किम्फको २१ औं संस्करणमा २२ देशका ६० बढी चलचित्र

किम्फको २१ औं संस्करणमा २२ देशका ६० बढी चलचित्र

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण पर्सिदेखि शुरु हुँदै छ । काठमाडौं महानगरपालिकाको सह–आयोजनामा हुन लागेको उक्त महोत्सव राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा सञ्चालन गरिने बताइएको छ । 

‘इकोज अफ चेञ्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनी’ नारा तय गरिएको महानगरले जनाएको छ । महोत्सवमा २२ देशका ६० भन्दाबढी चलचित्र प्रदर्शन हुने जनाइएको छ । 

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रदर्शन हुनेछन् । 

यी चलचित्रले समकालीन नेपालको कथा उजागर गर्ने महानगरले जनाएको छ । महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरबाट सुरु हुनेछ । 

नेपालमा छायाङ्कन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई शिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ । महोत्सव र यसअन्तर्गत प्रदर्शन हुने प्रस्तुतिका बारेमा किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बुले भनिन्, ‘चलचित्र र कार्यक्रमका लाइन–अपबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिनेछ । यस्तै, नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवाद हुनेछ ।’

किम्फ २०२४ को मुख्य आकर्षण ‘एभरेष्ट रिभिजिटेड १९२४–२०२४’ शीर्षकमा एक शताब्दीका चलचित्र र सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरूको पनि प्रदर्शनी हुने जनाइएको छ । 

यसैबीच, नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसरमा भिन्न भाषा र संस्कृतिका दुई देशको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरुको समेत विशेष प्रदर्शन गरिनेछ ।

महोत्सवको निर्णायक मण्डलमा बेलायतका निर्देशक–निर्माण डिना मुफ्ती, नेपालका मानवशास्त्री डा.सुरेश ढकाल, स्विट्जरल्याण्डका चलचित्र सम्पादक रेजिना बत्स्र्की छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय विधाका ३ वटा फिचर आख्यान, ११ वटा फिचर वृत्तचित्र, ७ वटा लघु आख्यान र ७ वटा लघु वृत्तचित्र तथा नेपाल पानोरमा विधाका १३ वटा वृत्तचित्र र १६ वटा आख्यान छन् । अन्य अप्रतियोगी प्रस्तुति पनि रहनेछन् ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानक चलचित्रलाई १५ सय डलर र उत्कृष्ट लघु कथानक प्रस्तुतिलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ ।

नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, दर्शक पुरस्कारको राशी पनि एक लाख रुपैयाँ तोकिएको छ ।
 
महोत्सव नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको हो । किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य छ । 

आईएएमएफमा विश्वका विभिन्न २० देशका २८ संस्था सदस्य छन् । महोत्सवका चलचित्र हेर्न एक सय ५० रुपैयाँको टिकट तोकिएको छ । विद्यार्थीले भने परिचयपत्र देखाएर एक सय रुपैयाँ तिरे पुग्छ ।

टिप्पणीहरू