बालुवाटारमा मन्त्रीको अनेक विकल्प
अर्थमन्त्री कसलाई बनाउने भन्नेमा बालुवाटार अझै टुङ्गोमा पुगेको छैन । मन्त्रीमण्डल पुनर्गठनको फर्मुला नयाँ थपिनेभन्दा पनि को को हट्ने भन्नेबाट शुरु हुन थालेको छ ।
सम्भावित देखिएका सुरेन्द्र पाण्डेप्रति बालुवाटारले अहिलेसम्म मुख खोलेको छैन । चितवनको भेगीय नाताले सुरेन्द्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निकटता हुनसक्ने भयले बालुवाटारलाई गाँजेको छ । बरु ‘अड्को पड्को तेलको धुप’ भन्दै महासचिव विष्णु पौडेललाई नै अघि सार्ने सम्भावना बढेको बताइन्छ ।
बालुवाटारभित्रैका एकथरिले मन्त्रीमण्डल सामान्य ढङ्गले मात्र पुनर्गठन भएको अवस्थामा रक्षामन्त्री ईश्वर पोखरेलको सम्भावना अर्थ र सञ्चारमध्ये एउटामा प्रवल भएको बताउँछन् । उनीहरूका अनुसार आफूले भनेजस्तो र मनले खाएको मान्छे नपाएपछि अहिलेसम्म राम्रैसँग काँध हालेको भन्दै प्रधानमन्त्रीले पोखरेललाई नै बनाउनसक्ने सम्भावना ज्यूँदै छ ।
विष्णु पौडेल पनि नहुने, सुरेन्द्रको नामै नलिने र नयाँबाट अरु कसैलाई नपत्याउने हो भने मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने क्रममा ईश्वरलाई नै अर्थको जिम्मेवारी नपर्ला भन्न पनि सकिँदैन ।
उता, ऊर्जामन्त्री वर्षमान पुनलाई प्रधानमन्त्री स्वयमले मन्त्रीमण्डलमा रहेर हिजोका दिनमाझैँ भोलिका दिनमा पनि सहयोग गर्नुपर्ने आशय राखेको बताइन्छ । प्रधानमन्त्रीले पुनलाई सुनाउनुभएको वाक्य उद्धृत गर्दै स्रोतले भन्यो ‘मन्त्रीमण्डल भनेको त्यत्तिकै देखाउने साधन मात्र होइन । प्रभावकारी र क्षमतावान व्यक्तिहरू अनिवार्य हुनैपर्छ । तपाईंजत्तिको मन्त्री आगामी दिनमा पनि रहनुपर्छ ।’
प्रधानमन्त्रीले आवश्यकताअनुसार अर्का अध्यक्षसँग सोझै कुरा राखेर निश्कर्षमा पुर्याउने हैसियतका पुनलाई सेतुको भूमिका निर्वाह गर्ने आशमा त्यस्तो अफर वा सङ्केत गरेको बताइन्छ ।
बादलले गृहमन्त्रीमा निरन्तरता पाउने लगभग निश्चित छ । पूर्व एमाओवादीभित्रको आन्तरिक राजनीतिका कारण बादलले छाडेर जनार्दन शर्मा गृहमन्त्री बनेको एकथरि हेर्न पनि चाहँदैनन् । त्यहि आन्तरिक राजनीतिले बादललाई गृहमन्त्रीमा निरन्तरता दिने सम्भावना बलियो बनाएको हो ।
गत सातासम्म काठमाडौंको राजनीतिमा प्रत्यक्ष सहभागी हुने इच्छा देखाएको भनिएका नेकपा स्थायी समिति सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चालु कार्यकाल आफू बुटवलमै बस्ने बताएका छन् । शनिबार प्रधानमन्त्रीसँगको भेटमा पोखरेलले ‘म आउन्नँ कमरेड अहिले । किनभने प्रदेशको नाम र राजधानी तोक्न बाँकी छ । यस्तो बेलामा म यता आउँदिन’ भन्नुभएको स्रोतको दाबी छ ।
टिप्पणीहरू