श्रीमान्, यो देश बनाउने कसले हो ?

श्रीमान्, यो देश बनाउने कसले हो ?

लोकतन्त्र न ठोकतन्त्र हो न झोकतन्त्र । न छाडातन्त्र हो न भाँडतन्त्र तर हेर्दा भाँडतन्त्रजस्तै देखाइएको छ । राज्यका सबै अंगलाई क्षतविक्षत बनाइएको छ । लोकतन्त्रमा पनि भनसुन र पैसाबाहेक केही हुँदैन । पहुँच, पैसा नहुनेले केही गर्नै सक्दैन । निर्वाचन प्राणाली नै खर्चिलो, भड्किलो छ । यो प्रणालीले नै सत्ता र सरकारमा पैसावाल र पहुँचवाललाई मात्रै पुर्‍याउँछ । यही माध्यमबाट गएकाहरूले वर्गीय हिसाबले पनि कसरी गरिबहरूको पक्षमा काम गर्लान् ? 

अर्काेतिर लोकतान्त्रिक गणतन्त्रको आवरण र स्वास्थ्य, शिक्षा, व्यापार, रोजगार आदिको नाममा जताततै वैधानिक, अवैधानिक ठगी, लुट छ । यस्तो हुँदा पनि प्रमुख ठग, लुटेरामाथि कारबाही हुँदैन । राज्यका विभिन्न निकायमा कतै व्यवस्थापन छैन, गर्नै खोजिन्न । सीमित स्वार्थ पूर्ति गर्न प्रणाली मिचिन्छ । प्रणाली तोडेर चोर ढोका र जस्केलाबाट काम गरिन्छ । प्रणाली बसालेर सही कदम चाल्न खोज्नेलाई अवसर दिइन्न । गर्न खोज्नेको खुट्टा तानिन्छ ।

गंगटे शैली छ । खुट्टा समाउने, तान्ने, लडाउने, कसैलाई अगाडि बढ्नै नदिने । निरंकुशतन्त्रमा लेख्न, पढ्न र बोल्न पाइन्थेन । उकुसमुकुस थियो । त्यही उकुसमुकुस अन्त्यका लागि यति धेरै जनसंघर्ष, जनआन्दोलन भएका थिए । यसरी पटक–पटक भएका परिवर्तन र उपलब्धिबाट जनताले केही न केही पाउने आशा, विश्वास लिएका थिए । आमनागरिकका हकमा त्यो आशा, विश्वास हावामा पानीबराबर भयो । 

सरकार बनाउनु र ढलाउनुलाई मात्रै लोकतन्त्रको पौरख ठानियो । यस्तै ठानिँदै छ । लोकतान्त्रिक गणतन्त्रलाई पनि यसरी नै प्रयोग गरेर यसप्रति नै वितृष्णा जगाइँदै छ । राजनीतिक माध्यमबाट के–के न गर्छाैं भनेकाहरूले राम्रो गर्न सकेका छैनन् । राम्रो गर्नतिर ध्यान दिएको पनि देखिँदैन । गर्न खोज्नेलाई गर्न दिएको पाइँदैन । लोकतन्त्रलाई आफ्नै छोराछोरी, नातिनातिना, नातेदार, आफन्तका लागि उपयोग गरे, गरिरहेका छन् । स्थानीयदेखि सिंहदरबारसम्मको सत्ता र सरकारमा यही प्रवृत्ति छ । जो–जो सत्ता र सरकार नजिकका छन् । जो–जसको पहुँच छ ती–ती मात्रैको जय भयो, भइरहेको छ ।

मानौँ कि राज्यका सबै सुख, सुविधा नातापाता, चाकडीवाजहरूकै लागि तयार पारिएका हुन् । यही कारण क्षमता भएर पनि स्वदेशमा अवसर र सम्मान नपाउनेहरूमा वितृष्णा पैदा हुँदै आयो । आइरहेको छ । यही भएर उनीहरू विदेश पलायन हुन थाले । हुँदै छन् । गलत मानसिकता भएकाहरूको हातमा राजनीति, विभिन्न संघसंस्था, संगठनको नेतृत्व भएपछि स्वाभिमानी र क्षमता भएकाहरू आ–आफ्नो क्षेत्रबाट पलायन हुनुको कुनै विकल्प नहुँदो रहेछ । अहिले देश छोडेर विदेशिनु एउटा ह्विम, लहर नै भएको छ । स्वदेशमा राम्रो स्तर र क्षमता भएकाहरू पनि विदेशिएका छन् ।

कलाकार, साहित्यकार, पत्रकार, खेलाडी, वैज्ञानिक नै विदेशिएका छन् । अल्लि क्षमता र पहुँच भएकाहरू उन्नत भनिने अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलियाजस्ता देशमा गएका छन् भने सामान्य स्तरका मानिस हातमुख जोर्नुपर्ने बाध्यताकै कारण खाडी देश भासिएका छन् । अरु त अरु नेता, मन्त्री, कर्मचारी, व्यापारीलेसमेत आफ्ना छोराछोरी, नातिनातिनालाई विदेशै पठाएका छन् । कतिले त विभिन्न देशको पिआर लिएका छन् । आफूले नलिए पनि श्रीमती, छोराछोरीलाई पिआर लिन लगाएका छन् ।

यसरी जो जसरी पनि विदेशिएकै छ । विदेश पलायन हुनु राम्रो त होइन तर पनि मर्नुभन्दा बहुलाउनु निको भन्दै उनीहरू विदेशिनुको एउटा प्रमुख कारण देशको राजनीतिक अभ्यासमा विकृति, विसंगति मौलाउनु नै हो । आत्मसम्मान नहुनु नै हो । विभिन्न क्षेत्रमा क्षमता भएकालाई राज्यले संबोधन गर्न नसक्नु नै हो । जाली, फटाहाहरूलाई श्रम नै नगरे पनि ठगी, लुट, कमिसन, भ्रष्टाचारबाट मस्ती, ऐस, आराम हुनु तर जति परिश्रम, दुःख गरे पनि सोझा सिधा, इमान्दारलाई जिन्दगी चलाउन धौधौ हुनु नै हो । यो धौधौबाट उम्कने कुनै विकल्प र वातावरण नहुनु नै विदेशिनुको कारण हो । 

हुन त हामी नेपाली आ–आफ्नो क्षेत्र, जिम्मेवारी, लक्ष्यमा दत्तचित्त देखिन्नौँ । सिंगो समाज नै त्यत्तिकै अल्मलिएको जस्तो लाग्छ । राष्ट्र र समाजका समस्याबारे एकता छैन हामीमा । आम नेपालीको बानी स–सानो कुरामा भड्किने र पड्किने न हो । गर्न केही पर्दैन । कुरा काटेर दिन फाल्छौँ । सामाजिक सञ्जालमा जथाभावी बोलिदिए भइहाल्छ । योगदान सोगदान भुट्टो चाहिँदैन । जथाभावी बोल्यो, अरूलाई गाली गर्‍यो, वाहवाही कमाउने सपना देख्यो । उद्देश्य नै यत्ति छ । हैट !

सबैको आ-आफ्नो क्षेत्रमा फरक फरक जिम्मेवारी छ नि ! तर हुनुपर्ने ठाउँमा ध्यान छैन, नहुनेतिर छ ।

समाज कति उँधोँ लाग्दै गएको ? आम मानिस यस्तै कुरौटे, गाली शिरोमणिहरूको पछि लाग्छन् । गणतन्त्रमा ल्याइएको विकृतिले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । के आएको दिन पनि, कस्ता–कस्ता मान्छेलाई समाजको सेलिब्रिटी मान्नुपरेको ? विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट चिच्याएर मौलाएकाहरूलाई महान् मान्नुपर्ने विवशता आइलागेको ! हेर्दा हेर्दा कस्ता–कस्ता मानिसलाई नचाहेरै हेर्नुपर्ने ? बुझ्नुपर्ने ? सुन्नुपर्ने ? उनीहरूबारे थाहा पाउनैपर्ने बाध्यता देखिएको ! लेख्नैपर्ने, देख्नैपर्ने झन्झट ! मन्त्री, माननीय, श्रीमान् भन्नुपर्दा आत्मग्लानि ? 

सिंगो समाजै बहकिन थालेजस्तो लाग्छ । को कता, को कता ? काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्या जस्तो । आ–आफ्नै भूमिका बिर्सेका छौँ हामीले । सन्दर्भ एउटा छ, काम एउटा छ, ध्यान अर्कोतिर । सबैको आ–आफ्नो क्षेत्रमा फरक फरक जिम्मेवारी छ नि ! तर हुनुपर्ने ठाउँमा ध्यान छैन, नहुनेतिर छ । गर्नुपर्ने कार्यमा ध्यान छैन । अन्ततिर ध्यान छ । आफ्नो जिम्मेवारी पुरा गरेर परिणाम दिनेतिर मतलवै छैन । बरु आफू रहेको संस्थालाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने र लाभ लिने संकीर्णता बोकेकाहरू छन् प्रशस्तै ।

वाहवाही तिनीहरूकै छ । तिनीहरूले जे जे गरे पनि ठीक, अरुले त्यही काम गर्दा बेठीक । जस्तो कि कर्मचारीको भूमिका नियमानुसार जनतालाई सेवा दिने हो, त्यति भूमिका निभाउन सके पुण्य कमाउन कुनै तीर्थ जानुपर्दैन । तर अधिकांश जनसेवकहरू नै इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न खोज्दैनन् ।

पत्रकारको काम स्वच्छ, स्वस्थ, मर्यादित, सन्तुलित पत्रकारिता गर्ने हो, यति गरे पूजाआजा गर्नै पर्दैन । तर ऊ सही पत्रकारिता गर्दैन, बरु पत्रकारिताको आडमा अनेक गोरख धन्दा गर्छ । राजनीतिक पार्टीको काम सुशासन कायम गर्ने हो । तर दलहरूले राजनीतिलाई सेवा होइन मेवा बनाएका छन् । राजनीतिक शक्ति र संगठन आफ्नै दुनो सोझ्याउनका लागि हो भन्ने भाष्य निर्माण गरेका छन् । कानुन, चिकित्सा, व्यापारलगायत राज्यका अन्य क्षेत्रमा पनि यस्तै प्रवृत्ति छ । ठग्ने ।

गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काममा बिना उपलब्धि ध्यान, शक्ति खर्चने । जताततै यस्तै यस्तै देखेपछि मनमा प्रश्न उठ्छ, आखिर देश बनाउने कसले त ? के राजनीतिक पार्टीका शीर्ष नेता, सांसद्, मन्त्री, आपसमा भेट्दा, चिया–नास्ता गर्दा देश बनाउने विषयमा छलफल गर्छन् त ? चिन्तित हुन्छन् त ? त्यसैले हामी नै आफूसम्बद्ध संस्थाको हितमा काम गर्न प्रकृतिजत्तिकै इमान्दार, निष्पक्ष छौँ त ? सबैले आ–आफ्नो ठाउँबाट सही भूमिका निभाइदिए देश बन्थ्यो कि ? फेरि पनि उही प्रश्न उब्जन्छ, नत्र देश बनाउने कसले त ? समृद्धि फलाउने कसले त ? किन सधैँ यस्तै हुन्छ, तैँ रानी मै रानी, कसले भर्ने गाग्राको पानी ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू