नेवार–नेवार र कांग्रेस–एमाले लडाउने हिसाब
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार बिहानै गिरीबन्धु टि–इस्टेटको जग्गा हिनामिना प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड घोटाला गरेको आरोप लगाउँदै फेसबुकमा स्टाटस लेखे । स्टाटस पोष्ट भएको एक घण्टामा हजारौँले कमेन्ट र शेयर गरे । लाखौँ लाइक आयो ।
न्युरोडको सडकमा फुटपाथ विस्तार गर्ने महानगरको योजनामा एमालेबाट निर्वाचित २२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जन अवरोधक हुँदा बालेन आक्रोशित थिए । त्यसैबीच सार्वजनिक ओहोदामा बस्ने व्यक्तिहरू लोकतान्त्रिक संस्कार, शैली र आचरणमा चल्नुपर्ने भन्दै आफू लक्ष्यित ओलीको टिप्पणीले ‘दबंग’ शैलीमा चल्ने उनको आक्रोशको पारो माथि चढ्ने नै भयो । त्यसैको काउण्टर जवाफ पाए– ओलीले, बालेनका विगत हेर्दा जुन अनपेक्षित पनि होइन ।
किनभने आफूले गरेका निर्णयविरुद्ध लेख्ने, बोल्ने र प्रतिक्रिया जनाउनेमाथि उनले आक्रामक शैलीमा जवाफ दिएको यो पहिलो पटक थिएन । काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग नगरेको भन्दै केही दिनअघि माओवादी केन्द्रको मुख्यालय र रास्वपाको कार्यालयअगाडि फोहोर फाल्न खोजेका थिए । तर, उनले पठाएको फोहोर बोकेका गाडी प्रहरीले बीचैमा रोकिदियो । चक्रपथ विस्तारको काम नगरेको भन्दै बालेनकै निर्देशनमा सडक विभागअगाडि धुलो थुपारिएको केही दिनअघिकै घटना हो । अलि अगाडि सिंहदरबार जलाइदिने धम्की पनि दिएका थिए । शनिबार बिदाको दिन सरकारी गाडीमा घुम्न निस्किएकी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको रिसमा उनले त्यस्तो धम्कि दिएका थिए । लोकतान्त्रिक र सभ्य समाजले स्वीकार गर्न नसक्ने यी केही प्रतिनिधि उदाहरण मात्र हुन्, अरु थुप्रै घटना छन् जो यहाँ चर्चा गरेर साध्य हुँदैन ।
देशकै राजधानीसमेत रहेको काठमाडौँको मेयर (जसलाई नगरपिता पनि भनिन्छ) जिम्मेवारी आफैंमा ओजपूर्ण पद हो । व्यक्तिको गतिविधिले पदको गरिमा निर्धारण गर्छ । यसअर्थमा बालेनले आफ्ना क्रियाकलापमाथि सिंहावलोकन गरुन् भन्नेसम्मको सुझाव र अपेक्षा राख्नु उनका समर्थकहरूको पनि कर्तव्य हुन्छ । तर, समाज त्यसरी सोच्ने पक्षमा छैन । बरु, अन्ध समर्थन गर्दै बालेनकै पछाडि दौडिँदै छ । सामाजिक सञ्जालमा उनले राखेका विवादास्पद अभिव्यक्तिले एक घण्टामै लाखौँ लाइक र शेयर पाउनुले त्यही भन्छ । त्यसो त, स–साना घटनाक्रमबाट पनि उद्धेलित भैहाल्ने र तत्काल धारणा बनाउने नेपाली समाजको विशेषता नै हो । नकारात्मकतामा आत्मसन्तुष्टि लिने र पुराना सबै खराब हुन् भन्ने जबर्जस्त भाष्य बन्दै छ । खासगरी सामाजिक सञ्जालको प्रयोग बढेसँगै यस्तो प्रवृत्ति फैलिँदै छ । यो प्रवृत्तिको उदय भने अहिले एकाएक भएको होइन ।
नेपाली समाज यसरी ‘व्यक्तिपूजक’ हुन थालेको करिब एक दशक भएको छ । कुनैबेला डा. बाबुराम भट्टराईलाई यसैगरी ‘भगवान’ बनाएर ‘पूजा’ गरिएको थियो । गगन थापा, धुर्मुस–सुन्तली हुँदै डा. गोविन्द केसीसमेत केही समय त्यसैगरी पुजिए । त्यसैको निरन्तरतास्वरूप रवि लामिछाने, दुर्गा प्रसाईंहरू ‘भगवान’ बनाइए । तर, यही समाज हो, कुनैबेलाका यी भगवान अहिले राक्षस बनाइएका छन्् । हो, बालेन एक जुझारु युवा हुन् । उनका लाखौँ समर्थक पनि छन् । तर, त्यसो भन्दैमा सडकको भीडलाई देखाएर लोकतन्त्र र कानुनी राज्यमाथि चुनौती दिन मिल्दैन । अतः नायकबाट खलनायक हुने कि नायकै रहिरहने ? यो भने उनकै गतिविधिमा निर्भर रहनेछ ।
अब आऊँ मूल प्रसंगमा, सामाजिक सञ्जालमा बालेनको जति ‘हाईहाई’ छ, मेयरका रूपमा भने कार्यसम्पादन त्यस्तो अब्बल देखिंदैन । बरु उनका कदम एकपछि अर्को विवादमा परिरहेको छ । पछिल्लो पटक न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषयलाई लिएर २२ नम्बरका वडाध्यक्ष चिनकाजी महर्जनसँग ‘लफडा’ चलिरहेको छ । पछिल्लो कार्यपालिका बैठकमा उनीहरूबीच ‘बाझाबाझ’ समेत भएको थियो । झट्ट हेर्दा मेयर र वडाध्यक्षबीचको द्वन्द्वजस्तो देखिए पनि यो घटनाले काठमाडौँको कोर क्षेत्रका नेवार समुदाय विभक्त हुँदैछ । फुटपाथ विस्तारको योजनामा बालेनलाई चिनकाजीको प्रष्ट असहयोग रहँदा २४ नम्बरका वडाध्यक्ष विनोद राजभण्डारीले भने साथ दिएका छन् ।
जबकि काठमाडौँ महानगरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि १८ जना छन् भने उपमेयरसहित एमालेका १४ जना छन् । कांग्रेस र एमाले एक ठाउँमा उभिँदा एक्लो मेयरले चाहेर पनि आफूले भनेजस्तो गर्न सक्ने अवस्था छैन । तर, बालेन एक्लै हावी भैरहेको अवस्था विद्यमान छ । कांग्रेस र एमालेबीच राजनीतिक कित्ताकाट गराएर द्वन्द्व चर्काउने र विकासका नाममा उपत्यकाको ऐतिहासिकता मेटाउने षड्यन्त्रका रूपमा पनि कतिपयले यो घटनालाई अर्थ लगाउन खोजेको देखिन्छ । फुटपाथ विस्तारको पक्षधर र यथास्थितिमा राख्नुपर्छ भन्नेहरू आमनेसामने भएकाले खतराको घण्टी बजिसकेको छ । घटनाक्रम यसैगरी अघि बढे अन्ततः नेवार–नेवार नै आमनेसामने हुने खतरा देख्छन्, यहाँका जानिफकारहरू ।
९० सालको भूकम्पपछि पहिलोचोटी नेपालमा आर्थिक इञ्जिनियरिङ्ग गरेर जुद्ध समशेरले बनाएको सडक हो न्युरोड । त्यसकारण न्युरोडसहित भित्री शहरलाई अहिलेकै रूपमा छोड्नुपर्ने एमाले समर्थक स्थानीयको भनाइ छ । नयाँदिल्लीको कनाट प्लेस, इटलीको क्विनेट प्यालेसको दृष्टान्त दिँदै न्युरोड, मखन, वसन्तपुरजस्ता ऐतिहासिक स्थलमा डोजर चलाउन हुँदैन भन्ने मत सुनिन्छ । विकासको नाममा भत्काउँदै जाँदा सांस्कृतिक इतिहास नै नामेट हुनेतर्फ उनीहरूको गम्भीर चासो देखिन्छ । तर, स्वयं बालेन र २४ नम्बरका वडाध्यक्षले भने फुटपाथ साँघुरो हुँदा पैदलयात्रीलाई असुरक्षा बढेको तर्क गरेका छन्् । फुटपाथ साँघुरो भएकै कारण बाटो हिँड्ने महिलाबाट सेक्सुअल ह्यारेस्मेन्ट भएको गुनासो आएको, पकेटमारी बढेको भनिए पनि प्रहरीमा भने त्यस्तो जाहेरी अहिलेसम्म एउटा पनि परेको छैन ।
भौतिक संरचनाको क्षेत्रमा मात्र होइन, काठमाडौँको सांस्कृतिक पहिचानप्रति पनि मेयर संवेदनशील नभएको गुनासो त्यत्तिकै सुनिन्छ । यस वर्षको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुर जाँदा उनीविरुद्ध एक समूहले कालो झण्डा देखाएर नाराबाजी गरेको थियो । तर, बालेनको भने राजा–महाराजलाई जस्तै ‘जयजकार’ गरियो । राष्ट्रपति फर्किएपछि गद्दी बैठकभित्र गएका उनले बरण्डामा उभिएर हात हल्लाएका थिए । उपत्यका बाहिरका उनका समर्थकहरूले ‘हाइहाइ’ गरेपनि यहाँको संंस्कृति बुझेका स्थानीयले भने यो घटनालाई निको मानेका छैनन् ।
कला, संस्कृति र धार्मिक हिसाबले विशिष्ट पहिचान बोकेको काठमाडौँ उपत्यका राजनीतिक परिवर्तनको आन्दोलनमा पनि अग्रणी भूमिकामा रहँदै आएको छ । इतिहास हेर्दा, काठमाडौँका नेवार समुदाय जागेपछि मात्र आन्दोलन सफल भएको पाइन्छ । काठमाडौँको सांस्कृतिक पहिचानप्रति यहाँका नेवारहरूको संवेदनशीलता बुझेर कदम चाल्न नसके त्यसले कुनै पनि बेला ‘बिद्रोह’ को रूप लिन सक्छ । त्यो स्थिति आयो भने सामाजिक सञ्जालको भीडले बालेनलाई कसरी जोगाउला र ! त्यसैले बेलैमा बुद्धि पुर्याउन नसके उनका लागि आफ्नै कदम प्रत्युत्पादक नहोला भन्न सकिन्न ! – साहस न्यौपाने
टिप्पणीहरू