मन्त्रीहरूको सम्भाव्य हेरफेर
मन्त्रिपरिषद् पुनर्गठनको समाचारले बजारमा निकै ठूलो हल्लिखल्ली मच्चाए पनि बालुवाटारभित्र खासै बतास लागेको छैन ।
प्रधानमन्त्री अझै हप्ता–दश दिन केही गर्ने पक्षमा हुनुहुन्न । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ । पार्टी नेतादेखि राष्ट्रपतिसम्मको दबाब नभइदिएको भए यो काम पनि प्रधानमन्त्री अलिक पछि नै गरौँ भन्ने मनस्थितिमा रहनुभएको स्रोतले जनाएको छ ।
हप्ता–दशदिनपछि दशैंको मेलो शुरु हुन्छ । कात्तिकभरि दशैं, तिहारले समय खाने नै भयो । यदि मन्त्रिपरिषद्को हेरफेर मध्यअसोजभित्र भएन भने मंसिर भेट्ने अवस्था रहन्छ । तर, को–को मन्त्री हटाउने र राख्ने भन्नेबारेमा दुई अध्यक्षबीच छलफल भइरहेको बालुवाटारस्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओली गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेल बहिर्गमनको पक्षमा हुनुुहुन्न । जबकि, अर्का अध्यक्ष प्रचण्डले यी दुईलाई फेर्ने भए आफ्नो विमति नरहने भनिसक्नुभएको छ ।
प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक सन्तुलनलाई मध्यनजर गर्दै यी दुई मन्त्रीलाई सुरक्षित राख्न चाहनुभएको बुझिन्छ । तर, ईश्वरको हकमा सेनाले पटक–पटक मन दुखाएका कारण उहाँको मन्त्रालय फेरिने सम्भावना छ ।
दुई अध्यक्षबीच भएको सहमतिअनुसार हटाउने मन्त्रीहरुको सूची बन्दै छ । ती मन्त्रीहरुलाई उनीहरुको च्यानलमार्फत हटाइने कुरामा तयार रहनु भन्ने खबर गर्न बाँकी छ । हटाइने भनिएका मन्त्री हुन्, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पदमा अर्याल, जगत विश्वकर्मा, बीना मगर र रामवीर मानन्धरसहित तीन राज्यमन्त्री ।
ईश्वरको फेरिने मन्त्रालय टुंगो लागेको छैन । बालुवाटारबाट उहाँलाई अर्थ, परराष्ट्र र गृहतिर आँखा नलगाउन भनिसकिएको छ । अहिले अर्थ र सञ्चार मन्त्री रिक्त छन् । सरकारको प्रवक्ता पनि हुनुपर्ने कारण ईश्वरलाई सञ्चार पठाइने सम्भावना पनि छ । । पर्यटनमा पार्वत गुरुङलाई पठाउने सल्लाह छ ।
अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेल वा परराष्ट्र सम्हालिरहनुभएका प्रदीप ज्ञवालीको नाम आएको छ । यदि वामदेवलाई राष्ट्रिय सभामा लगियो भने पनि मन्त्रालय दिने टुङ्गो छैन ।
टिप्पणीहरू