प्रधानमन्त्री फेरि अनिच्छुक

प्रधानमन्त्री फेरि अनिच्छुक

बिहानसम्म प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आफ्नै करेसामा बोलाइएको स्थायी समितिको बैठकमा उपस्थित नहुने मुडमा हुनुहुन्थ्यो । उक्त कुराको सङ्केत पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक अघि भेटेर प्रधानमन्त्रीलाई ‘यसो उपस्थिति जनाइदिन’ आग्रह गरेपछि उहाँ बैठकमा जानुभयो ।

आफ्नै सरकारी निवासमा भएको र आफैँलाई जोगाउने रणनीतिमा बोलाइएको बैठकमा समेत उपस्थित नहुने बताएबाट प्रधानमन्त्री अझै पनि ‘मेरो गोरुको बाह्रै टक्का’ मा रहनुभएको देखिन्छ । मुश्किलले १५ मिनेट बोलेपछि उहाँ बैठक कक्षबाट बाहिरिनुभएको थियो ।

आजको बैठकमा दुईजना अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदन आवश्यक परिमार्जन सहित पारित भएको छ । बैठकको निर्णयमा अबदेखि दुबैजना अध्यक्षले गर्ने प्रायः सबै महत्वपूर्ण निर्णय सचिवालयसँगको परामर्शमा हुने उल्लेख छ ।

सरकारले गर्ने राजनीतिक नियुक्तिहरूको सम्बन्धमा पनि त्यसअघि सचिवालयमा छलफल गर्नुपर्ने निर्णय भएको छ । १३ जनाले आफ्नो धारणा राखेपछि स्थायी समितिको बैठक सकिएको थियो ।

अब कम्तिमा १० जना मन्त्री जिम्मेवारीबाट बाहिरिने छन् । कार्यसम्पादन भनिए तापनि ‘समाउने र टेक्ने ठाउँ नभएकाहरूलाई’ नै बलिको बोको बनाइने पक्का छ ।

सारमा बैठकमा उठेको असन्तुष्टी भनेको एक व्यक्ति एक जिम्मेवारीको विषयमा रहेको बताइन्छ । लामो समयदेखि पार्टीभित्र उठ्दै आएको विशेषगरी प्रधानमन्त्री ओलीसँग रहेको दुई वटा पदको जिम्मेवारीलाई एउटामा सिमित गर्ने भन्ने विषयमा एउटा पक्ष लपक्क भएपछि तुहिएको छ ।

बैठकमा माधव नेपालले सँधैझैँ विधि र पद्धतिको कुरा उठाउनु भएको थियो । उहाँले दुईजना अध्यक्ष प्राविधिक रूपमा मिल्दैमा समस्या निमिट्यान्न नभएको धारणा राख्नु भयो ।

स्रोतका अनुसार अब छिट्टै मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना बढेको छ । कार्यसम्पादन मापदण्डको आधारमा अब कम्तिमा १० जना मन्त्री जिम्मेवारीबाट बाहिरिने छन् । कार्यसम्पादन भनिए तापनि ‘समाउने र टेक्ने ठाउँ नभएकाहरूलाई’ नै बलिको बोको बनाइने पक्का छ ।

हुनतः अर्को पक्षले दुई वर्ष अवधि पुगेका सबैलाई जिम्मेवारीबाट हटाउनुपर्ने प्रस्ताव ल्याएपनि त्यसले खासै अर्थ नराख्ने बताइएको छ । सरकारबाट हटाउने भन्दा पनि रक्षामन्त्रीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएर सरकारको प्रवक्ता बनाउने सम्भावना पनि छ ।

त्यसैगरी, आज बोलाइएको मन्त्रीपरिषद्को बैठक स्थगित गरिएको छ । आइतबारदेखि अवकाश हुन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पुनः नदोहोर्याउने रणनीतिबमोजिम बैठक स्थगित गरिएको कसै कसैको भनाइ छ ।

टिप्पणीहरू