नखाएर दुःख !
डा. गोविन्द केसीले फेरि नखाएर दुःख दिन थाल्नुभएछ । अस्ति जुम्लातिर गएर केही नखाने प्रतिज्ञा गर्नुभएको थियो । प्रहरीले गएर समाइहाल्यो । तर, नखाने मान्छेलाई प्रहरीले समाएर के हुन्छ ?
समातेर जहाँ लाने हो त्यहीं नखाइकन बसिदिए त सकिहाल्यो नि ! नखानलाई कुनै स्थान चाहिँदैन । जहाँ बसेर नखाए पनि हुन्छ । वास्तवमा राम्रो स्थान र राम्रो पोजिशन भनेको त खानलाई मात्रै चाहिने हो । राम्रो ठाउँमा पुगे मात्रै खान पाइने हो । नभए कहाँ खान पाइन्छ ? तर नखानलाई जहाँ पुगे पनि हुन्छ । राम्रै ठाउँमा पुग्नुपर्छ भन्ने छैन । राम्रो–नराम्रो जस्तो ठाउँमा बसेर पनि नखान मिल्छ । डा. गोविन्द केसी पनि त्यस्तै हो । उहाँ हिमाल, पहाड, तराई जहाँ गएर पनि नखान सक्नुहुन्छ । प्रहरीले नसमाए मात्र होइन समाए पनि नखान सक्नुहुन्छ । बिचरा गोविन्द केसीले यसो केही ‘खाइदिए’सरकारलाई पनि कस्तो आनन्द हुन्थ्यो । तर के गर्नु, खाइदिनु भएन ।
सरकारलाई खानेहरूले त दुःख दिएकै थिए, अब नखानेहरूले समेत दुःख दिन थालेछन् । जस्तो कि उहाँ गोविन्द केसी । खाएर दुःख दिनेहरूलाई त कारबाही पनि गर्न सकिन्छ । तर नखाएर दुःख दिनेलाई के कारबाही गर्ने ? यो पो अप्ठ्यारो छ । अहिले सरकारलाई नखाएर दुःख दिनेहरूले अप्ठेरोमा पारेका छन् । ‘खाने’लाई कारबाही गर्न देखाउनकै लागि मात्र भए पनि अख्तियार दुरूपयोग छ, महालेखा परीक्षक छ । तर, नखानेलाई कारबाही गर्ने कुनै निकाय अहिलेसम्म बनाइएको छैन । अब यसका लागि पनि कुनै अध्यादेशकै तयारी पो गर्ने हो कि ?
टिप्पणीहरू