सेनामा कसै–कसैलाई स्पेशल स्वाद

सेनामा कसै–कसैलाई स्पेशल स्वाद

कोरोना महामारीका कारण देशभरको जनजीवन सुनसान छ । तर, जंगीअड्डाभित्र एउटा घोटाला काण्डले सनसनी मच्चिएको छ ।

तराई (निजगढ) बाट राजधानी जोड्ने फास्टट्रयाकमा भएको घोटाला छानवीनको प्रतिवेदन, अर्थात् कोर्ट अफ इन्क्वायरीले रिपोर्ट बुझाएपछि तरंग फैलिएको हो । ०६४ मा पहिलोचोटि प्रचण्ड प्रधानमन्त्री हुँदाका एडिसी र अघिल्लो हप्तासम्मका एकतारे जर्नेल अरुण पाल युएनको जागिरका क्रममा महिनाको १५ लाख तलब बुझ्ने गरी सुडान जान राजीनामा दिएर बिदा दिनुअघि उनकै प्रतिवेदनले हो, यस्तो तहल्का पिटेको । फास्टट्र्याकमा भएका अनियमितता र त्यसमा दोषीबाट असुलउपर गर्नुपर्ने विवरण शुक्रबार प्रधानसेनापतिले कानुनी रायका लागि लिगल अर्थात् प्राडमा पठाउनुभएको छ ।

दोषीहरूलाई थुनामा राखेर कोर्टमार्शल शुरु गर्ने कि बाहिरै राखेर अनुसन्धान अगाडि बढाउने भन्नेबारे अब दुईतारे जर्नेलको अध्यक्षतामा छानबिन शुरु हुनेछ । त्यसअघि एयरपोर्टस्थित इञ्जिनियरिङ पल्टन कालिप्रसाद गणका महासेनानी मानबहादुर महराले फास्टट्रयाकको साइट भिजिट गरेर इञ्च–इञ्च नापी सबै रिपोर्ट बुझाएका थिए । त्यसैमा टेकेर अरुण पालले थप तीन महिनामा छानबिन सकेका हुन् । त्यसमा दुई सेक्टर कमाण्डर र १० जना साइट इञ्चार्जमध्ये कतिपयबाट ४५ लाखदेखि ६० लाखसम्म असुलउपर गर्नुपर्ने, अनुशासनको कारवाही गर्नुपर्ने राय छ । प्रतिवेदनअनुसार सबैबाट रकम असुलिँदा चार करोड हुन्छ ।

त्यसमध्ये एकजना साइट इञ्चार्जले उन्मुक्ति पाएका छन् । ललितपुरको खोकना साइटको काम शुरु नभएको र त्यहाँ मुआब्जा वितरण नै नभएको कारण मेजर भीमसेनदास श्रेष्ठ हुन्, उन्मुक्ति पाउने । तर, बाँकीको हकमा शून्य सहनशीलता अपनाएर जंगी अड्डा अगाडि बढ्दै छ । साइट इञ्चार्जहरू अभिषेक बस्नेत, रमेश मरासिनी, अजित श्रेष्ठ, पूर्णचन्द्र ढकाल, धर्मराज पौडेल, विनोद श्रेष्ठ, राजेशकुमार देव, जयराम भट्टराई, पुरुषोत्तम कार्कीमध्ये गच्छेअनुसार कसले कति खाए, त्यो असुलउपर गर्नुपर्ने जनाइएको छ । त्यस क्षेत्रमा सेक्टर कमाण्डर थिए, धर्मेन्द्रकुमार झा र भरतलाल श्रेष्ठ । केही समय परियोजना प्रमुख रहेका शरद्लाल श्रेष्ठलाई अनेक छलछाम गरेर दोषी देखाई दुई महिनामै निलम्बन गरिएको थियो ।

तर, अहिले दुईतारे जर्नेलमा बढुवाको निम्ति सिफारिस गरिएको छ । अर्का सेक्टर कमाण्डर धर्मेन्द्रकुमार झाको पनि महासेनानीमा बढुवाका लागि सूचना निस्किएको छ । पहिला उक्त आयोजना प्राविधिकतर्फका दुई तारे जर्नेल योगेन्द्र खाँणले हेर्दै आएका थिए । उनले अनेक जुक्ति लगाएर राम्रै रकम आम्दानी गरे । पछि छाप्रे साइटहरूमा आलिशान बंगला ठड्याए, एसी किनेको नक्कली बिल बनाए । सेनापति राजेन्द्रलाई खुशी पारेर आफू त चोख्खिए । बालकृष्ण खाँण रक्षामन्त्री हुँदा उनको राम्रै चलखेल थियो । शरदलालको निलम्बनपछि कर्णेल विकास पोखरेलले महासेनानी हुँदाहुँदै आयोजना प्रमुख चलाए । जर्नेलले हेरेको परियोजना एउटा कर्णेलको जिम्मा लगाउनु आफैँमा अस्वाभाविक कुरा थियो ।

त्यस्तो जिम्मा पाउने विकास पूर्वस्थपति अर्थात् इञ्जिनियरिङ विभागका प्रमुख शम्भुराम भण्डारीका भाञ्जा हुन् । जंगी अड्डा आसपासमै उनको घर छ । विकासले यसबीच पत्नीका लागि हेटौंडामा दुई प्लट जमिन किनेका छन् ।

टिप्पणीहरू