घण्टी पार्टीभित्र यतिबेला जे पाक्दैछ

घण्टी पार्टीभित्र यतिबेला जे पाक्दैछ

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का क्रियाकलापले यो दल विस्तारै एमाले अध्यक्ष केपी शर्मा ओलीको खल्तीमा खुम्चँदै गएको चर्चा शुरु भएको छ । स्रोतका अनुसार सहकारी प्रकरणले पार्टीको छवि धुमिल भए पनि यसबारे औपचारिक रूपमा पार्टीभित्र छलफल गरी एउटा निश्कर्षमा पुग्न अध्यक्ष ओलीले दिएका छैनन् । ओलीले काँध थापेकै कारण रास्वपाको केन्द्रीय समिति र २१ जना सांसद रहेको संसदीय समितिमा समेत अहिलेसम्म यस प्रकरणले कुनै ठाउँ पाएको छैन । 

इलामको उपनिर्वाचनमा जमानतसमेत नजोगिएपछि महामन्त्री डा.मुकुल ढकाल भने पार्टीको अवस्था बुझ्न देश दौडाहामा निक्लेका छन् । केन्द्रीय समितिको बैठक बैशाख २९ गतेलाई तोकिएको भए पनि सारिएको छ । केन्द्रीय सचिवालय र कार्यालयको खर्च बेहिसाव छ । २१ जना सांसदमध्ये एका दुईबाहेक कसैले पनि लामिछानेका अघि धक फुकाएर बोल्ने हिम्मत जुटाउन सकेको छैन । 

रास्वपामा कांग्रेस, एमालेलगायत वामपन्थी पृष्ठभूमिबाट आएका सांसदको संख्या उल्लेख्य छ । सो दलको केन्द्रीय, प्रदेश, जिल्ला र संसदीय समितिको संरचना हेर्दा अन्य दलमा स्थान नपाएकाहरुले मज्जैसँग ठाउँ पाएको देखिन्छ । अहिलेका सांसदमध्ये एक दुई जना अपवादलाई छोडेर मिसन ८४ अर्थात् अर्को पटक सांसद हुन्छु भन्ने भर र विश्वास कसैमा देखिँदैन । र, तिनमा  लामिछानेविरुद्ध यो वा त्यो गर्न सक्ने ल्याकत पनि देखिन्न । कांग्रेस पृष्ठभूमि भएका विराजभक्त श्रेष्ठ र शिशिर खनाल, वामपन्थी विचारका चितवनका हरि ढकाल, काठमाडौं २ बाट निर्वाचित सोविता गौतम पनि सन्तुष्ट छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नै सोवितालाई मन्त्री बनाउनुपर्छ भन्ने प्रस्ताव लामिछानेसमक्ष राख्दा नटेरेको बताइन्छ । प्रधानमन्त्रीको भाञ्जासँग वैवाहिक सम्बन्ध हुन लागेका कारण गौतमलाई मन्त्री बनाउनुपर्छ भन्ने प्रस्ताव राखिएको भनी लामिछानेले पछि मात्रै थाहा पाएका थिए । एकातिर रास्वपामा अन्य दल छोडेर आउने क्रम रोकिएको अवस्था छ भने अर्कोतर्फ रमेश खरेल जस्ता चर्चित व्यक्तिले छोड्ने क्रम पनि शुरु भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले संसद विघटन गरेको प्रकरणलाई जस्टिफाइ गर्नको लागि ‘देख्यौ मैले भनेको थिएँ नि यो संसदबाट पार लाग्दैन, विकास निर्माणको काम केही पनि हुन दिन्न, यस्तोलाई राख्नु हुन्न’ भन्दै मध्यावधि निर्वाचनमा जाने वातावरणका लागि रविलाई ग्रुमिङ गरिरहेको दावी गरिएको छ । तर रास्वपाकै केही नेताले भने अहिलेको अवस्था रहुञ्जेलसम्म मध्यावधितर्फ पार्टी नलाग्ने, बहकाउमा नपर्ने दाबी गरेका छन् । मध्यावधि हुँदा कुनै एक दलले बहुमत पुर्‍याउला भन्ने अवस्था छैन । समीकरणमा फेरबदल हुने मात्रै हो । त्यसैले रास्वपाको अहिलेसम्मको धारणा मध्यावधि निर्वाचनको विपक्षमा रहेको उनैले बताए । मध्यावधिले व्यक्तिलाई फाइदा पुगे पनि देश, जनता र संसदीय व्यवस्थालाई भने हानी नै गर्ने निश्कर्ष ती नेताको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू