चौधरीको धुलाेले जनताकाे ज्यान जाेखिम
विनोद चौधरीको सिमेन्ट उद्योगले पाल्पाका स्थानीयमाथि ज्यादती गरिरहेको पाइएको छ । उद्योग सञ्चालन गर्ने नाममा सिजी सिमेन्ट इण्डष्ट्रिजले मानव स्वास्थ्यमाथि खेलबाड गरेको छ । उद्योगका कारण दुई वटा पालिकाका स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।
धुलोका कारण गाउँ नै छोड्नुपर्ने अवस्था सिर्जना भएको उनीहरू दुखेसो पोख्छन् । स्थानीयले व्यवस्थित रूपमा उद्योग सञ्चालनका निम्ति पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराइसकेका छन् । यता, वातावरण प्रदूषण पनि ह्वात्तै बढेको छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२, दफा ११ को उपदफा (क) मा खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने उल्लेख छ । भनिएको छ, ‘खनिज कार्य गर्ने व्यक्तिले वातावरणमा उल्लेखीय प्रतिकूल असर नपर्ने गरी गर्नुपर्नेछ । साथै, त्यस्तो व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा तोकिएकोबमोजिम बचाउका उपाय अपनाउनुपर्छ ।’
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा सिमेन्ट फ्याक्ट्री सञ्चालित छ । वडा नम्बर २, सर्देवामा फ्याक्ट्री र वडा नम्बर १, सिद्धेश्वरमा चुनढुंगा खानी छ । यता, रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा पनि चुनढुंगा खानी छ । रैनादेवीस्थित चुनढुंगा उत्खनन अनुमति पत्र नम्बर १२७–०७८–७९ र रिब्दिकोटको अनुमतिपत्र १२८–०७८–७९ हो । उद्योगले दुवै पालिकाका स्थानीयलाई सकसमा पारेको छ । स्थानीयका अनुसार उद्योगबाट निस्किएको फोहोर जथाभावी फाल्ने गरिएको छ । धुलोको असर अन्नबालीमा पनि देखापरेको स्थानीयले बताए । रोपेका तरकारी धुलोले खानै नहुने स्थानीयबासी दुःखेसो पोख्छन् । गाईवस्तुले समेत सो तरकारी नखाने उनीहरूको भनाइ छ ।
दिनभर टिपर हुइँकिँदा ध्वनि प्रदूषण बढेको छ । तीव्र गतिमा टिपर गुड्ने हुँदा सडकबाट आउजाउ गर्न स्थानीय त्रसित हुने गरेका छन् । टिपरले ठक्कर दिने हो कि भन्ने भयले उनीहरूलाई सताउने गरेको छ । सडक बिग्रिने–भत्किने समस्याबाट ग्रसित छ । दुवै पालिकाको सडक जीर्ण छ । सडकभर खाल्डाखुल्डी हुँदा गाडीको चक्का अड्किने, बर्खामा टनाटन पानी भरिने गरेको छ । स्थानीयले बताएअनुसार सडक बर्खामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुने गरेको छ । वातावरण प्रदूषण गरेको, फोहोर र धुँवाधुलो पारेको भन्दै स्थानीयले केही महिनाअघि उक्त सिमेन्ट फ्याक्ट्रीमा तालाबन्दी गरेका थिए । रैनादेवीको वडा नम्बर २ का वडाध्यक्ष दानबहादुर पौडेलले सिमेन्ट उद्योगले स्थानीयलाई धेरै सास्ती भएको बताए । सो विषयमा वडा कार्यालयमा दिनहुँजसो गुनासो आउने उनको भनाइ छ ।
यता, रिब्दिकोटका स्थानीय पनि सोही अवस्थाबाट गुज्रिरहेका छन् । उनीहरू उद्योग बन्द गर्न सरोकारवाला निकायसँग माग गरिरहेका छन्् । जोगिथुम, करेचौंरलगायत स्थानका स्थानीयलाई उद्योगले प्रत्यक्ष असर पारेको छ । वडा नम्बर १ मा सञ्चालित उद्योगको चुनढुंगा खानीबाट रातदिन सामान ओसारपसार हुन्छ । जसले गर्दा त्यहाँका बासिन्दालाई न दिनमा चैन छ न रातमा निद्रा । वडा नम्बर १, २, ३, ४ को बाटो हुँदै दैनिक एक सय बढी टिपर गुड्ने गरेको छ ।
त्यत्रो टिपरको नियमित आउजाउले सडक ‘धराप’ जस्तै बनेको छ । सडक कतिबेला भासिने हो ? भन्ने चिन्ताले जनप्रतिनिधिलाई नै सताउन थालेको छ । बर्खाको समय सडक ‘स्विमिङ पुल’ बन्ने गरेको छ । तीव्र गतिमा हुँइकिने टिपरले मान्छे धुलैधुलो हुने रिब्दिकोटको उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । दिनभरि छारो उडिरहने उनको जिकिर छ । उनका अनुसार उद्योगले सडकमा दैनिक एक ट्याङ्कर पानी हाल्ने गरेको छ ।
उक्त सडकका लागि एक ट्याङ्कर पानी ‘हात्तीको मुखमा जिरा’ झैं भएको उनको जिकिर छ । उनले भनिन्, ‘दैनिक एक सय बढी टिपर हाम्रो रिब्दिकोटको बाटो गुड्छ । यहाँको बाटो जीर्ण अवस्थामा छ । हामीले बाटो पिच गरिदिनु भनेर बारम्बार निर्देशन दिइसकेका छौँ । तर, मान्नु नै हुँदैन । यहाँका स्थानीय गुनासो गरेको गर्यै हुनुहुन्छ । सिमेन्ट उद्योगले हामीलाई धेरै समस्यामा पारेको छ । दिनभर छारो उड्छ । मान्छे सबै फुस्रै हुन्छन् ।’
उद्योगविरुद्ध उजुरी
सिमेन्ट उद्योगको ज्यादती अति नै भएपछि स्थानीय भानुभक्त शर्माले २०२४ मार्च १२ मा हेलो सरकारसहित सम्बन्धित निकायमा उजुरी दिएका थिए । उक्त उजुरीउपर खानी तथा भूगर्भ विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । अनुगमनका क्रममा चार ब्रेकर, दुई मेसिन प्रयोग गरी उत्खनन तथा ढुवानीका कार्य ठेकेदार पक्षबाट भइरहेको पाइएको । तर, उद्योगले मापदण्ड पालनामा भने लापरवाही गरेको विभागको भनाइ छ । विभागले उत्खनन कार्य गर्दा छेउछाउ रहेको वातावरण तथा आसपासका बस्तीलाई असर नपर्ने गरी गर्न, धुँलो उड्न नदिन नियमित रूपमा पानी छर्किन, कामदारहरूलाई सुरक्षा सामग्री प्रयोग गरेर मात्र काममा लगाउन, कामदारको जीवन बीमाको व्यवस्थापन गर्न, कामदारका लागि ‘पीपीई’ खरिद गरी सो खानीमा प्रयोग भएको फोटोग्राफ पेश गर्न निर्देशन दिएको छ ।
त्यस्तै, खानी क्षेत्रमा कार्यालय, आराम, प्राथमिक उपचार, खानेपानी, धारा, शौचालयको व्यवस्थापन मिलाउन भनिएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू