बेलायती संस्था बाहिरिएपछि अस्पतालमा अलमल

बेलायती संस्था बाहिरिएपछि अस्पतालमा अलमल

– यदुनाथ बन्जारा

देशकै ठूला सरकारी हस्पिटलभित्र गनिने पश्चिमाञ्चल क्षेत्रीय हस्पिटल पोखरालाई बेलायत सरकार (डिएफआइडी) ले दिएको आर्थिक तथा प्राविधिक सहयोग रोकिएपछि निर्माण अलपत्र हुन पुगेको छ । बेलायत सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रेट्रोफिटिङको लागि भन्दै करिब ७५ करोड रूपैयाँको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएपछि टेण्डरमार्फत ०७७/०३/२९ गते बिकोइ रौताहा पि के जेभीमार्फत २५ प्रतिशत घटी भ्याट र कन्टेन्जेन्सीबाहेक ५४ करोड १ लाख९७ हजार ६ सय १३ रूपैयाँमा कार्यादेश अघि बढेको थियो । 

२ वर्षभित्र काम सक्ने गरी दिइएको उक्त योजना कोरोनाको दोस्रो भेरिएन्ट्को शिकार भएको बहाना बन्न गई अधुरै रहेपछि दुई वर्ष पुगेको ०७९/०३/२९ गतेबाट लागू हुने गरी १५ महिनाका लागि थप गरिएको थियो । थपिएको मिति २०८०/०७/२७ गतेसम्म पनि अपेक्षित प्रगति हुन नसकेपछि हस्पिटल प्रवलिकरण कार्य नै रोकिन पुगेको छ ।  

हालसम्म अस्पतालको भौतिक प्रगति ७० प्रतिशतवरिपरि पुगेको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय पोखराले दाबी गरेको छ । निर्माण सहयोगदाता बेलायत सरकारले आफूले दिएको सहयोग रकम ठाउँको ठाउँ रोकेर योजनाबाट हात झिकेपछि पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलको ३० प्रतिशत काम अलपत्र भएको छ । ठेकेदार कम्पनीले समयमा काम नसक्दा राज्यले पाएको सुविधा गुम्न पुगेको हो । दैनिक सयाैँ जनाले स्वास्थ्य सेवा जीर्ण भवनबाटै लिनुपर्ने भएको छ । 

विदेशी दाताले सहयोगको हात रोके पनि जारी योजना पूरा गर्न नेपाल सरकार अक्षम देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट सुनिश्चित गरेर योजना पूरा गर्नु त कहाँ हो कहाँ सम्झौता भएका तर काम शुरु नभएका योजना अघि नबढाउन सहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य भवन शाखा बबरमहललाई निर्देशनात्मक पत्राचार गरेको पाइएको छ । मन्त्रालयद्वारा जारी रहेको रेट्रोफिटिङ कार्य सक्नु र भवन हस्तान्तरण गर्नु, शुरु नगरेका कामको म्याद थप नगर्नु र कार्य स्थगित गर्नु भन्ने निर्देशनात्मक आदेशले ३० प्रतिशत निर्माण अलपत्र परेका छन् । आजसम्मको भौतिक प्रगति ७० प्रतिशत भए पनि वित्तीय प्रगति करिव ६५ प्रतिशत मात्र भएको इकाइको तर्फबाट खटिएका साइट इञ्जिनियर वीरबल सुनारले बताए । 

धर्मराज दाहालसमेतको बिकोइ रौताहा पि के जे भि नामक निर्माण कम्पनीले १५ महिना म्याद थप गर्दासमेत योजना सम्पन्न गर्न नसक्दा अस्पतालको अत्यावश्यक र महत्वपूर्ण संरचना निर्माण नहुने निश्चित भएको छ । अस्पतालको डेन्टल ब्लक, सिटी स्क्यान, एक्सरे र इसिजी ब्लकको रेट्रोफिटिङ नहुने भएको हो । यस्तै लिंक करिडोर, ¥याम्प पनि नबन्ने भएका छन् । यी सबै कार्यको भौतिक भार ३० प्रतिशत रहेको इञ्जिनियर वीरबल सुनारले बताए । 

प्रसूति भवन, मेडिकल ब्लक, ओपिडी ब्लक, क्याफ्टेरिया ब्लक, प्रयोगशाला ब्लक, बच्चा वार्ड ब्लक, फार्मेसी ब्लक, ओसिएमसी सिओएमसी ब्लक, जनरल किचन, आमा किचन ब्लकको रेट्रोफिटिङ कार्य सम्पन्न गरी हस्तान्तरणको तयारी हुँदैछ । 

 निर्माण कम्पनी बिकोइ रौताहा पिके जेभिका प्रबन्ध निर्देशक धर्मराज दाहालसँग प्रतिक्रिया लिन खोज्दा मोबाइल उठेन । नेपालमा यो एउटा नमुना मात्र हो, अधिकांश ठेक्का अलपत्र छन् । पटकपटक म्याद थप्दा पनि भौतिक प्रगति हुन नसकेको अवस्था छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू