सेना, प्रहरी र अदालतमा यही रोग सरावरी

सेना, प्रहरी र अदालतमा यही रोग सरावरी

अर्कालाई एम्बुस थाप्दाथाप्दै त्यही धरापमा आफैं परेको घटना माओवादी द्वन्द्वताका प्रशस्त सुनिन्थे । अहिले भने नेपाली सेनाभित्र एक जना जर्नेल आफैं समस्यामा पर्ने खतरा देखिँदैछ ।

प्रधानसेनापति हुने लाइनमा रहेका अशोक सिग्देललाई जन्ममिति सच्याएको, ०३९/४० को एसएलसीको ढड्डा हराएको अभियोग लगाउने प्रयास असफल हुने सम्भावना देखिएपछि यस्तो चर्चा भएको हो । यसअघि ताराध्वज पाण्डेको दुई नागरिकता प्रमाणपत्र भेटिएपछि जागिर हापेर अष्ट्रेलिया गएका उनी अहिलेसम्म फर्केका छैनन् । अशोक सिग्देलको परीक्षाको ढड्डा तालुकवाला कार्यालय सानोठिमीबाट हराउँदा व्यक्तिको दोष नभएर संस्थाको नै हुन्छ । धनुषाबाट कैलाश सिरोहियाको नागरिकताको ठड्डा हराउँदा अरु दोषी हुने हो र ! 

सिग्देललाई कटअफ गरेपछि निर्मल थापा पनि त्यसैको शिकार हुने पक्का छ किनकि उनले पनि नेपालमा अध्ययन गरेकै बखत भारतबाट प्रमाणपत्र ल्याएका छन् । एक व्यक्तिले दुईतिर एकै समयमा कसरी अध्ययन गर्न सक्छन् र !

सेनापति प्रभुराम शर्माकी श्रीमती सुनिताको नेतृत्वमा गत हप्ता १७ जना धर्मपत्नीको डफ्फा हेलिकप्टर चढेर माथिल्लो मुस्ताङ गएको थियो । जसमा सेकेण्ड म्यान सिग्देलकी श्रीमती निता थिइनन् भने थर्डम्यान निर्मलकी श्रीमती मुना थापाचाहिँ साथै गइन् । जबकि थापा अहिले सिरियाको गोलान हाइटमा शान्ति सेनाको कमाण्ड गरिरहेका छन् र सोही सिलसिलामा अमेरिका पुगेका छन् ।

सेनाभित्र उमेर र शैक्षिक प्रमाणपत्रको कैफियत गरेको आरोप बेला बेला उठ्ने गरे पनि यसको स्थायी समाधानतर्फ भने ध्यान दिएको पाइन्न । प्रायः जो जो सैनिक सचिव वा सहायक बसे, उनैका उमेर र शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित कैफियत भेटिएका छन् । डिरेन्द्र मल्ल, सुरेन्द्र सिजापति केही उदाहरण हुन् । प्रेमप्रकाश थापा मगरमाथि नक्कली सर्टिफिकेटधारी हेम खत्रीलाई विदेश तालिम गर्न सहयोग पुर्‍याएको आरोप लाग्यो ।

प्रेमप्रकाशलाई त्यसबापत कारवाही नगरेको भए पूर्णचन्द्र थापाको बदला उनै प्रधानसेनापति हुन्थे । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नभए पनि सैनिक सचिव हुँदा तत्काल ट्वाइसी रहेका गौरवसमशेर राणालाई अटेर गरेकै प्रतिशोधमा नखाएको विष लागेर जागिर गयो । लप्टनदेखि कर्णेल हुँदासम्म अत्यन्तै मिलनसार मानिएका थापामगर पछिल्लो समय भने निकै मात्तिएको अनुभव गर्नेहरू पनि छन् ।

त्यसैगरी, प्रधानसेनापति धर्मपालवरसिंह थापाको ज्वाइँ पर्ने महासेनानी अनिल खड्काले पिएसओजबाट पारित नभएको विषयबारेको पत्र आफूखुशी लेखेर रक्षा मन्त्रालयमा पठाएपछि कारवाहीमा परेका थिए । खड्कासँगै अमेरिकामा सैनिक कोर्ष गर्दै बेला सुरेन्द्र रावललाई पनि बोलाएर बिनासित्ती कारवाही गरिएको थियो । अधिकृतहरूकोे पोस्टिङ, सरुवा, बढुवा, अधिकृतमा भर्ना हुँदा ताकाका सम्पूर्ण कागजातलगायतको रेकर्ड राख्ने काम सैनिक सचिवको हो ।

आफू ठाउँमा हुँदा उमेर सच्याउने, ढड्डा केरमेट वा गायव गर्नेलगायतका काम गर्ने चलन पुलिस, न्यायाधीश, सेनामा बढी देखिएको छ । तल्लो तहमा हुन्जेलसम्म चुपचाप तर जब माथिल्लो पोष्टमा पुग्यो तब भने विवाद निस्कने गरेको पाइन्छ ।

– देखीजान्ने अफिसरहरु​​​​​​​

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू