अन्ततः परमात्माका वरदानसँग जनविद्रोह
नेपाली राजनीतिमा स्थापित एउटा भाष्य छ, ‘ढाडमा टेकेर टाउकोमा हान्ने !’ भारतीय राजनीतिमा नरेन्द्र मोदी त्यही भाष्यको अनुकरणतर्फ तल्लीन हुँदा विगतको तुलनामा क्षति व्यहोर्नु परेको छ ।
भारतको धार्मिक अतिवादी समूह राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को पृष्ठभूमिबाट नरेन्द्र मोदी राष्ट्रिय राजनीतिमा हावी भएका हुन् । भारतीय जनता पार्टीलाई आरएसएसकै खुला मोर्चा मानिन्छ । त्यसका मुख्य नेता लालकृष्ण आडबानीलाई पन्छाउँदै अगाडि बढेका मोदी अहिले उनलाई पन्छाउने गरी अमित शाह हावी भइरहेका छन् । त्यसैले आरएसएसको ढाडमा टेकेर आडबानीको टाउकोमा प्रहार गर्दै हासिल गरेको जनमत अहिले खस्किँदो अवस्थामा पुगेको हो । त्यसरी नै, जसरी नेपालमा सशस्त्र द्वन्द्वकालीन समयको उत्तराद्र्धमा माओवादीले अवलम्बन गरेको उक्त नीति ०६२/६३ को जनआन्दोलन सफलताको कडी पनि बन्यो ।
तर, पछिल्ला घटनाक्रममा त्यही नीति काम लाग्न छाडेको छ । ०६४ को संविधानसभामा प्राप्त जनमत ०७० सम्म पनि टिक्न सकेन । मोदीले १० वर्षअघि अभूतपूर्व जनमत हासिल गरे । प्रतिस्पर्धी कंग्रेस आई करिव करिव घाटमा पुगेजस्तै भयो । तर, आरएसएस पृष्ठभूमिलाई बिर्सिंदै आफ्नो सफलतालाई ‘परमात्माको वरदान’ भन्ने ठाउँमा पुगेपछि जनताले उक्त ‘अति’ लाई पहिलाजसरी नै अनुमोदन गरिदिएनन् । र, घाटमा पुग्न लागेको कंग्रेस आई यसपटकको निर्वाचनमा राम्रैसँग तंग्रिएर आयो । संसद एकल बहुमतको रहेन ।
१० वर्षको दौरान मोदीहरूले आफूलाई सर्वाधिकारसम्पन्न मात्रै बनाएनन्, पार्टीको सम्पूर्ण बागडोर आफ्नो अधिनमा ल्याए । मातृ दल आरएसएसलाई ध्वस्त बनाउँदै भाजपालाई मात्रै प्रमुखता दिने काम गरे । अहिले पनि आरएसएसको पुरानो मान्यताअनुसार हिँडेका लालकृष्ण आडबानी, उमा भारतीसहित आदित्यनाथ योगीजीहरूको एउटा समूह त्यहाँभित्र देखिन्छ । त्यहीँभित्र मोदी, अमित शाहहरूले खडा गरेको नयाँ समूह बलियो हुँदा नयाँ–नयाँ ‘चैते’ लाई भित्र्याउने काम भएको प्रष्ट छ ।
जस्तोः, मध्यप्रदेशबाट कंग्रेस आईका ज्योतिराधित्य सिन्धियालाई ल्याइयो । उनले मध्यप्रदेशबाट ९ लाख १९ हजार ५ सय १५ मतका साथ चुनाव जित्दा कंग्रेस आईका यादवेन्द्र सिंहलाई ३ लाख ८० हजारतिरै छाडिदिए । राजस्थान र मध्यप्रदेशमा पनि त्यही रणनीति अवलम्बन गरे । पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीका निकट सहयोगी सुभेन्दु अधिकारीलाई मोदीले आफ्नो साथमा लिए । उनी नामुद भ्रष्टाचारी मानिन्थे । यस्तो कार्यशैलीका कारण आरएसएसको परम्परागत भित्रिया समूहबाट प्रभावित हुने मत भाजपाले गुमायो ।
यसपालिको चुनाव अभियानमा हिन्दू–मुसलमानबीच विष भर्ने काम ज्यादा भयो । त्यसक्रममा बढी हिन्दूत्वको प्रचार भयो । भारतमा ६०–६५ प्रतिशत हिन्दूहरूको बाहुल्यता रहेको छ । उनीहरूले ५० प्रतिशत हिन्दूहरूले साथ दिए भने सीधै चुनाव जितिन्छ भन्ने सोचे । यसमा लगभग सफल भएको पनि मान्नुपर्छ । झण्डै ४० प्रतिशत मत हिन्दूबाटै पाएका छन् । बाँकी १०–१२ प्रतिशतले साथ दिएनन् । अयोध्यामा मोदीले नै राम मन्दिर बनाए । तर, त्यहीँबाट हार खानुपर्यो ।
किनभने, कंग्रेस आईले किसानको एजेण्डा उठाइदियो । जनतालाई धर्मभन्दा गाँसको महत्व बढी हुन्छ । हिन्दूको कुरामात्रै गर्दा मुस्लिमको साथ त भाजपाले पाएन नै, अन्य आदिवासी, जनजातिको पनि मत आएन । बिजेपीले फेरि जिते आरक्षण हटाउँछ भनेर विपक्षीहरुले बलियोसँग प्रचारप्रसार गरे, यसकारण दलित, आदिवासी, जनजाति समुदाय भाजपासँग भड्किए । किसान समुदायमा अत्यधिक जनजाति छन्, उनीहरू पनि नराम्रोसँग चिढिए ।
उत्तर प्रदेशमा यसचोटि भाजपाको माहोल नराम्रोसँग बिग्रियो । चुनावको मुखैमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई थुनियो । उनी जेलबाट निस्कनासाथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हटाइने भए भन्ने हल्ला चलिदिँदा त्यहाँका राजपुत र ठकुरीहरू नराम्ररी भड्किए । अमित शाह त्यहीँका बासिन्दा हुन् । अब त्यहाँ विस्तारै विस्तारै योगी आदित्यनाथ विस्थापित हुँदै जाने सम्भावना रहन्छ । त्यहाँ लालकृष्ण आडबानीहरूको पकड छ । अमित शाहले पार्टीभित्र बढाएको पकडले पनि त्यही संकेत गर्दैछ ।
मोदी पहिलाजस्तो एकल सरकारको प्रधानमन्त्री हैनन् । मोदीले नै चलाए पनि यो सरकार दुई वर्षभन्दा जाने देखिँदैन । त्यसैले सत्ताको बागडोर अमित शाहलाई दिनुपर्ने अवस्था आउन सक्छ । अहिलेको गठबन्धनका सबभन्दा ठूला खेलाडी चन्द्रबाबु नायडु हुन् । आन्ध्रप्रदेशबाट चुनाव जितेका उनले सभामुखको भूमिका माग्ने सम्भावना छ । सभामुख भएपछि पार्टी तोडफोड गर्नेदेखि अनेकन काम गर्न सकिने कारण उक्त भूमिका खोज्ने सम्भावना भएको हो । त्यससँगै शिक्षा मन्त्रालयमा पनि दावी हुन सक्छ ।
किनभने, १० वर्षको अवधीमा शिक्षा मन्त्रालयअन्तर्गत सरकारी विश्वविद्यालयका उपकुलपति आरएसएसले बनाएका मान्छे छन् । त्यहीँबाट आरएसएसले संगठन र पैसा दुबै आर्जन गरेको मानिन्छ । अहिले नायडुको आँखा त्यसमा लागेको छ । उनी पहिला कंग्रेस आई गठबन्धनमा थिए, पछिमात्र भाजपा नेतृत्वको एनडिए गठबन्धनमा लागेका हुन् । बिहारका नितिशकुमार र उनको चरित्र उस्तै छ, दलबदलु र आक्रामक । यसरी भारतमा एकखालको अस्थिरता शुरु भइसकेको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू