बालेनलाई ‘समात्ने’ त्यो गोप्य बैठक

बालेनलाई ‘समात्ने’ त्यो गोप्य बैठक

करिब दुई महिनाअघि जनमत पार्टीका अध्यक्ष सिके राउतले निकै ‘गम्भीर’ विषय खुलासा गरे । एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए– प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) र गृहमन्त्री (नारायणकाजी श्रेष्ठ) ले बालेनलाई समात्न खोजेका थिए ।’ 

कान्तिपुर टेलिभिजनको ‘फायर साइड’सँग अन्तर्वार्ताका क्रममा राउतले एउटा गोप्य बैठकमा भएको कुरा कोट्याएका हुन् । प्रधानमन्त्री आफैँले त्यो बैठक डाकेका थिए । त्यसमा सत्तापक्षीय दलका नेताहरू थिए । कांग्रेस र राउतको जनमत पार्टी पनि सरकारमै थियो । बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू अनि गृहमन्त्री श्रेष्ठ थिए । प्रधानमन्त्रीले त्यो प्रस्तावबारे राउतको राय मागे । राउतले हुँदैन भने । अनि देउवाले भनिदिए ‘लोकतन्त्र हो, बोल्न पाइन्छ । बोल्दैमा पक्राउ गर्ने भन्ने हुँदैन । बोलेर के भो, सिंहदरबारमा आगो लगाइदिए त ?’

भदौ दोस्रो सातातिर शनिबार काठमाडौं महानगरका प्रमुख बालेन साहकी श्रीमतीलाई महानगरको गाडीले हिँडाएको थियो । भदौ १६ गते साँझतिर त्यो गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले केरकार गरे । आधाराततिर बालेनले एउटा स्टाटस लेखे ‘आजलाई केही भएन । भोलिदेखि हाम्रो महानगरका कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख, चोर सरकार !’ त्यसपछि नै प्रचण्डले त्यो गोप्य बैठक बोलाएका हुन् । त्यहाँ उनले बालेनलाई ‘ठोक्नैपर्छ’ भन्ने भावमा भनेका थिए, ‘हामी चोर नै हौं त ? पक्राउ त गर्नैपर्छ ।’ तर, राउत र देउवाहरूले मानेनन् । त्यो कुरा त्यहीँ नै सीमित रह्यो ।

उनले बालेनलाई  'ठाेक्नैपर्छ' भन्ने भावमा भनेका थिए , 'हामी चाेर नै हाैँ त ? पक्राउ त गर्नै पर्छ ।' 

राउतको यो खुलासापछि प्रधानमन्त्री प्रचण्ड आफैले त्यही कार्यक्रममार्फत प्रष्टीकरण दिए । ‘मैले पहिला पनि बालेनजीलाई लोकतन्त्रको बगैंचामा फुलेको सुन्दर फूल भनेको थिएँ, अहिले पनि त्यही नै भन्छु,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सिंहदरबार जलाउँछु भनेर लेखेपछि यो त अराजकै भयो भनेर हामीले स्पष्टीकरण लिने कि भन्नेसम्म छलफल गरेका हौं । पक्राउ गर्ने भन्ने कुरै उठेन ।’ 

सिंहदरबारसँग भिडिरहेका बालेन

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिका प्रमुखको अन्तिम चुनावी परिणाम घोषणा हुँदै गर्दा आफ्ना सहयोगी लिएर बालेन साह सिसडोल पुगी त्यहाँका स्थानीयसँग केही वाचा गरिरहेका थिए । काठमाडौं उपत्यकाका लागि सधैंको पिरलो बनिरहेको ‘फोहोर’ व्यवस्थापन बालेनका लागि पनि प्रमुख चुनौती नै हो । जसलाई बेलाबेला अवरोध गर्ने सिसडोलले नै थेग्दै आएको छ । 

फोहोर व्यवस्थापनलाई लिएर बालेनले शुरुदेखि नै सिंहदरबारमाथि कडा अभिव्यक्ति दिँदै आएका छन् । त्यो चुनौती सिंहदरबारसँगको युद्धजस्तै बनेको छ । मेयर भएर आएदेखि अहिलेसम्मै बालेनले लडिरहेको एउटा ‘फोहोर युद्ध’ पनि हो यो । उनले कैयौपटक सिंहदरबारको फोहोर उठाइदिएनन् । धेरैपटक नेताका घरको फोहोर नउठाउने धम्की दिए । केही दिनअघि फोहोरका ट्रक लगेर मन्त्रीका निवासअघि लाइन लगाइदिए । ‘सिंहदरबार’ जलाउने धम्कीदेखि नेताका घरमा फोहोर थुपारिदिनेसम्मका हर्कतहरू त्यसैका परिणाम थिए । अलिकति ‘अराजक’ जस्ता लाग्ने बालेनका यी हर्कतहरूमा भने उनलाई चाहने लाखौं युवाले सरकार अनि नेताहरूमाथिको ‘आक्रोश’ पोख्ने आफ्नै बिम्ब देख्न थाले । यससँगै काठमाडौं ‘बनाउन’ कस्सिएका बालेनका हरेक पाइला राजनीतिक आक्रमणका शिकार बन्न थाले । त्यो भनेको मुख्यतः चुनावी परिणाम नै थियो । 

२०७९ सालको बैशाख अन्तिमतिर सम्पन्न स्थानीय निर्वाचनमा ‘बालेन’ अनि ‘लौरो’ आम युवाका चुनावी बिम्बमात्रै थिएनन्, राजनीतिमा जागेका केही नयाँ आशा र तरंगहरू पनि थिए । पूर्वको धरानमा एक्लै माइक लगाएर चुनावी प्रचारमा जुटेका हर्क साम्पाङ अनि पश्चिमको धनगढीमा शालीन प्रचारमा व्यस्त गोपाल हमालसँगै काठमाडौंमा बालेनको उम्मेदवारीले एक प्रकारको तरंग ल्याएको थियो । नेपाली राजनीतिको एउटा बिरासत धानिरहेको सिंह परिवारबाट काठमाडौंको मेयर हुन मैदानमा उत्रिएका ५९ वर्षीय सिर्जना सिंह र दुई पटक काठमाडौंको मेयर भइसकेका ६३ वर्षका केशव स्थापितलाई निकै पछि छोडेर बालेन काठमाडौंको मेयर बने । हेर्दाहेर्दै ३२ वर्षको युवा ‘र्‍यापर’ अनि इञ्जिनियरिङको एउटा विद्यार्थी ‘केटो’ देशको राजधानी काठमाडौंको मेयर बनिदियो ।

दलहरूलाई बिझेको सबैभन्दा ठूलो ‘ईगो’ भनेको त्यै ‘केटो’ मेयर थियो । काठमाडौंका सुकुम्बासी बस्ती उठाउने निर्णय होस् या सडकपेटीका दुकानहरू हटाउँदा वा यहाँका सार्वजनिक जमिन मिचेर बनाइएका घरटहरा भत्काउँदा नै किन नहोस्, अनि पुरिएका खोलानाला खोस्रिंदा पनि बालेन दलहरूको निशानामा परिरहे । तैपनि, उनले सिंहदरबारसँग ‘वार’ गरिरहे । 

सिंहदरबारमा यिनै दलको हालिमुहाली छ । सारा कर्मचारी र प्रशासनमा यिनीहरूकै भागबण्डा चल्छ । तर, बालेनले एउटै ‘लौरा’को भरमा चुनाव जितेका हुन् । उनीसँग दलहरूको जस्तै झण्डा समाउने कुनै झुण्ड थिएन र अहिले पनि छैन । एउटा तप्काले चाहिँ चुनावी अभियानदेखि मतगणनाका १३ दिनसम्म ‘बालेन–बालेन’ भन्दै राष्ट्रियसभा गृहअघि निरन्तर साथ दिइरह्यो । बालेनको बल भनेको त्यति मात्रै हो । दलीय दम्भको पछिल्लो परिणाम हो प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको टकराव । 

‘स्वतन्त्र मेयर’ छेकिरहेको ‘दलीयतन्त्र’

नगरसभाको बैठक लाइभ गर्दा चर्काचर्की गर्ने एमालेबाटै जितेका वडाअध्यक्षहरू छन् । बालेन ‘स्वतन्त्र’ मेयर हुन् । ‘न्युरोड’मा देखिएको तमाशा पनि त्यसैको परिणाम हो । केही दिनअघि चक्रपथको धुलो उठाएर बालेनले सडक विभागअघि थुपारिदिए । त्यसलाई सडक विभागले ‘अराजक’ भनिदियो । त्यसपछि बालेनले खुला बनाउन लागेको न्युरोडको सडकपेटी नबिगार्न भन्दै सडक विभागले बालेनलाई चेतावनीमात्रै दिएन, बरु उनले फोडेका सडकपेटीहरूमाथि पिच गरिदियो । त्यही विषयमा गत सोमबार न्युरोड झण्डै तनावग्रस्त भयो । 

यसअघि नै बालेनले न्युरोडको सडक किनारका पार्किङहरू हटाएका थिए । त्यसपछि न्युरोड अलि खुला भयो । पैदल यात्रुलाई सजिलो बनाइदिन उनले त्यहाँका सडकपेटीहरू फराकिलो पार्न खोजेका थिए तर विभागले रोकिदियो । विभागभन्दा अघि काठमाडौं वडा नं २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले नै स्थानीयलाई सडकमा ओरालेर विरोध गरेका थिए । उनै वडाअध्यक्षले त्यसपछि नगरसभाको बैठकमा पनि चर्काचर्की गरे । यसअघि बालेनलाई ‘झपार्ने’ वडाअध्यक्षका रूपमा उनी भाइरल नै हुन् । 

यी घटनाक्रमबीच बालेनले पनि निरन्तर ‘गिरीबन्धु टी इस्टेट’का बारेमा निरन्तर खबरदारी गर्दै आएका छन्् । उनकै कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गिरीबन्धु मुद्दाको फैसला सरकारी पोल्टामा पार्न सफल भएका थिए । जग्गा साँटफेरको नाममा २०५१ सालको मनमोहन अधिकारीको अल्पमतको सरकारदेखि २०७४ पछिको केपी ओलीको सरकारसम्मले गिरीबन्धु टी इस्टेटको करिब ४ सय ५२ बिघा जमिनमाथि नीतिगत भ्रष्टाचार गर्दै आएको छ । मनमोहन सरकारमा केपी ओली गृहमन्त्री थिए । त्यहाँदेखि प्रधानमन्त्री भएर २०७५ पछिका हरेक निर्णयहरूमा गाँसिएका छन् । सर्वोच्चको फैसलाले देखाइदिएको पनि त्यही नै हो । 

बालेनले आफ्ना कानुनी सल्लाहकारलाई त्यो फैसलाका लागि बधाई दिने क्रममा गिरीबन्धुका बारेमा लामै कहानी लेखे । एकपटक होइन पटक पटक । उनले गिरीबन्धु टि इस्टेटसँग जग्गा सट्टाभर्ना गर्नका लागि परेका अनि ठूला नेताहरूको लगानी रहेका करिब ‘१०१’ का कम्पनीका नामै सार्वजनिक गरिदिए । त्यससँगै केपी ओलीलाई ‘कारबाही’ गर्नुपर्ने सन्देश पनि छोडे । ओलीकै पार्टीका वडाध्यक्षहरूले आफ्नो अभियानमा निरन्तर अवरोध गर्न थालेपछि सोमबार फेरि एउटा लामै स्टाटस लेखेर ओलीलाई जेल जान तयार हुनु भनी खुला चुनौती दिए । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू, राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ बालेनले लेखेका छन्, ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद !’

बालेनको यो स्टाटसमा हजारौं टिप्पणी अनि शेयर र ‘भ्युज’हरू आउँदै गर्दा सडक विभागको टोलीले न्युरोडको सडकपेटीमा कालोपत्रे बिच्छ्याउँदै थियो । त्यसैबेला नगर प्रहरी आए । स्थानीयवासी ओइरिए । नेपाल प्रहरीको टोली पनि तुरुन्तै तैनाथ भयो । विभागको टोलीले सडक पिच गरिवरी सडकपेटीलाई पहिलाकै स्थानमा पुर्‍याइदियो । 

टिप्पणीहरू