पैसा हुनेको बिहे पनि पटक-पटक !

पैसा हुनेको बिहे पनि पटक-पटक !
सुन्नुहोस्

'पैसा भएपछि एउटै बिहे जति पटक गरे पनि हुने !', यो भनाई हो भारतीय चलचित्र समीक्षक गोपाल कृष्ण बर्माको । एशियाकै सर्वाधिक धनी मुकेश अम्बानीका छोरा अनन्तको दोश्रो प्रि-वेडिङ समारोहलाई इंगित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

अनन्तले आगामी जुलाई १२ मा विवाह गर्दैछन्,राधिका मर्चेन्टसँग । तर बिहेअघि अम्बानी परिवारले लगातार प्रि-वेडिङ समारोह आयोजना गरिरहेको छ। 

पहिलो प्रि-वेडिङ समारोह गत मार्च १ देखि ३ गतेसम्म चलेको थियो । जामनगर शहरलाई झकिझकाउ बनाएर विश्वका प्रतिष्ठित व्यक्तिहरुलाई समारोहमा सामेल गराइएको थियो । माइक्रोसफ्टका संस्थापक बिल गेट्स,फेसबुकका संस्थापक मार्क जकुरबर्ग,विश्वकै सर्वाधिक चर्चित रक गायिका रिहानालगायत एक हजारभन्दा बढी सेलिब्रेटी त्यहाँ पुगेका थिए । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार अब फेरि अम्बानी परिवारले आगामी मे २८ देखि ३० सम्म दोश्रो प्रि-वेडिङ्ग गर्दैछ। पानी जहाजभित्र आयोजना गर्न लागिएको विवाह समारोहमा ८ सय  पाहुनालाई निम्ता दिइएको छ । केही दिनमा पाहुनाहरुको नाम सार्वजनिक गर्ने अम्बानी परिवारको तयारी छ । 

जनाइएअनुसार पाहुनालाई सेवा दिन जहाजमा करिब ६०० क्रू खटाइनेछ । जहाजले इटालीबाट फ्रान्ससम्म करिब ४३ सय ८० किलोमिटर यात्रा गर्नेछ । तीन दिनको उक्त यात्राका क्रममा पहुनाहरु जहाजभित्रै विभिन्न पार्टी र सांस्कृतिक कार्यक्रममा रमाउनेछन् । 

अम्बानी परिवारले पहिलो प्रि-वेडिङमा १२ सय करोड खर्च गरेको थियो भने यस पटक साढे १२ सय करोड बराबर खर्च गर्न लागेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू