नेपालमै लुकिन् कि विदेश पुगिन् अमला ?

नेपालमै लुकिन् कि विदेश पुगिन् अमला ?
सुन्नुहोस्

नेपालमा अपराध गरेर विदेशतिर भाग्ने क्रम बढ्दो छ । उता जिबी राईका नाममा ‘डिफ्युजन नोटिस’ जारी भएको छ । उनी मलेसियामा लुकेर बसेको सूचनाका आधारमा खोजतलासका लागि प्रहरीको इन्टरपोल शाखाले सम्बन्धित मुलुकलाई पत्राचार पनि गरिसकेको छ । यद्यपि, उनी फेला परेका छैनन् । 

भागेर बेलायत पुगेका सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष भरत महर्जनविरुद्ध पनि ‘रेड नोटिस’ जारी भएको छ । उनी पनि पक्राउ परेका छैनन् । 

त्यसरी नै सुन तस्करीअन्तर्गत प्रहरीको ‘वान्टेड’ सूचीमा रहेकी अमला रोका अर्को जिबी र भरत बन्ने देखिएको छ । आफूलाई पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको बहिनीका रूपमा चिनाउने रोल्पाको थवाङ गाउँपालिका–२ की उनीविरुद्ध सन् २०२४ जनवरी १९ मै ‘डिफ्युजन नोटिस’ जारी भएको हो । इन्टरपोलका डिएसपी छिरिङकिप्पा लामाले उनलाई ‘ब्ल्याकलिस्ट’ मा राख्न त्यतिबेलै सिआइबीलाई पत्राचारसमेत गरेका थिए ।

सुन तस्करीको प्रमुख नाइके दावा छिरिङकी श्रीमती उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले सन् २०२३ सेप्टेम्बर ६ मा पक्राउ पुर्जी जारी गरेको थियो । अवैध सुन चोरी पैठारी र संगठित अपराध गरेको कसूरमा पुर्जी जारी भएदेखि नै उनी फरार छिन् । यता, दावा भने जेल चलान भएका छन्् । नागरिकता नम्बर ४४१०४ र पासपोर्ट नम्बर ०७३४२४३६ भएकी उनी विदेश भागेको पनि देखिँदैन । साढे ६० किलोग्राम सुन तस्करीमा फरार चर्चित अभियुक्त उनी कता होलिन् ?

कमसेकम सात वर्ष ६ महिना कैद सजायँँ हुन सक्ने उनी ‘ब्ल्याकलिस्ट’ मा भएकोले छिमेकी मुलुकतिर छिर्ने सम्भावना पनि कम छ । महिनौँ बित्दासमेत संगीन अपराधका यस्ता अपराधी पक्राउ गर्न नसकेपछि सर्वसाधारणले गृहमन्त्री रवि लामिछाने र उनीमातहत प्रहरीको क्षमतामाथि प्रश्न उठाउन थालेका छन् । यसअघि सहकारीका बचतकर्ताको रकम अपचलन गरी भारततिर गएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ३५ जिल्लाका ४१ शाखामार्फत बचतकर्ताको १४ सय करोड अपचलन गरेबापत सिआइबीले ०८० असार ११ गते लखनउबाट समातेर ल्याई जेल चलान गरिसकेको छ । 

यता, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले फरार अपराधीहरूको खोजीमा प्रहरी संवेदनशील रहेको बताए । ‘डिफ्युजन नोटिस’ पछि ‘रेड नोटिस’ जारी हुने उल्लेख गर्दै उनले दिनहुँ अपराधी खोज्ने काम भइरहेको जानकारी दिए । 

‘यहाँबाट दैनिक अपराधी खोज्ने काम भइरहेको छ । हामी यसविषयमा निकै संवेदनशील छौं । बाहिरी मुलुक भागेकाको हकमा डिफ्युजन नोटिस् जारी गर्छाैँ, तैपनि पक्राउ परेनन् भने रेड नोटिस जारी हुन्छ । हामीले पहल गरेर मात्र हुँदैन, उताबाट पनि सहयोग पाउनुपर्छ । अपराधी खोज्नलाई निश्चित समय भने हुँदैन’, उनले भने । 

सुपुर्दगी सन्धि भएका मुलुकमा मात्र अपराधी खोज्न सकिने प्रवक्ता बोगटी बताउँछन् । इन्टरपोलमार्फत पत्राचार गर्दैमा सम्बन्धित मुलुकले अपराधी खोज्नै पर्छ भनी कर नहुने उनको जिकिर छ । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा भने अपराधी पक्राउ पर्न सक्ने सम्भावना हुन्छ । बोगटी भन्छन्, ‘आवश्यकताअनुसार इन्टरपोललाई पत्राचार गर्छौं । नोटिस जारी गर्नका लागि म्युचअल लिगल एग्रीमेण्ट (एमएलए) हुनुपर्छ । हामीले पत्राचार गर्दैमा उनीहरूले पक्राउ गर्नुपर्छ भन्ने छैन । त्यसैले विदेश भागेकालाई पक्राउ गर्न समस्या हुन्छ । तर, उनीहरूले कुनै मुभमेण्ट गरे भनेचाहिँ पक्राउ परिहाल्छन् । जस्तै कि एक ठाउँबाट अर्को ठाउँमा जाँदा एअरपोर्टमा समातिन्छन् ।’ 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू