छायाँ अर्थमन्त्री !
सुनिन्छ, भूतपूर्व अर्थमन्त्री डा. युवराज खतिवडा अब चाँडै छायाँ अर्थमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । पूर्वअर्थमन्त्री युवराज खतिवडा छायाँ अर्थमन्त्रीमा नियुक्त हुने हल्ला चल्नेबित्तिकै राजनीतिमा नयाँ तरंग आएको छ ।
तरंग किनभने, प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको छायाँ सरकारमा एकथान छायाँमन्त्री पनि हुनुहुन्छ । छायाँमन्त्रीले भ्रष्टाचार गरेको समाचार त्यति नआउने भएकाले पनि शायद नाम थाहा नभएको होला । खैर केही छैन । तर, जो भए पनि एक थान छायाँ अर्थमन्त्री त छ नि ! अब प्रधानमन्त्री केपी ओलीले नयाँ छायाँ अर्थमन्त्री नियुक्त गरेर कांग्रेसको त्यो एक थान छायाँ अर्थमन्त्री पनि खोस्ने तयारी गर्नुभएको छ ।
कांग्रेस यतिबेला सरकारसँग विभिन्न संवैधानिक निकायमा भागबण्डा गर्ने मुडमा आइरहेको छ । तर, प्रधानमन्त्रीले कांग्रेसलाई नयाँ भाग दिने त परै जाओस् भएको छायाँमन्त्रीसमेत खोसेर लिने तयारी गरिसक्नुभएको छ । यसले कांग्रेसलाई ठूलो मार पर्ने निश्चित छ ।
दुई तिहाइ बहुमत ल्याएर प्रम ओलीले कांग्रेसलाई सरकारबाट त आउट गर्नुभयो, अब छायाँ सरकारबाट समेत आउट गर्न खोज्ने ? तैपनि, कांग्रेस केही बोल्दैन, किन ? जनतालाई मार पर्दा त बोलेन बोलेन, अरे बाबा अब आफैँलाई मार पर्दा त बोल !
टिप्पणीहरू