हिमाल जाने बीचैमा को–को हराए ?

हिमाल जाने बीचैमा को–को हराए ?

अनेक तिकडम गरेर सम्पर्क अधिकृत नियुक्त हुनेले जिम्मेवारीअनुरूप काम नगर्दा विश्वकै शिर सगरमाथा बदनाम हुँदै छ । एकतिर एक/दुई दिन हिमाल आरोहणको रोमाञ्चक यात्राको अवसर पाइने, अर्कोतिर डलरमा झण्डै तीन सय दैनिक हात पार्ने भएपछि निजामती कर्मचारीका लागि लियाजोन अफिसर (सम्पर्क अधिकृत) हुन हरेक वर्ष होडबाजी नै चल्नेगर्छ । यस वर्ष पनि त्यस्तै भयो ।

यसपटक स्वदेशी तथा विदेशी गरेर ४२१ जनाले अनुमति लिए । शेर्पा, गाइड गरी झण्डै ६ सय हाराहारीले सगरमाथा आरोहण गरेर फर्किए । सगरमाथा आरोहणका लागि ४६ वटा ग्रुपको निम्ति ४० जनालाई सम्पर्क अधिकृतका रूपमा खटाइएको थियो । आधारशिविरसम्म पुग्ने सम्पर्क अधिकृतलाई एजेन्सीले नै हवाई टिकट, बेसक्याम्पसम्म खाने–बस्ने व्यवस्था गर्ने हुँदा पनि सरकारी कर्मचारी सम्पर्क अधिकृत बन्न मरिहत्ते गर्छन् ।

यस्तो अवसर पहुँचविहीन कर्मचारीले पाउने कुरै भएन । कि त ट्रेड युनियनको नेता हुनुपर्‍यो वा मन्त्रीको सचिवालयतिर बस्ने कर्मचारी हुनुपर्‍यो । यसबीच, बाटोबाटै एक जना सम्पर्क अधिकृत हराएपछि पर्यटन विभागदेखि मन्त्रालयसम्म हलचल मच्चिएको छ । 

प्रधानमन्त्री कार्यालयका कम्प्युटर अपरेटर टेकबहादुर ओली, वन तथा वातावरण मन्त्रालयकी उपसचिव निर्मला थापा, कानुन मन्त्रालयका लक्ष्मण ज्ञवाली, गृहका उपसचिव कुलबहादुर जिसी र गृहकै नासु महादेव थापाका विषयमा कर्तव्य पालना नगरेको उजुरी परेको छ तर पर्यटन विभागले डकुमेन्ट भेरिफाई गर्ने काम भइरहेको भन्दै ती कर्मचारीको बचाउ गरेको छ । सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही हुने व्यवस्था छ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो, भिडियो बुझाउनुपर्छ पनि भनिएको हुन्छ ।

तर कतिपय अफिसर (कर्मचारीहरू) बिरामी भएको जानकारी गराएर एक/दुई दिनमै काठमाडौं फर्किएको रिपोर्ट छ । ०७६/७७ मा ६० जना सम्पर्क अधिकृतमध्ये पाँच जना मात्रै आधारशिविरसम्म पुगेर फर्किएको र बाँकी सबैले पैसा बुझेको अर्काे उजुर पनि छ । ०७९/८० मा आधार शिविर नपुगेका १५ जना सम्पर्क अधिकृतलाई विभागले कारबाही गरेको र ०८०/८१ मा यस्तो फण्डामा एक जना मन्त्रीका निजी सचिव नै जोडिएको अवस्था थियो । तत्कालीन मन्त्री सुदन किरातीको सोर्सफोर्स लगाएर चल्तीको कम्पनी सेभेन समिट ट्रेक्सको सम्पर्क अधिकृत तोकिएका डिजन भट्टराई आधार शिविर नपुगी नाम्चेबाटै फर्किएका थिए । 

तीन लाखको लोभमा सम्पर्क अधिकृत बन्ने तर बीच बाटोबाटै फर्किएर बदनामी कमाउने लेखा पनेरु पछि घुस काण्डमा परिन् । बिना श्रेष्ठ, सन्तोष मोक्तान, हुमनाथ पाण्डे, लक्ष्मी शर्मा, गोपाल भण्डारी, पुण्यप्रसाद ढकाल, तीर्थराज चापागाईं, कमलप्रसाद मिश्र, चन्द्रप्रसाद अधिकारी, प्रह्लाद पुडासैनी, राजेन्द्रकुमार श्रेष्ठलगायत सयौं कर्मचारी यसरी लियाजो बनेको लिस्ट भेटिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू