आज कसरी हुन्छ अख्तियार र प्राधिकरण प्रमुखको बिदाई ?
आजदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग आ-आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा बिदा हुँदैछन् । दुई वर्षअघि प्रमुख आयुक्तमा नियुक्त घिमिरेले उमेर हदको कारण र घिसिङ्ग तोकिएको चार वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका हुन् । घिसिङ्गको हकमा पुनर्नियुक्तिको थोरै सम्भावना मरिहालेको छैन ।
आयोगको मुख्यालय टङ्गालमा आज दिउँसो १ बजे हुने बिदाई कार्यक्रममा आयोगका सातवटै प्रदेश प्रमुखलाई मात्र बोलाइएको छ । आयुक्तहरूले मन्तव्यसहित पुष्पगुच्छा दिएपछि घिमिरेले आफ्नो बिदाई मन्तब्य राख्ने कार्यक्रम तय गरिएको बताइएको छ । नियमानुसार भोलिदेखि स्वतः वरिष्ठ आयुक्त गणेशराज जोशी प्रमुख आयुक्त बन्नेछन् । आजै अपरान्ह घिमिरेले नियमावलीबमोजिम भोलिदेखि लागू हुनेगरी पद हस्तान्तरणको पत्र जोशीलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि आयोगमा तीनजना आयुक्तको पद रिक्त हुनेछ । जोशी र अर्का आयुक्त सावित्री गुरुङ्गको कार्यकाल पनि आगामी चैतसम्म मात्र रहने छ ।
नवीनको कार्यकालमा मुद्दाको संख्या ह्वात्तै बढेको आयोगले बताएको छ । स्टिङ्ग अपरेशन (स्थलगत कारबाही) पनि यसबीचमा उल्लेख्य भएको उसको दाबी छ । ठूला रकमको मुद्दासमेत घिमिरेको कार्यकालमा चलाइएको र अकुत सम्पत्तिमा २५ करोड रूपैयाँसम्मको मुद्दा दायर गरिएको बताइएको छ ।
१६ करोड रूपैयाँ बराबरको अकुत सम्पत्तिमा काशिप्रसाद गुप्ता र २५ करोडमा तत्कालीन गोलढुङ्गा गाविसका सचिवलाई मुद्दा चलाइएको छ । ८ देखि १० करोड रूपैयाँका धेरैवटा अकुत सम्पत्तिका मुद्दा पनि अघि बढाइएको आयोगको दाबी छ । तर, एक हजार रूपैयाँ घुस मागेको आरोपमा मुद्दा दायर गरिएका कलङ्की मालपोतका खरिदार रामहरि सुवेदीको सम्बन्धमा आयोगले गरेको कारबाही सर्वाधिक विवादमा आयो । विशेष अदालतले असारमा निर्दोष सावित गरिदिँदा सुवेदीले गत वर्ष नै यो संसार छाडिसकेका छन् ।
स्रोतका अनुसार उक्त मुद्दामा प्रहरीको र्याट (र्यापिड एक्सन टिम) ले गरेको गल्ती र कमजोरी नै उनको मृत्युको कारण बनेको हो । र्याटले सेवाग्राहीको भीड हुने विभिन्न कार्यालयमा भीडीयो क्यामराले खिचेको दृश्यको आधारमा घुस लेनदेन गरेको आरोप लगाउने गर्छ । उक्त मुद्दाको सबन्धमा पनि आयोगले खटाएको प्रहरीको र्याटले खिचेको दृश्यको आधारमा एकाएक सुवेदीलाई आरोप लगाइयो । दृश्यमा सेवाग्राही भनिएका कृष्णप्रसाद घिमिरेले समेत आफूले घुस खुवाएको आरोप कहिँ कतै लगाएका छैनन् ।
तर, टिमले उक्त कुरालाई एकतर्फी रूपमा पुष्टि गरेर निजलाई भ्रष्टाचारको आरोप लगाउँदै आयोगमा बुझाएर विशेष अदालतमा मुद्दा चलाउँदा एउटा कर्मचारीले अनाहकमा मृत्यु वरण गर्नु परेको हो । त्यसपछि आयोगले उक्त घटनालाई सबकको रूपमा लिँदै कहिँ कतै सामान्य रकमको घुस लेनदेन गरेको आशंकामा सबैभन्दा पहिले सम्बन्धित मन्त्रालयका सचिवलाई जानकारी गराउने गरेको छ । सबैभन्दा सानो रकम घुस लेनदेन गरेको आशंका र अभियोगमा अदालतमा चलाइएको सम्भवतः उक्त मुद्दा नै पहिलो हो ।
टिप्पणीहरू