धर्ती खोतल्ने काम दैलेखमा धमाधम

धर्ती खोतल्ने काम दैलेखमा धमाधम

मुलुककै गौरवको आयोजना दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम तीव्र गतिमा अघि बढेको छ । लामो समय अड्किएर बसेको कामले गति समातेसँगै दैलेखबासी हर्षित भएका छन् । चिनियाँ र नेपाली टोलीले तीन सातादेखि रातदिन नभनीकन काम गरिरहेको छ । कोरोना महामारी, सडक स्तरोन्नतिलगायत बाधाका कारण रोकिएको काम अबको केही महिनामै सम्पन्न हुने अनुमान लगाइएको छ । 

भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम शुरु भइसकेको छ । चीनबाट ठुल्ठूला मेसिन ल्याइएको काम गरिएको छ । झण्डै दुई दर्जनको चिनियाँ टोली फिल्डमा छ । चार हजार मीटरसम्म ड्रिल गरिसकेपछि त्यहाँ पेट्रोल भए–नभएको र भए कति परिमाणमा भन्ने थाहा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । अहिलेसम्म झण्डै १८० मीटर खनिसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) को कमाण्डमा १५ जनाको घेराबारमा खन्ने काम भइरहेको छ । 

टोली जमिनको भाग खनिसकेर पानीको भागमा आइसकेको उनले बताए । ‘यहाँ २४ सै घण्टा काम भइरहेको छ । टोली जमिनको भाग खनिसकेर पानीको भागमा पुगिसकेको छ । सशस्त्रको टोलीले सुरक्षा दिइरहेको छ । यहाँ सबै कच्ची बाटो छ । बर्खा शुरु हुन्छ भनेर पहिले नै आवश्यक मेसिन ल्याइसकिएको छ । सामानको कुनै समस्या छैन । चिनियाँ प्राविधिकसँग नेपाली टोली पनि फिल्डमा खटिएको छ’, उनले भने । 

विभागका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेअन्तर्गतकै सिबु ड्रिलिङ इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । भन्छन्, ‘चार हजार मीटर खन्नुपर्ने हो । अबको चारदेखि ६ महिनामा ड्रिल सम्पन्न हुने अनुमान छ । त्यसपछि त्यहाँ पेट्रोलियम पदार्थ भए–नभएको खुल्छ ।’

पहिलो चरणको अन्वेषणात्मक कार्यले दैलेखमा पेट्रोलियम पदार्थ रहेको देखिए पनि आधिकारिक पुष्टि भने भइसकेको छैन । शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुकालगायत क्षेत्रमा सदियौंदेखि निरन्तर दीप बलिरहेको हुनाले पेट्रोलियम पदार्थको खानी हुनसक्ने आकलन गरिएको हो । त्यहाँ पानीमाथि समेत आगो बल्ने गरेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि शुरु भएको खोजी सफल भएमा मुलुकले आर्थिक क्षेत्रमा कायापलट गर्ने विश्वास राखिएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ०७६ साल असारदेखि त्यहाँ पेट्रोलियम पदार्थको अन्वेषण थालिएको थियो । तर, विभिन्न कारणले बीचमा अलपत्र प¥यो । उक्त काम छिटो सम्पन्न गर्न झण्डै ६–७ महिनाअगावै चिनियाँ टोली दैलेख आएर बसेको थियो ।

 

टिप्पणीहरू