सार्वजनिक यातायातमा साँझ परेपछि ‘नो डिस्काउण्ट’, ‘तोकिएको छुट सँधै पाइने’ सरकारी दाबी

सार्वजनिक यातायातमा साँझ परेपछि ‘नो डिस्काउण्ट’, ‘तोकिएको छुट सँधै पाइने’ सरकारी दाबी

भक्तपुरको गठ्ठाघर बस्ने स्नेहा दाहाल अध्ययनका लागि ललितपुरको ग्वार्को आउँछिन् । अस्ति साँझ उनी घर फर्कंदा केही ढिलो भयो । सँधैझैं उनी कलंकी–भक्तपुर रुटमा चल्ने गाडी चढिन् । गठ्ठाघर पुगेपछि उनले विद्यार्थी परिचयपत्र देखाउँदै २० रुपैयाँ दिइन् । सहचालकले उनलाई १० रुपैयाँ अर्को थप्न भने ।

उनले ‘किन दिने ?’ भनेपछि सहचालकले ८ बजेपछि परिचयपत्र नचल्ने बताए । उनले ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा फोन गरिन् तर उठेन । सहचालकले उनलाई पैसा नतिरेसम्म झर्न नदिने भन्दै चारदोबाटो पुर्याइदिए । त्यहाँ पुगेर १० रुपैयाँ दिएपछि मात्र सहचालकले ओर्लिन दिएका हुन् । यो समस्या स्नेहाको मात्र होइन । 

सार्वजनिक यातायातमा यात्रा गर्ने विद्यार्थीहरुले हरेक दिन यो समस्या झेल्दै आएका छन् । कतिपय यसको विरोधमा आवाज उठाउँछन् त कतिपय चुपचाप भाडा तिरेर हिँड्छन् । काठमाडौंको बानेश्वर बस्ने सबिना कार्कीको सहचालकसँग दिनहुँजसो झगडा पर्ने गरेको छ । झगडा पर्नुको कारण शैक्षिक संस्थाको सक्कली परिचयपत्र देखाउँदासमेत ८ बजेपछि सार्वजनिक यातायातमा छुट नदिनु हो । 

उनी भन्छिन्, ‘छुट यति बजेसम्म पाउने भनेर तोकिएको छैन । गाडी चल्दासम्म छुट दिनैपर्छ । तर, ८ बजेपछि छुट पाइँदैन भन्छन् । त्यसैले मेरो प्रायःजसो झगडा परिरहन्छ । त्यही पनि सहचालकहरु मान्दैनन् र बढी भाडा तिर्नैपर्छ ।’ विद्यार्थी विरेन्द्र बुढाथोकीको पनि त्यस्तै गुनासो छ ।  

बाहिरी जिल्लाबाट पढ्न आएका उनी भक्तपुरको कौशलटार बस्छन् । शान्तिनगरस्थित एउटा पसलमा उनी काम गर्छन् । पढ्दै, काम गर्दै आएका उनलाई बेलुका कामबाट निस्किँदा ढिलो हुने गरेको छ । उनले सार्वजनिक यातायातमा जतिबेला पनि छुट पाइन्छ भन्ने सुनेका छन् तर पाएका छैनन् । 

भन्छन्, ‘बाहिरबाट आएर यहाँ पढ्न बसेका विद्यार्थीलाई धेरै गाह्रो छ । कलेज फी, कोठाभाडालगायत सबै खर्च आफैंले व्यहोर्नुपर्छ । गाडीभाडामा दिनको १० मात्र रुपैयाँ जोगियो भनेपनि महिनामा तीन सय हुन्छ । अर्को महिनाको केही दिनलाई गाडीभाडा पुग्छ । मैले विद्यार्थी परिचयपत्र भएकाले जतिबेला पनि छुट पाउँछन् भन्ने सुनेकोचाँहि थिए तर पाएको छैन । एकचोटि सहचालकलाई परिचयपत्र देखाएको थिए, ८ बजेपछि छुट पाइँदैन भनेर हप्काए । त्यसपछि त देखाएको छैन ।’

सरकारले विद्यार्थी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था गरेको छ । उनीहरुलाई छुट दिएबापत यातायात व्यवसायीहरुले करमा छुट पाउँछन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई दिनुपर्ने छुट र सुविधाबारे उल्लेख छ । 

उक्त दफाको उपदफा (२) मा भनिएको छ, ‘नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नुपर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ ।’

त्यस्तै, अपाङ्गता भएकोको हकमा पनि ५० प्रतिशत छुट तोकिएको छ । विद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट पाउँछन् । तर, नियामक निकायले अनुगमनमा कडाइ नगर्दा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थी सरकारले दिएको सुविधाबाट वञ्चित हुनुपरेको छ । छोटो दूरीमा मात्र नभई लामो दूरीमा पनि छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन् । 

८ बजेपछि मात्र होइन्, दिउँसैपनि छुट दिन सहचालक हिच्किाउँछन् । छुट माग्दा सहचालकले गालीगलौज गर्ने गरेका छन् । उनीहरु अपशब्दकै प्रयोग गर्छन् । कतिपयले त ‘अर्कोचोटिबाट यो गाडी नै नचढ्नु’ सम्म भन्न भ्याउँछन् । यता, ट्राफिक प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गर्दा फोन नै नउठ्ने अधिकांशको गुनासो छ । विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइने ‘डिस्काउन्ट’ को विषयमा सदनमा समेत आवाज उठिसकेको छ । 

तैपनि सरोकारवाला निकायको ध्यान केन्द्रित हुन सकेको छैन् । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई दिने भाडा छुटको विषय प्रभावकारी बनाउनुपर्ने माग राखेकी थिइन् । कुल भाडादरको ४५ प्रतिशत छुट पाउनुपर्नेमा नपाएको र ट्राफिकले पनि अनुगमनमा चासो नदेखाएको उनको गुनासो छ । 

सरकारले काठमाडौं उपत्यकाभित्रको शुरुको भाडादर १९ रुपैयाँ तोकेको छ । ४५ प्रतिशत छुट दिँदा १० रुपैयाँ ४५ पैसा हुन्छ । तर, सार्वजनिक सवारी साधनले १५ रुपैयाँ लिने गरेका छन् । जुन ४ रुपैयाँ ५५ पैसाले बढी हो । 

भाडा असुल्न गाडी रोक्ने प्रवृत्ति

बेलुका सबैलाई घर पुग्न हतारो भइरहेको हुन्छ । कतिबेला घर पुगिन्छ भनेर यात्रुहरु चिन्तित हुन्छन् । यता, गाडी पनि ‘प्याक’ भइसकेको हुन्छ । तर, सहचालक ‘सीट खाली...सीट खाली...’ भन्दै कराइरहन्छन् । यात्रु कराएपछि बल्लतल्ल गाडी गुडाउँछन्, त्यो पनि सुस्त गतिमा । ८ बजेपछि चाँहि ‘स्पिड’ मा गाडी कुदाउँछन् । 

पूरा गाडी भाडा लिनका लागि त्यसो गरिएको हो । ८ बज्नेबित्तिकै कतिपय सहचालकले ‘अब कार्ड चल्दैन्’ भनेर घोषणा गर्ने गरेका छन् । छुट दिएको वर्गसँग पूरा भाडा लिनकै लागि चालक–सहचालकले अन्य यात्रुलाई मर्कामा पार्ने गरेका छन् । 

परिचयपत्र भएकाले जतिबेला पनि छुट पाउँछन् 

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले परिचयपत्र भएकालाई जुनसुकै समयमा छुट दिनैपर्ने बताए । ८ बजेपछि छुट नपाउने भन्ने प्रावधान नरहेको उनको भनाइ छ । 

‘सार्वजनिक यातायातले परिचयपत्र भएकालाई छुट दिनैपर्छ । यति बजे भन्ने हुँदैन् । जति बजे भएपनि परिचयपत्र भएकाले छुट पाउँछन्’, उनले भने । यता, यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले पनि छुट पाउने विषयमा समय नतोकिएको जानकारी दिए । 

उजुरी आए कारबाही गर्छौंः ट्राफिक प्रहरी 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले उजुरी आएमा कारबाही गरिने बताए । त्यस्तो गुनासो नआएको उल्लेख गर्दै उनले बस नम्बरसमेत उजुरी दिएमा चालक–सहचालकलाई कारबाही हुने जानकारी दिएका हुन् । उनले भने,‘हामी उजुरी आएमा कारबाही गर्छौं । त्यसका लागि उहाँहरुले १०३ वा १०० मा सम्पर्क गर्न सक्नुहुन्छ । उहाँहरुले गाडी नम्बर टिपाउनुपर्छ । हामी कारबाही गर्छौं ।’

टिप्पणीहरू