा करिब ४५ प्रतिशत मगर बस्ती छ । मगर संस्कृतिको बाहुल्यता भएको यस जिल्लामा यी मगर वेशभूषा, रहनसहन र संस्कृति पनि पर्यटकलाई आकर्षण गर्न सक्छन् । संस्कृति प्रवद्र्धन गर्दै होमस्टेको विकास गर्न सकिन्छ । जिल्लामा पर्यटकीय सम्भावनाको कुनै अध्ययनबिना, आवश्यक नीति तथा कार्यविधि पनि नबनाई हचुवाका भरमा भन्दै ठूलो रकम खेर फालिएको पूर्वसिँचाइ राज्यमन्त्री अमरसिंह पुनको आरोप छ । ‘राजनीतिक दल, पर्यटनविद् र सरोकारवालाको सहभागिताबिना कार्यकर्ता पोस्न पर्यटनका नाममा जथाभावी बजेट खर्च गरिएको छ, ’ पूर्वराज्यमन्त्री पुन भन्छन् । जिल्लामा पर्यटनका लागि रकम विनियोजन भए पनि प्रतिफल भने निकै थोरै आएको स्थानीयको भनाइ छ । जिल्लामा सस्तो लोकप्रियताका कामबाहेक पर्यटन विकासका अरु काम हुनै सकेका छैनन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू