बालकोटमा गुनासो, धुलिखेलमा सनासो

बालकोटमा गुनासो, धुलिखेलमा सनासो

एमाले काभ्रेको ११ औँ जिल्ला अधिवेशन शुरुदेखि नै रोचक र घोचक रह्यो । उपत्यकासँग जोडिएको जिल्ला भएर पनि केन्द्रले गरेको परिपत्रअनुसार जेठ अन्तिममा मात्रै अधिवेशन गर्ने निर्णय थियो । जिल्लाका चर्चित नेता, पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटालाई छिमेकी जिल्ला सिन्धुपाल्चोकको इञ्चार्ज बनाए पनि उनको हैसियत जिल्लामा खासै थिएन । पोलिटब्युरो सदस्य कृष्ण राई काभ्रेका इञ्चार्ज थिए । उनी पनि नाम मात्रको इञ्चार्ज भन्दै चर्काे आलोचना थियो । बाँस्कोटाको निर्देशन र सहमतिबिना न जिल्लामा बैठक राख्न सक्थे न कुनै कार्यक्रम । जिल्ला अधिवेशनको मिति घोषणा पनि आफ्नो योजनामा गर्न पाएनन् । त्यसो त राईले चुवाभञ्ज्याङ–झुलाघाट अभियानका दौरान काभ्रेको सभामा पनि बोल्न पाएनन् । बरु बाँस्कोटा बोले । राई छायाँ इञ्चार्जजस्तै देखिएको भन्दै आलोचना भएको थियो । 

पार्टी भर्खर फुटेको, मन्त्री पदबाट पनि भर्खर बाहिरिनुपरेको, ७० करोडको आरोप लागेको । शक्ति देखाउनु नै थियो । बाँस्कोटाले १० औं जिल्ला अधिवेशनमा उपाध्यक्षसमेत रहेका अशोक ब्याञ्जुलाई अध्यक्ष पदमा र माओवादी केन्द्रबाट आएकी उपसचिव रिता ढकाल धरिनालाई सर्वसम्मत बनाए । तर, उपाध्यक्ष पदमा निकट भनिएका कञ्चन अधिकारी, हरिशरण दाहाललाई चन्द्र लामासँग प्रतिस्पर्धा गराएर पछारिदिए । जतिबेला चन्द्र लामा उपाध्यक्ष भए त्यतिबेलादेखि अध्यक्षको तयारी थाले । फरक समूहबाट अध्यक्षको तयारी गरेकै कारण उनलाई जसरी पनि रोक्न बाँस्कोटा मरेरै लागे । प्रतिनिधि छनौट देखि अन्य तयारीमा उक्त पक्षलाई रोके । चन्द्र लामाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन लिएर आएका थिए । उद्घाटन सत्रमा आउनै नखोजेका ओलीलाई जबर्जस्ती त्यही समूहले बोलायो । ओली पनि के कम, बाँस्कोटाको अनुहार नहेरी, नाम नलिइकन भक्कुमार गाली गरे । अन्ततः लामा समूह हौसियो । ६ सय ५० प्रतिनिधिमध्ये १ सय २५ मात्रै लामा समूहका छन् भन्ने आँकडालाई अधिवेशन सकिँदासम्म २ सय ९९ पुर्‍यायो । 

कांग्रेस सभापति तथा सुन प्रकरणमा मुछिएका र उनै चन्द्र लामालाई तीन मतले प्रदेशतर्फ हराएका तीर्थ लामाले समेत यसचोटि खुलेरै मत मागे । कतिसम्म भने कांग्रेसबाट विजयी वडा सदस्यहरूले एमाले प्रतिनिधिलाई फोन गरेर चन्द्र लामालाई मत खसालेको प्रमाण फोटो खिची ल्याउन आग्रह गरेको समेत पाइयो । कांग्रेसी कार्यकर्ता चन्द्र लामाको फोटो झुण्डाएर भोट माग्न थाले । झण्डै जितेको परिस्थितिलाई लामा समूहका नेता–कार्यकर्ताले साथ दिएनन् । ओलीले गाली गरेपछि काठमाडौँबाट बन्द सत्रका लागि काभ्रे नै नगएका बाँस्कोटाले जसरी पनि पदाधिकारी बनाउन खोजेका रिता ढकाललाई आउट गराएर टिम बनाए । र, आफ्नो टिमका सबैलाई जिताए । तर, सचिव हरिकुमार मैनाली र शान्ता न्यौपाने विद्रोह गरी टिमबाट बाहिरिए । उता सूचनाका लागि पठाउने गरिएका आत्माराम थापा र होम चौलागाईं नै लामा समूहबाट उठे । हुनतः बाँस्कोटाले चाहेको उपाध्यक्ष तथा सचिवमध्ये एक पदमा रिता ढकाल नै थिइन् । उनलाई च्यापेको, लिफ्ट धेरै दिएको विषयमा जिल्लाका धेरैजसो प्रतिनिधि रुष्ट थिए ।

गोकुल बाँस्कोटाले ज्यादती गरेको भन्दै अध्यक्ष ओलीसामु पटक–पटक जिल्लाका महिला, पुरुष नेता डेलिगेशन गएर उजुरी गरेका थिए । त्यही उजुरीका आधारमा अध्यक्ष ओलीले काभ्रे पुगेर बाँस्कोटाको सातो टिपेका हुन् । ओलीले सात्तो लिएपछि बन्द सत्र अवधिभर उनी काभ्रेमा पाइला नै टेकेनन् । ‘राता आँखेको संज्ञा दिँदै अध्यक्ष ओलीले जिल्लाको नेतृत्वमा हस्तक्षेप नगर्न निर्देशन दिए’–एक नेताले भने–‘ओलीको निर्देशनपछि बाँस्कोटाको सात्तो गयो र जिल्ला आएनन् ।’ अधिवेशनबाट बाँस्कोटा समूहबाटै उम्मेदवार बनेका राजन भुर्तेल अध्यक्ष, देवसागर लामा उपाध्यक्ष, राजकुमार सापकोटा सचिव र रत्नकुश रञ्जितकार तथा सूर्यमाया दनुवार उपसचिव निर्वाचित भएका छन् ।

दलित महिलातर्फकी उम्मेदवार सम्झना परियारले लोकप्रिय मत प्राप्त गरिन् । उनले ६ सय ७९ मत खसेकोमा ५ सय १७ मत पाइन् । दुई जना निर्वाचित हुनुपर्नेमा तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । उनी नेकपा माओवादीबाट एमाले प्रवेश गरेकी हुन् । माओवादीबाट एमाले प्रवेश गरेकाहरू ९ जनाले जित हासिल गरेका छन् । एक जना राप्रपाबाट एमाले प्रवेश गरेकाले विजयी हासिल गरे । उनीहरू सबैले उत्कृष्ट ल्याए । केही निर्विरोध भए । दोस्रो पपुलर मत प्राप्त गर्नेमा मण्डनदेउपुर नगरपालिकाको भूगोलबाट उठेका नवराज ढकाल थिए । उनले ४ सय ७९ मत प्राप्त गरे । तेस्रो लोकप्रिय मत प्राप्त गर्नेमा तेमालका युवा सुरेशकमाुर दोङ हुन् । उनले ४ सय ७८ मत हात पारे । चौथो लोकप्रिय मत पाउने उर्मिला बिकले ४ सय ७४ मत प्राप्त गरिन् ।

सम्झना र उर्मिला एउटै क्लस्टरबाट निर्वाचित भएका हुन् । पाँचौ लोकप्रिय मत उपाध्यक्ष देवसागर लामाले ल्याए । ४४ पदका लागि १ सय १ उम्मेदवार थिए । ६१ निर्विरोध भए । सबैभन्दा कम लालकाजी लामाले ५५ मत प्राप्त गरे । नमोबुद्ध नगरपालिकाबाट युवातर्फका उम्मेदवार थिए उनी । सञ्जीव न्यौपानेले ३ सय ३९ मत ल्याउँदा नमोबुद्धबाट भूगोल र महिलामा सर्वसम्मत भएको थियो । अर्का उम्मेदवार जीवन लामाले ९८ मत प्राप्त गरे । उनी कम मत प्राप्त गर्ने चौथो उम्मेदवार हुन् । दोश्रोमा पदाधिकारीतर्फ उम्मेदवार दिएकी शान्ता न्यौपाने भइन् । उनले ८० मत मात्रै प्राप्त गरिन् । त्यस्तै तेश्रोमा लेखा समितिका सचिव शिखरनाथ बजगाईंले ९५ मत प्राप्त गरे ।

पाँचाैमा भीमसेन बोहोरा भए । उनले १ सय १ मत ल्याए । उनी रोशी गाउँपालिकाबाट युवातर्फका उम्मेदवार थिए । अर्का दुई उम्मेदवारले बराबरी मत पाए । रोशी गाउँपालिकाकै युवातर्फका गोविन्द उप्रेती र मिलनसागर लामाले २ सय ८९ बराबरी मत प्राप्त गरे । बराबरी मत प्राप्त गर्नेमा जनजाति खुल्लातर्फ राम वाईवा तामाङ र घनश्याम लामा (गणेश) छन् । उनीहरूले २ सय ८१ मत ल्याए । गोला प्रथाबाट निर्वाचन घोषणा हुने भएकाले सपथ ग्रहणसम्मलाई उक्त प्रक्रिया स्थगित राखिएको निर्वाचन कमिटीले जानकारी दिएको छ । 
 

टिप्पणीहरू