विद्यालाई पार्टीमा नल्याउँदाका अप्ठ्यारा

विद्यालाई पार्टीमा नल्याउँदाका अप्ठ्यारा

के पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किने तयारी हो ? यसबारे विभिन्न कोणबाट चर्चा चलिरहेका छन् ।

पार्टी विभाजित अवस्थामा छ । थुप्रै नेता, कार्यकर्ता लाखापाखा लाग्नाले क्षति भएको शक्ति आर्जन गर्नुपर्ने कार्यभार नेतृत्वसँग छ । त्यसैले विद्यालाई पार्टी राजनीतिमा ल्याउने कि नल्याउने भन्ने कुरा पनि अध्यक्ष ओलीको समर्थन वा विरोधमै निर्भर रहेको एमाले नेता बताउँछन् ।

विद्या पनि विपरीत बाटोबाट नहिँडी ओलीको साथ र सहयोगमै पार्टी काममा सक्रिय हुने चाहनामा रहनुभएको उहाँ निकट नेताहरूको भनाइ छ । र, पार्टीले गुमाएको शक्ति आर्जन गर्ने सन्दर्भमा दुई किसिमका अभ्यासबारे चर्चा छ । एउटा हो, माधव–झलनाथलाई फर्काउने र अर्को हो, माओवादी केन्द्रसँग एकता गरी उक्त शक्तिलाई एमालेमा रुपान्तरण गर्ने ।

गुमेको शक्ति आर्जन गर्ने नाममा माधव–झलनाथहरूसँग धेरै खुशामद नगर्ने पक्षमा अध्यक्ष ओली देखिनुहुन्छ । विद्याचाहिँ उक्त पक्षलाई पनि समेट्ने उपायको खोजीमा रहेको बुझिन्छ । ओलीले माधवबाहेक उहाँको पार्टीबाट आउनेलाई भनेजस्तो भूमिका र जिम्मेवारीको ‘अफर’ दिँदै भाषण गरिरहनुभएको छ । तर, विगतमा माधवको साथ छाडेर एमालेमा फर्किनेहरूको हविगत देखेर कतिपय नेता, कार्यकर्ता ओलीको भनाइप्रति विश्वस्त छैनन् । विष्णु पौडेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विनोद ढकालहरू विद्यापक्षीय खास नेता हुन् । यदि माधव, झलनाथसहितको एकता सम्भव भएन भने पनि माओवादी केन्द्रसँग एकता गर्ने अर्को तयारी छ ।

त्यसअनुसार, विद्या पार्टी अध्यक्ष बन्ने, तर चुनावमा नउठ्ने । ओलीले अध्यक्ष छोडेर सर्वमान्य नेता हुने, चुनावमा उठ्ने र आगामी प्रधानमन्त्री बन्ने । प्रचण्डलाई राष्ट्रपतिका रुपमा अगाडि सार्ने । यदि प्रचण्डसँगै माधव–झलनाथहरू पनि एकतामा जाने अवस्था भयो भने एक जनाको हकमा राष्ट्रपति सुनिश्चित गर्दै बाँकीका हकमा आलोपालो प्रधानमन्त्रीको अभ्यासमा जान सकिने कतिपय नेताको सुझाव छ । 

प्रचण्ड अर्को संकटमा हुनुहुन्छ । वर्षमान पुनपक्षीय नेतृत्व पार्टी र सरकारमा हावी भएको छ । जनार्दन शर्मा पक्ष असहयोगी भूमिकामा प्रस्तुत हुन थालेको छ । पूर्वजनमोर्चा पक्षले त्यति सहयोगी भूमिका खेलेको छैन । त्यसैले उहाँ माधव–झलनाथहरूको साथ लिन सक्रिय हुनुुहुन्छ । एमालेसँग एकता वा सहकार्यमा जाँदा पनि उक्त पक्षबिना जानुहुँदैन भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । तर, माधव–झलनाथसहितको सहकार्यका निम्ति ओलीमा यथेष्ट उदारता पाइँदैन ।

अहिलेको सरकारमा पनि पार्टीको उपस्थिति केवल प्रचण्डको मुख हेरेर कायम राखिएको माधव पक्षको भनाइ छ । नत्र, पार्टीभित्र एमालेसहितको सरकारमा बस्नुलाई अनैतिक काम भनिँदासम्म उहाँहरूले प्रचण्डको साथ नछोड्नुभएको हो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू