कस्तो घोषणापत्र लेख्यौ नि कमरेड !

कस्तो घोषणापत्र लेख्यौ नि कमरेड !

अढाई वर्ष अर्थमन्त्री भएका मान्छेले सिंगो पार्टीलाई जनताबीच केही चोटिला प्रश्नको पेटारो छाडेर गएका छन् । यतिबेला सत्तारुढ नेकपाका कार्यकर्ताहरू बाँकी रहेको अढाई वर्षमा ती प्रश्न नरहने गरी प्रधानमन्त्रीले अर्को अर्थमन्त्री नियुक्त गरिदिए हुन्थ्यो भन्दैछन् ।

०७४ को आम निर्वाचनपूर्व संयुक्त वाम गठबन्धनको नाममा घोषणापत्र तयार पार्न एउटा टोली बनेको थियो । वामदेव गौतम संयोजकत्वको उक्त टोलीमा पार्टी अध्यक्ष केपी ओलीले सिफारिस गरेर डा.युवराज खतिवडालाई राखिएको थियो । के–कस्ता बाचासहित चुनावमा जाँदा पार्टी लोकप्रिय हुनसक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै घोषणापत्र लेख्ने गरिन्छ र लेखनसँगै त्यसलाई कार्यान्वयन गर्ने विषयमा सम्भाव्यताको अध्ययन पनि गरिएको हुन्छ । त्यही क्रममा चुनावलगत्तै गठित सरकारबाट कार्यकाल सिध्याएर भर्खरै बाहिरिएका डा.युवराज खतिवडाले लेखेका थिए, बृद्धभत्ता मासिक पाँच हजार पु¥याउने । तर, उनी आफैँ अर्थमन्त्री भएर तीनवटा बजेट भाषण पेश गरे । बृद्धभत्ता बढेन ।

आगामी पाँच वर्षभित्र पेट्रोलियम सवारी साधनलाई क्रमशः विस्थापित गर्दै इलेक्ट्रिकल स्मार्ट सिटी बनाउने अवधारणासहित विद्युतीय सवारी साधन खरिद–बिक्रीलाई प्रोत्साहित गर्ने बुँदा घोषणापत्रमा लेखियो । तर चालु आर्थिक वर्षकै बजेटमा इलेक्ट्रिक तथा हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने व्यवस्था भयो । चुनावी घोषणापत्रलाई प्रोत्साहित गर्ने पार्टीकै सरकार बनेपछि हुण्डाई, किया, महिन्द्रा, एमजी, विवाईडीजस्ता कम्पनीले विद्युतीय तथा हाइब्रिड कारको व्यापार शुरु गरे । तर, यसचोटिको बजेटबाट ती सबै कम्पनी नराम्रोसँग डुबे । जस्तो कि, किया कम्पनीले असारअघि ६०/६५ लाखमा बेचेको इलेक्ट्रिक गाडीको अबको मूल्य भएको छ, एक करोड ३० लाख ।

नेकपाका नेताहरू भन्छन्, आफ्नै घोषणापत्र कार्यान्वयन नगर्ने सरकार र पार्टीविरुद्ध भोलिको चुनावमा कुरा उठ्ने छ– घोषणापत्र कस्तो बनायौ नि कमरेड !

तर, विश्वबैंक, आइएमएफ, एडिबीहरूसँग राम्रो सम्बन्ध भएको नाममा प्रधानमन्त्रीमा डा.खतिवडाप्रति मोह यसरी पलायो कि, मानौँ उनी भए आफू छ, नभए छैन । उनले राजनीतिक तहमा प्रधानमन्त्रीबाहेकका अरु नेता र मन्त्रीहरूसँग सम्बन्ध राख्न सकेनन् । हो, आर्थिक अपचलनको काम गरेनन् । कर कानुन कार्यान्वयन गर्नेजस्ता राम्रा काममा लागे । केही मान्छेले त्यसमा बाधा पनि हाले । यी राम्रा कुराका बाबजुद पनि राजनीतिक सम्बन्ध राख्न सकेनन्, जनताबीच पार्टीकै विश्वसनीयता गुम्ने गरी आफूखुशी चल्दै रहे ।

उनको यस्तै कार्यशैलीका कारण झापा घर भई विभिन्न उच्चस्तरीय जिम्मेवारीमा रहेकाहरूले प्रधानमन्त्रीलाई ठाडै भन्नुपर्ने स्थिति आयो– हामी नाबालकै छँदा यो आन्दोलनमा लाग्यौं, त्यतिबेला यिनी मण्डले भएर मेची क्याम्पसमा अखिलमाथि डण्डा बर्साउँदै थिए । विषय विज्ञता भनेको एक व्यक्तिलाई खुशी पारे सात खत माफ पाइने योग्यता हो ? यिनी नभई तपाईंलाई खाना रुच्दैन ?

टिप्पणीहरू