बिग हाउसमा दाजुसङ्ग विद्रोह

बिग हाउसमा दाजुसङ्ग विद्रोह

काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको समाचार प्रकाशित हुँदै आएको गत साता भवन मालिक पद्मज्योतीले सार्वजनिक गरेपछि अहिले भाइ डा. रूपज्योती दाजुमाथि खनिएका छन् ।

यसअघि दाजुले लगाएको सबै आरोपको खण्डन गर्दै रूपज्योती अध्यक्ष रहेको हस्पिटलले आज प्रकाशित गरेको सूचनामा हस्पिटलको अप्रत्यक्ष अंशियार दाजु समेत रहेको रहस्य खोलेका छन् । सूचनामा समूहका विभिन्न कम्पनीमध्ये स्याकार,जय स्पिनिङ्ग र नेपाल जनरल मार्केटिङ्ग उक्त हस्पिटलको संस्थागत अंशियार रहेको र पद्मज्योती ती कम्पनीको शेयर सदस्य तथा सञ्चालक रहेको उल्लेख छ ।

साथै, यसअघि दाजुद्वारा लगाइएको अवैध हस्पिटलले आफूलाई घरभाडासमेत नदिएको आरोपका सम्बन्धमा भाइले हालसम्मको भाडा र २०९१ सम्मको पेश्की गरी चार करोड ३६ लाख रूपैयाँभन्दा बढी बुझाइसकिएको बताएका छन् । प्रकाशित सूचनामा पद्मज्योतीले पेश्कीवापत बुझेको करोडौं रूपैयाँ पचाउने मनशाय राख्दै भ्रमपूर्ण समाचार फैलाएको आरोप पनि लगाइएको छ । हस्पिटलको पछिल्लो सूचनामा पद्मज्योतीले अनर्गल प्रचार फैलाएको र गलत सूचना सम्प्रेषण गरेको भन्दै आगामी दिनमा त्यस्ता कार्य नगर्न उनलाई चेतावनीको शैलीमा सचेत गराइएको छ ।

पद्मज्योतीका छोराहरू समेतले हस्पिटललाई अवरोध पुर्याउन मूल गेटमा अवरोध पुर्याएको, पानीको पाइप थुनिदिएको र कर्मचारीहरूलाई धम्क्याउने गरेकोसमेत आरोप छ । गत बैशाखमा ज्योती समूहको साधारण सभाबाट डा.रूपज्योती अध्यक्षमा चुनिएको अवसरमा निवर्तमान अध्यक्ष पद्मज्योतीलाई समेत धन्यवाद दिइएको सूचना प्रकाशित गरिएको थियो । २५ वर्षपछि दाजुमा रहेको अधिकार भाइले लिएपछि एकथरिले उक्त घटनालाई ज्योती समूहमा कानुनी ‘कू’ को संज्ञा दिएका छन् । समूहमा हस्पिटलसहित १८ वटा कम्पनी छन् ।

यसअघि पद्मज्योतीले प्रकाशित गरेको सार्वजनिक सूचनामा भाइ डा. रूपज्योती र मिला सायमी मिलेर खोलेको उक्त अस्पतालले आफूलाई घर भाडा नदिएको उल्लेख गर्दै उनीहरूले आफूसँग घरभाडाको सम्झौता समेत नगरी एकतर्फी रूपमा भवन प्रयोग गरेको आरोप लगाएका थिए । उनले ‘आमजनताको स्वास्थ्यजस्तो गम्भीर विषयसँग सम्बन्धित भएकाले राज्यका जिम्मेवार निकायले तत्काल गैरकानुनी सञ्चालन रोकी बलजफ्ती बसेको घर खालि गराई तत्पश्चात् थप अनुसन्धान र कारबाही गर्ने अपेक्षा राखेको’ बताएका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् ।

गत वर्ष घरजग्गा कारोबारसम्बन्धी विवादमा विकेन्द्रकृष्ण मल्लको उजुरीको आधारमा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ परेर हिरासतमा राखेको थियो । विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो । ग्राण्डी सिटी अस्पतालले प्रतिबन्धित सरोगेसीको धन्दा चलाएपछि त्यसका अध्यक्ष रूप ज्योती स्वयम् विवादमा तानिएका थिए । नेपाललगायत विश्वका धेरैजसो देशमा सरोगेसीमाथि प्रतिबन्ध छ ।

टिप्पणीहरू