कसैलाई भने साठी वर्ष बिताउँदा पनि नागरिकता छैन
घानाबाट उच्च शिक्षा हासिल गर्ने क्रममा सन् १९७७ मा बेलायत आएका नेल्सन सार्डे पढाइ सकेर एकाउण्टेन्ट बने ।
साउथ ह्याम्पटनबाट शुरु भएको बेलायती जीवन व्यवस्थित बन्दै गएको थियो । काम पाएपछि घरजम पनि भयो । सन् १९९० मा घर बेचेर उत्तरतिर बसाइँ सरे । त्यहाँ गएको अर्को वर्षदेखि आफ्नै पसल सञ्चालन गरे । न्युज पसल बिहान ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुन्थ्यो । सन् २०२२ सम्म त्यो पसल चलाए । २४ वर्षको हुँदा बेलायत पसेका नेल्सनले करिब ५० वर्ष मिहिनेतका साथ इज्जतको जीवन बिताए तर अहिले बेलायती नागरिकता पाउन ८० वर्षको उमेर पार गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले अन्याय गरेको भन्दै आफूलाई तुरुन्त नागरिकता प्रदान गर्नुपर्ने मागसहित उनी अदालतको शरणमा पुगेका छन् ।
मध्यम परिवारका नेल्सनको शुरुका वर्ष मूलतः अध्ययनमा सीमित रह्यो । घरबाट पठाएको खर्चले नै दैनिकी चलाउनसक्ने भएकाले पढाइमा राम्रो थियो । घानामा देखापरेको चरम आर्थिक समस्या समाधान गर्न नसकेको कारण दोस्रोपटक सन् १९८१ डिसेम्बर ३१ मा विरोध चर्किएसँगै सबैलाई नजरबन्द गरेर राउलिंग्सले सैनिक शासन चलाएपछि भने जन्मथलोबाट पैसा आउने अवस्था रहेन । त्यसपछि विभिन्न स्थानमा काम गर्न थाले ।
बिहान ७ बजेबाट कलेज शुरु हुने र ४ बजे सकिने भएकाले यही अवधिमा मात्र काम गर्न सम्भव थियो । यति गर्दा पनि बचाएको पैसाबाट घरसमेत किन्न सकेका थिए । त्यतिबेला बाहिरबाट आउनेहरूका लागि खासै कडाइ थिएन । उनले काम गर्ने, ट्याक्स तिर्ने, घर किन्ने सबै कुरामा कुनै कानुनी अड्चन सहन परेन । यहाँका मानिस र वातावरण सबै मन परेको थियो । त्यतिबेलासम्म यहींकै गोरीसँग विवाह पनि गरिसकेका थिए । तर, उनीहरूबीच त्यति लामो समय सम्बन्ध कायम हुन सकेन । दोस्री श्रीमतीबाट दुई छोरा जन्मेका थिए । उनीहरूलाई राम्रो शिक्षा दिएर समाजमा स्थापित गराउने ध्येय थियो । नभन्दै बाबुले भनेजस्तै कडा मिहिनेत गरेर ज्याकोब र आरोनले विश्वविद्यालयको पढाइ सकी अनुसन्धान वैज्ञानिक र सार्वजनिक सम्बन्ध कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन् ।
पासपोर्ट अफिसले उनी यताको नागरिक नभएको कारण बेलायत बस्न पाउने कानुनी अधिकार नभएको निर्णय सुनाएपछि जीवनमा उथलपुथल शुरु भयो । नसोचेको, नचिताएको अवस्था भोग्नुपर्यो ।
उनले सञ्चालन गरेको पसल सामाजिक क्रियाकलापबारे जानकारी लिने स्थानको रुपमा विस्तार भएको थियो । गाउँठाउँमा हुने प्रायः सबै कार्यक्रममा उनको परिवारको सक्रिय सहभागिता रहन्थ्यो । अपर्झट आइपर्दा सकेजति सहयोग गर्दै आएका थिए । एकपटक आफ्नो सामुन्ने डेलिभरी ड्राइभरमाथि केही मानिसले बेसबलको ब्याटले हिर्काएर सामान चोरी गर्न लागेको देखेर उनलाई बचाउन पुगे । यसबापत सन् २००७ मा स्थानीय प्रहरीले बहादुरीको पद्वीसमेत दिएको थियो । यहाँका नागरिकले अनिवार्य रुपमा जुरीको सदस्यका हैसियतमा केही साता निःशुल्क सेवा गर्नुपर्ने व्यवस्था छ । जो जसले यस्तो पत्र पाउँछ, उनीहरूले नाइँनास्ती गर्ने कुरै हुँदैन ।
कसको पालो कहिले आउँछ भन्नेचाहिँ थाहा हुँदैन । सबैको पालो आउँछ भन्ने पनि छैन । तर, नेल्सनले भने जुरीको काम पनि गरिसकेका थिए । अन्य देशहरूमा जस्तो यहाँ यति उमेरपछि नागरिकता दिनुपर्छ भन्ने कानुनी व्यवस्था छैन । देश छाडेर कहीं कतै नजानेहरूले जिन्दगीभरि नागरिकता लिने प्रक्रियामा सहभागी हुनुपर्दैन । पासपोर्टले नै नागरिकताको काम गर्छ । अन्य सम्पूर्ण काम भइरहेको र आफू कतै जान नपरेको कारण नेल्सनले पासपोर्ट लिन आवश्यक ठानेका थिएनन् । आफू बेलायती भइसकेको कुरामा कहिल्यै शंका गरेनन् ।
सन् २०१९ मा आमाको देहावसान भएको खबर आयो । त्यसो त उनी आफैं पनि क्यान्सर रोगको उपचार गराइरहेका छन् । एकपटक घाना पुग्ने इच्छा जागेपछि पासपोर्ट बनाउन निवेदन दिए । पासपोर्ट अफिसले उनी यताको नागरिक नभएको कारण बेलायत बस्न पाउने कानुनी अधिकार नभएको निर्णय सुनाएपछि जीवनमा उथलपुथल शुरु भयो । नसोचेको, नचिताएको अवस्था भोग्नुप¥यो । कर्मचारीहरूले उनलाई यो देशमा बस्ने हो भने कामको लागि १० वर्ष बस्ने बाटोबाट निवेदन दिन सुझाए । त्यसको लागि सात हजार पाउण्ड निवेदन शुल्क र झण्डै १० हजार ५ सय पाउण्ड स्वास्थ्य उपचार खर्च लाग्ने भयो । यो सब थप आर्थिक भार हुने भयो, जुन उनीसँग उपलब्ध पनि थिएन ।
तर, बाध्य भएर यसका लागि फारम भरे । विडम्बनाको विषय, उनले भुलवस अर्को कुनै फाराम भरेको कुरा गत वर्षमात्र थाहा भयो । अब फेरि नयाँ फाराम भर्दा अर्को १० वर्ष कुर्नुपर्ने र त्यतिबेलासम्म ८४ वर्ष पुग्ने देखियो । उनीमाथि परेको यो कानुनी बज्रपातका कारण सबै जना चकित परेका छन् । छरछिमेकहरू त आश्चर्यचकित पर्ने नै भए, देशैभरि उनीमाथि अन्याय भएको ठानिएको छ । कानुनलाई आमरुपमा मात्र नलिइकन व्यक्तिगत परिस्थितिको आधारमा पनि व्याख्या गरिनुपर्ने बहस चलेको छ ।
नेल्सनले आफ्नो शारीरिक समस्या त झेल्दै आएका थिए तर कानुनी लफडा पनि थपिएपछि सन् २०२२ देखि ३१ वर्षदेखि चलाउँदै आएको व्यवसायलाई बिट मारेका छन् । जीवनभर गरेको दुःख, मिहिनेत र तिरेको ट्याक्सबाट बाँकी जीवन आनन्दसँग बिताउने सपना देखेका उनले आफू यस देशको नागरिकसम्म नभएको पत्याउनु परिरहेको छ । लामो समयदेखि यस देशमा आएर बसेका तर कुनै कागजात नभएकाहरूलाई समेत सरकारले एक विशेष विण्डरस योजनामार्फत नागरिकता वा यहाँको कानुनी मान्यता दिने बाटो छ । नेल्सनले यो उपाय नसुझाएका हैनन् तर त्यसबाट पनि न्याय पाउन सकेनन् ।
सामान्यतया कानुनी रूपमा पाँच वर्ष बसोबास गरेपछि यहींको नागरिक हुने आधार बन्दछ । १ जनवरी १९८३ अगाडिसम्म यो देशमा जन्मेका बालबालिका केही कारणबाहेक यहाँको नागरिक बन्न सक्थे । विवाहमार्फत पनि यहाँको नागरिक बन्न सकिन्छ । नेल्सनको हकमा उनले नागरिक बन्न नपाउने कुनै कारण थिएन तर प्रक्रियागत रुपमा भने नागरिकता प्राप्त गरेका थिएनन् । नागरिकको हैसियतमा सम्पूर्ण दायित्व र अधिकारहरू प्राप्त गरे पनि यहाँको राहदानी लिन आवश्यक नपरेसम्म यसबारे केही चासो नदेखाउनु पनि उचित नै हो ।
नागरिकता स्वतः प्राप्त नहुने भएकाले यो अवस्था आएको देखिन्छ तर नेल्सनको हकमा गृह मन्त्रालयले जुन अडान लिएको छ, यसले भने उनीमाथि अन्याय परेको सबैको बुझाइ छ । यति लामो समय बसिसकेर पनि फेरि १० वर्षको बाटोबाट नागरिकता लिन भन्नु, गलत फाराम भरिएको दुई वर्षपछाडि थाहा पाएर पुनः अर्को दश वर्ष कुर्नुपर्छ भन्नुलाई कहीं कतैबाट उचित मान्न सकिँदैन ।
यो सब सहेर उनले आफू १० वर्ष बाँचिने वा मरिने ठेगान नभएको तर मर्नुअगाडि बेलायती नागरिक हुँ भन्न पाउनुपर्ने अडानसहित अदालत जाने बताएका छन् । यसमा लाग्ने खर्च जुटाउन छोराले क्राउड फण्डिङबाट अभियान शुरु गरेका छन् । उनलाई साँच्चिकै अन्याय परेको कारण म्यानचेष्टर इमिग्रेसन एड युनिटका वकिल निकोला वर्गेसले सहयोग गर्ने भएकी छन् । वर्गेसका अनुसार गृह मन्त्रालयले नेल्सनको हकमा विशेष निर्णय गरेर तुरुन्त नागरिक घोषणा गर्नुपर्छ ।
यो विषय अदालतमा प्रवेश गरिसकेको छ, अब केही समयमा छिनोफानो लाग्ने नै छ । मृत छोरीको छेउमा आफ्नो अन्त्येष्टि होस् भन्ने इच्छा जाहेर गरिसकेका नेल्सनको रहर बेलायती भएर पूरा हुने हो या झण्डै ६ दशक बसेर पनि बेलायती हुन नसकेको एक आप्रवासीको रुपमा जीवनलीला समाप्त हुने हो, त्यो त भविष्यले नै बताउने छ । यता नेपालमा नागरिकता फालाफाल छ, जसले जे गरे पनि हुन्छ तर बेलायतको कथा भने बेग्लै छ । यता नेपालमा नागरिकता फालाफाल छ, जसले जे गरे पनि हुन्छ तर बेलायतको कथा भने बेग्लै छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू