पुलिसलाई आइपर्छ ताल तालका व्यथा

पुलिसलाई आइपर्छ ताल तालका व्यथा

मकवानपुरको विकट गाउँमा रहेको कान्द्राङ प्रहरी चौकीमा एकपछि अर्काे लफडा सधैँ आइरहन्छ । राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको यो चौकीका ७ जना प्रहरी असुरक्षित छन् । असुरक्षित यस अर्थमा छन् कि, उनीहरू नै आफैँलाई असुरक्षा निम्त्याउने काम गर्छन् । 

एकपछि अर्काे काण्ड भइरहने यो चौकीमा दुई साताअगाडि त्यस्तै घटना भयो । बस्ती छेवैको जंगलमा चार जना नचिनेका मान्छेहरू देखिए । उनीहरूले जंगलमै स–सानो टहरोजस्तै बनाएर बास बसेको बाख्रा गोठालाले देखेपछि एक कान दुई कान हुँदै मैदान भयो । प्रहरीलाई जानकारी नै नदिई गाउँलेले चार जना अपरिचित व्यक्तिहरूलाई समाते । बागमती गाउँपालिकातिर घर भएका चार जनाको साथबाट दाउ (खुँडाजस्तो हतियार) समेत नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर भयो । 

कान्द्राङ प्रहरीबाट असइ हरेन्द्र चौधरी र अर्का हवल्दार मोटरसाइकलमा घटनास्थल पुगे । ४ अभियुक्त, एउटा हत्कडी अनि दुई जना प्रहरी । दुई प्रहरीमध्ये एक जनाले त मोटरसाइकल चलाउनै प¥यो । दुई जनालाई हत्कडी लगाइयो र अर्का दुईलाई डोरीले बाँधियो । असई चौधरीले मोटरसाइकल चलाए अनि हवल्दारले डोरीले हात बाँधेका दुई जना र हत्कडी लगाएका २ जनालाई डो¥याए । कान्द्राङ चौकी ल्याउने क्रममा बीचबाटोमै डोरीले बाँधेकाहरू भागे वा भगाइए । 

त्यसपछि शुरु भयो प्रहरीको दशा । गाउँलेले चौकी घेरे । पैसा खाएर किन भगाएको ? भन्दै प्रहरीमाथि कुटपिट भयो । गाउँ अशान्त बन्यो । यो घटनालाई बाहिर ल्याइएन । पछि प्रहरीले २ जनालाई जंगलबाट दाउसहित पक्रेको र फरार २ जनाको खोजी भइरहेको भन्ने ब्यहोराको विज्ञप्ति आयो । र, असई हरेन्द्र चौधरीसहित ७ जना प्रहरी कान्द्राङबाट सरुवा गरेर अहिले असई बृजकिशोर साहको नेतृत्वमा ७ जना नयाँ अनुहारका प्रहरी कान्द्राङ पुगेको छ । 

प्रत्यक्षदर्शी र स्थानीय बासिन्दाका अनुसार कान्द्राङमा यस्ता घटना भइरहन्छन् । जस्तो कि, अघिल्लो वर्ष गाउँमा लागुऔषध गाँजा पक्रन ४ जना प्रहरी स्थानीयको घरमा पुगे । गाँजा बरामद भयो । गाँजाधनी पनि समातिए । जब ४ जना प्रहरीले २ जना गाँजाधनी समातेर कान्द्राङ प्रहरी चौकी लगे, त्यसपछि मात्रै थाहा भयो कि ४ जना प्रहरीमध्ये २ जनाचाहिँ छिमेकी गाउँकै केटा रहेछन् ।

प्रहरीको बर्दी लगाएर गाँजा बरामद गर्ने र बीचबाटोमै गाँजा भागबण्डा गराउने प्रहरी र प्रहरीको बर्दी लगाएका केटाहरूको प्रपञ्च रहेछ । यो कुरा थाहा पाएर गाउँलेहरू फेरि प्रहरी चौकीमाथि धावा बोलेका थिए । प्रहरीमाथि कुटपिट भएको थियो । धन्न ती प्रहरीको बर्दी लगाएका गाउँले केटालाई भगाइयो । 

यी र यस्ता घटना गाँजा खेती हुने बस्तीमा भइरहन्छ । कैलाश गाउँपालिकाबाट गाँजा बरामद गरेर फर्कने क्रममा जंगलमा बाटो छेकेर कुटपिट गरी प्रहरीको हात भाँचेर पठाइएका घटना पनि छन् । प्रहरीले एकल रूपमा कारबाही गर्दा स्थानीय प्रतिकार गर्न सक्दैनन् । जब सुराकी र वा सहयोगीको नाउँमा लुटेराहरूलाई प्रयोग गरेर प्रहरीले कारबाही थाल्छ गाउँलेले त्यसको प्रतिकार गरेका घटना छन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा कान्द्राङ प्रहरी चौकीका असई बृजकिशोर साहलाई भनेका छन्, ‘अवैधानिक भनिएको गाँजा खेती गर्नु गाउँलेको कमजोरी हो तर त्यही कमजोरीको फाइदा उठाएर दुःख दिने वा स्वार्थपूर्ति गर्ने बाटोमा प्रहरीहरू नलाग्नू ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू