बद्री पंगेनीको गीतमा किन उठ्यो विवाद ?

बद्री पंगेनीको गीतमा किन उठ्यो विवाद ?

‘मैं पनि एमाले,सै पनि एमाले’ बोलको चुनावी गीत गाएर झन धेरै चर्चामा आएका लोकगायक बद्री पंगेनी विवादमा तानिएका छन् । शिक्षकहरुको मानमर्दन गर्दै गीतमा भिडियो खिचिएको भन्दै शिक्षकसम्बद्ध संघ–संगठनले आपत्ति जनाएपछि उनी विवादमा परेका हुन् । 

गायक पंगेनीसहित १० जनाको स्वर रहेको ‘बसे है पालेदाइ’ बोलको गीत चार दिनअघि युट्युबमा सार्वजनिक भएको थियो । उक्त गीतको भिडियोमा स्कूललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुले गीतमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । 

विद्यालयजस्तो पवित्र स्थानमा माया प्रेमको गीतको भिडियो छायांकन गरिएको भन्दै ती संघ–संगठनहरुले प्रतिबन्धको माग गरेका हुन् । गीतमा राखिएका टुक्काहरुले शिक्षकहरुको अपमान गरेको,भिडियोमा शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रुपमा चित्रण गरिएकोलगायत कतिपय अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट गरेको शिक्षक संगठनको दाबी छ । 

‘विद्यालयजस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन्’,शिक्षक संगठनले विज्ञप्ति निकालेर भनेको छ, ‘शिक्षकहरुलाई अपमानित हुनेगरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन,विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रुपमा चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।’
युट्युबबाट गीत नहटाए कलाकारलाई बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । 

गीतमा पंगेनी,चोलेन्द्र पौडेल,माया गुरुङ,सुमन परियार,रवि कार्की,श्याम राना,बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला,अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ । विद्यालयभित्र छायांकन गरिएको र विष्णु शर्माको निर्देशन रहेको भिडियोमा मोडल करिष्मा ढकाल र विजय पुनलगायत नाचेका छन् ।

टिप्पणीहरू