उता मोदीका कुरा, यता ओलीका कुरा
समय बेलुकीपख, नेकपाको शासनकाल, स्थान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जब–जब बेलुकीपख टेलिभिजन च्यानलमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संसदमा सम्बोधन गरेको, कुनै ठूलो सभा समारोहमा मन्तव्य/विचार प्रकट गर्न लागेको जानकारी पाउनेबित्तिकै चल्दाचल्दैको जस्तोसुकै महत्वपूर्ण बैठक छोडेर केपी शर्मा ओली खुर्रर बेडरूमतिर उक्लनुहुन्थ्यो र मोदीको भाषण ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो । त्यसबीच मोदीका कुनै पनि भाषण छुटाउनु भएन ।
ओलीमा मोदीको यतिसम्म भाषणप्रेम देखेर गोकुल बाँस्कोटा, प्रदीप ज्ञवाली, राजेश बज्राचार्य, विष्णु रिमाललगायत अत्यन्तै निकट सहयोगीहरु छक्क पर्थे । मोदीले त केही बोल्नै हुन्न, उनको वक्तृत्व, तर्क, कला, हाउभाउ सबैमा बूढा किन फिदा भएका होलान् भन्थे । त्यस्ता जोगीले गुजरातमा २ कार्यकाल मुख्यमन्त्री र विश्वकै सबैभन्दा बढी जनसंख्या भएको र पुरानो लोकतान्त्रिक मुलुकको दुई कार्यकाल प्रधानमन्त्री बन्ने क्षमता कसरी हुर्काए ? भन्नेमै ओलीको ध्यान केन्द्रित भएको देखिन्थ्यो । मोदीकै सिको गर्दै पार्टीको सम्मेलन, महाधिवेशन र सबै तह–तप्कामा एक्लो क्रेडिट लिने सूचना पाटी होस् वा होर्डिङ बोर्ड, ब्यानर वा पर्चा पम्पलेटलगायत सारा प्रचार सामग्रीमा एक्लैै छाउन थाल्नुभयो । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितहरू होइन, जताततै एकल फोटो प्रदर्शनी र ‘आई लभ यू केपी बा’ भनाउने रिती बसालियो ।
कुनै पनि काम गर्दा सफलता र असफलता त हुन्छ नै ! सफल हुँदा सबैले वाहवाह गर्छन् ! आज भारतीय जनता पार्टी ठूलो दल बने पनि संसदमा बहुमत ल्याउन असफल भएको अर्थात् ओरालो लाग्दै गएको घामजत्तिकै सत्य कुरा हो । सिट मात्रै होइन लोकप्रिय मतको हिसाबले पनि प्रधानमन्त्री मोदी कमजोर बन्दै गइरहेको नतिजाले देखाउँछ । यो नतिजा आएपछि आलोचकले भन्न शुरु गरेका छन् कि मोदीले ‘व्यक्तिगत ब्रान्डिङ’ बाहेक अरु कुरामा ध्यान दिएनन् । चुनावताका न उनले नेशनल डेमोक्र्याटिक एलायन्स (एनडिए)को नाम लिए, न त आफ्नो पार्टीको वरिष्ठ र सम्मानित व्यक्तित्वका रूपमा रहेका स्व. अटलबिहारी वाजपेयी, लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायत नेताको नाम उच्चारण गरे ।
लोकसभाको सबैभन्दा बढी ८० सिट भएको उत्तर प्रदेशका १८ स्थानमा उपस्थित भई भाषण दिए तर कतै पनि त्यहीका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो आफूसँगै पोस्टर, होर्डिङ बोर्ड र ब्यानरमा राख्न अनुमतिसमेत दिएनन् । मोदीको पक्ष केपी ओलीले सिक्नुभयो । तर मोदीको अर्को पक्ष भने ग्रहण गरेको पाइएन । मोदीले पार्टीभित्र आफू सानो जिम्मेवारीमा रहेर पनि भाजपाको अध्यक्ष जेपी नड्डो, पूर्वअध्यक्षहरू अमित शाह, नितिन गडकरी र राजनाथ सिंहहरूलाई गृह तथा रक्षामन्त्री बनाएर राखेका छन् । त्यहाँ खासै उपप्रधानमन्त्री बनाउनै पर्ने नौटंकी मञ्चन पनि हुँदैन ।
तर, हामीकहाँ त ओलीले नै उपप्रधानमन्त्री छ जनासम्म पुर्याउनुभयो । खै त मोदीका राम्रा पक्षको अनुशरण गरेको ? नेपालमा शेखर कोइरालाको नेतृत्वमा पार्टी सभापति देउवा मन्त्री बन्न सक्छन् ? के शंकर पोखरेलको नेतृत्वमा के.पी. शर्मा ओली उपप्रधानमन्त्री बन्न तयार हुनुहुन्छ ? जनार्दन शर्माको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्डले मन्त्री खानुहुन्छ ? अथवा स्वर्णिम वाग्लेको नेतृत्वमा रवि लामिछाने क्याबिनेटमा बस्न राजी होलान् ? यी यस्ता विषय हुन् जसले हाम्रो दम्भी राजनीतिलाई छोप्दाछोप्दै उदांगो बनाउँछ । इजरायल र जापानमा त पूर्वप्रधानमन्त्रीहरूले देशका लागि मन्त्रीकै कार्यभार स्वीकारेर राजनीतिको सफा र स्वच्छ पाटो देखाएको उदाहरण छ । तर, हाम्रो नेपालमा भने बिल्कुलै फरक अवस्था देखिन्छ ।
गठबन्धन संस्कृतिलाई आपूm अनुकूल व्याख्या गर्ने, घरि गाली त घरी प्रशंसा गर्ने, आपूmले गरेको गठबन्धनबाहेक अन्य गठबन्धनलाई ठगबन्धन भन्नेजस्तो कुतर्कका बाढी ल्याइन्छन् । उता भारतका मुख्य सत्ताधारी ३ घटकमध्ये चन्द्रबाबु नायडु नेतृत्वको टिडिपीले १६ सिट हुँदा पनि १ मन्त्री र १ राज्यमन्त्री, १२ सीटे नितिशकुमार नेतृत्वको जेडियूले एक मन्त्री र १ राज्यमन्त्री पाएको छ । यहाँ भने भाग पुर्याउन मन्त्रालय फुटाइन्छ ।
यसबीच मोदीले आफ्नो पार्टीको संसदीय बोर्ड बैठक डाकेर दलको नेता नबनी पुरानै बानीअनुरूप एनडिए गठबन्धनबाट आफूलाई निर्विकल्प नेता घोषणा गराए । मोदीमाथि विरोधीलाई मासेको, भ्रष्टाचार काण्डमा फसाएकोलगायत अनेकन काण्ड मच्चाएर लोकतन्त्रको घाँटी निमोठेको आरोप लाग्ने गरेको छ । दिल्लीका अरविन्द केजरीवाल, झारखण्डका शिबु सोरेनविरुद्ध मोदीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, गुप्तचर विभागलाई आफू मातहत लगेर प्रतिशोध साँधेजस्तै ओलीले प्रयोग गर्नुभएकै हो । आपूmखुशी विजय गच्छदारकी रोजाइकी शर्मिला पराजुली ढकाललाई राजदूतमा निरन्तरता, युवराज खतिवडालाई मन्त्रीदेखि राजदूतसम्म पटक–पटक नियुक्ति, अञ्जान शाक्यको अनेकौं पदस्थापन प्रसंग उहाँको कमलो मन बुझ्न काफी हुने यी सामान्य उदाहरण मात्रै हुन् । खुशी पर्दा आफ्नो गोजीबाट दिइने बक्सिसजस्तो पदहरू बाँडिएकै हो । यस्तैयस्तै कारण असन्तुष्टि बढेपछि नेकपा माटोको फाँडो फुटेजस्तै तीन टुक्रामा विभाजित हुन पुगेको हो ।
जब कम्युनिष्ट पार्टीको आदर्श, चिन्तन, भावभन्दा बाहिर गई एक व्यक्तिमा सारा कुरा केन्द्रित हुन्छ, सिद्धान्तभन्दा व्यक्तिलाई ठूलो सावित गर्न खोजिन्छ त्यसले समस्या सिर्जना गर्छ भन्ने कुरा मोदीको असफल ब्रान्डिङले प्रमाणित गरेको छ । मोदीले हिन्दू–मुस्लिमबीच फाटो ल्याउने, दलितलाई झनै दलित बनाउने नीति लिएजस्तै ओलीले एकमात्र हिन्दू राष्ट्रको वकालत गर्ने राजेन्द्र लिङ्देनलाई काँध थापेर हिँडेको, कम्युनिष्टभन्दा बिल्कुलै फरक चिन्तनका कमल थापालाई हो । कम्युनिष्ट विचारको भएर पनि मोदीको विपक्षमा चितवनको ठोरीमा अयोध्या नगरी अर्थात् रामजन्मभूमि खडा गर्दै साम्प्रादायिक तथा धार्मिक विवादमा मुछिनुभएकै हो । यस्ता कुरामा नेतृत्व च्यापेकै पथभ्रष्ट हुनु हुँदैन ।
नेतृत्वले धरातलीय यथार्थ जान्न कोसिस गरेन भने के नतिजा प्राप्त हुन्छ भन्ने कुरा अहिलेको ‘अब की बार ४०० पार’ कैं नतिजा हेरे काफी हुन्छ । नचेत्ने, नसिक्ने हो भने मिशन ८४ टाढा होला तर यसले सकारात्मक परिणाम ल्याउँदैन । आफू र पार्टी जतिसुकै बदनाम भए पनि सहकारीलगायत कैयौं ठगी प्रकरणमा मुछिएका अन्य पार्टीका नेताको प्रतिरक्षामा अरुमाथि जाइलाग्ने अवस्थाले कार्यकर्ता र जनताको पंक्तिमा पारेको असरको हिसाव ग्राफिक्स मार्फत् कसले निकाल्ने ?
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू