कसरी आउँछ कर्मचारीको काल !

कसरी आउँछ कर्मचारीको काल !

दलाल र बिचौलियाले आफ्नो काम फत्ते गराउन ‘एसम्यान’ प्रशासक कसरी खोज्छन् ? कलम चोप्न नमान्ने कर्मचारीलाई कसरी भकुण्डो बनाउँछन् ? सानो उदाहरण हेरौं :

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमिसुधार मन्त्रालय पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएका उनलाई ५ महिनामै फालियो । हुत्याउनुपर्ने कारण थियो, उही गिरिबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न नमिल्ने अडान । यसमा कलम चोप्न नमान्दा जगेडामा मात्र परेनन्, जागिरे जीवनभर राम्रो कार्यालय पाएनन् ।

गिरीबन्धुको जग्गा सट्टापट्टा दिन मिल्ने गरी नियमावली बनाउन नमानेपछि उनलाई फालेर त्यहाँ अहिले कारागार जीवन बिताइरहेका भुटानीकाण्डका टेकनारायण पाण्डेलाई ल्याइयो र काम फत्ये गराइयो । जीवनभर शिक्षा सेवामा काम गरेका पाण्डेलाई कर्णाली प्रदेश प्रमुखबाट सरुवा गराएर नियमावली तयार पार्न लगाइयो । सो नियमावली मन्त्रिपरिषदले पारित गरेर २०७७ पुस ७ गते राजपत्रमा प्रकाशित गरेको देखिन्छ ।

शिवमाया तुम्हाहाम्फे, पद्मा अर्याल हुँदै अहिले बलराम अधिकारी एमालेको तर्फबाट भूमिसुधार मन्त्री छन् । यही बीचमा त्यहाँ सूर्य गौतम, केदार न्यौपाने, टेकनारायण पाण्डे, रामप्रसाद थपलिया, डा. दामोदर रेग्मी, गणेश पाण्डे हुँदै अहिले गोकर्णमणि दुवाडी सचिव छन् । टेकनारायणपछि रामप्रसाद थपलियाले कलम चोप्न नमान्दा मुख्यसचिव बैकुण्ठ अर्यालकै व्याजी भएर पनि पेलानमा परे । प्रधानमन्त्री कार्यालयतिर लामो समय जगेडामा बसेका उनी तथ्यांक सचिवबाट घर गए । दामोदर रेग्मीलाई गिरिबन्धुमा जोडिएका व्यापारीले सयौं पटक कल गरे पनि रेस्पोन्स गरेनन् । अहिले यो प्रकरणमा गोकर्णमणि नराम्रोसँग फसें भन्दै छन् । 

गिरिबन्धुको काम फत्ये गराउन सचिव पाण्डेले शेषनारायण पौडेललाई भूमि व्यवस्था तथा अभिलेख विभागको महानिर्देशक बनाए । पौडेल अहिले पिचएडी अध्ययनका लागि जापान पुगेका छन् । शुरुदेखि नै गिरीबन्धुको हितमा काम गर्दै आएका उपसचिव रोशनशंकर घिमिरे चार वर्षदेखि उक्त विभागको महानिर्देशक छन् । निजामती सेवा ऐनले दुई वर्षभन्दा बढी कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा जिम्मेवारी नदिनु भन्छ तर उनले चार वर्षदेखि जग्गा प्रशासन महाशाखा छाडेर दायाँबायाँ हुनु परेको छैन । निजामती किताबखानाबाट प्राप्त पिआइएस हेर्दा उनी २०७३ कात्तिक ३ गते प्रमुख मालपोत अधिकृत भएर चन्द्रगढी, झापा पुगेको देखिन्छ । त्यहाँ २ वर्ष बस्दा उनैले गिरीबन्धु टी–इस्टेटको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र किनबेच गर्ने काम शुरुवात गरेका हुन् । 

एमालेले गृह, अर्थ, परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालय छाडेर किन भूमिसुधार मन्त्रालय नै रोज्यो होला ? गिरिबन्धुको सट्टापट्टा प्रकरणमा जोडिने पद्या अर्याल हुन् । अर्थतन्त्र डाँवाडोल भएको मौका छोपी गिरिबन्धुजस्ता प्रकरण उकास्नकै लागि  गोकर्णमणि दवाडीलाई निर्वाचन आयोगबाट भूमिमा ल्याइएको हो भन्छन् । हदबन्दीलगायतका विषयमा सचिवभन्दा मुनिका कुमार दाहालले ‘यस्तो काम गर्दिन’ भनेपछि सहसचिव गणेश भट्टमार्फत् फाइल अघि बढाइएको छ ।

सचिवले गणेश भट्टको हस्ताक्षर गराएर फाइल अघि बढाए पनि कानुनतः त्यसो गर्न नमिल्नुपर्ने हो । भट्टले योजना हेर्छन् भने दाहालचाहिँ जग्गा प्रशासनका सहसचिव हुन् । उनले यस्ता बदनियत देखेको फाइलमा कलमै चोप्न नमानेपछि हालैमात्र लखेटेर नेपाल टष्ट्रमा पुर्‍याइएको छ । यसबीच भूमिमा शिवप्रसाद रेग्मी, मदन कोइराला र श्रीराम ठाकुर भित्रिएका छन् । यीमध्ये एक जना एसम्यानलाई जग्गा प्रशासन, अर्कोलाई भूमिव्यवस्था तथा अभिलेख विभागतिर खटाइने हो । 

रमाइलोचाहिँ १५ दिनअघि नै एउटा बिचौलियाले सहसचिव कुमार दाहाललाई सुनायो, तपाईंको सरुवा हुँदै छ । यसरी दलालले भनेको नमान्दा कर्मचारी सरुवामा पर्न थालेका छन् । पछिल्ला दिनमा चन्दने अर्थात दीपक भट्टलाई माथ खुवाउने गरी एक जना बिचौलिया स्कोरपिओमा दैनिक मन्त्रालय धाउने गरेको कर्मचारीहरू बताउँछन् । मास्क कहिल्यै नखोल्ने र क्याप टोपीले अनुहार छोपेर हिँड्ने ती बिचौलिया हुन प्रमोद खड्का । उनको बास नै कर्मचारी प्रशासन महाशाखा र सचिवको कार्यकक्षमा हुने गरेको भुक्तभोगी कर्मचारीले बताए ।

तिनै खड्काले अहिले साँखु, कलंकी, भक्तपुर, ललितपुरका हाकिमहरूको सरुवा मैले नै गराएको हो, तिमीहरूको पनि सरुवा गर्ने हो भने मिलाउनुपर्दछ भन्दै द्रव्य संकलन गरिरहेको सुनिन्छ । द्रव्य संकलन गरेर कर्मचारीको सरुवा गर्नेका सामान्य प्रशासनसँग सेटिङ्गमै यस्तो काम भइरहेको कर्मचारीको गुनासो छ । उदयपुर घर भएका खड्काले मोहनकृष्ण सापकोटा सचिव हुँदादेखि नै मन्त्रालयमा प्रवेश पाएको र सरुवाको खेतीपाती गर्दै आएको उनलाई चिन्ने कर्मचारीहरू बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू