माओवादी नेता आगो, बालकोटको ढोका बन्द

माओवादी नेता आगो, बालकोटको ढोका बन्द

संघीय सरकारले ल्याएको बजेटप्रति प्रधानमन्त्री प्रचण्डको पार्टीका स्थानीय सरकार प्रमुखहरूले नै असन्तुष्टि जनाएका छन् । दार्चुलाका नौ वटा स्थानीय तहमध्ये माओवादी नेतृत्वका चार गाउँपालिका अध्यक्ष र दुर्ई उपाध्यक्षले सामूहिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् । शनिवार सदरमुकाम खलंगास्थित जिल्ला कार्यालयमा आयोजित छलफल कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरूले सामूहिक निर्णयसहित असन्तुष्टि जनाएका छन् । जिल्ला पार्टी संयोजक पदमराज पन्तको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बजेटप्रति गम्भीर समीक्षा गरिएको छ । 

‘स्थानीय सरकारहरूको नयाँ वर्षको बजेट निर्माण र पार्टीसँगको समन्वय एवं प्राथमिकताबारे छलफल गर्न बैठक राखिएको हो, यससँगै संघीय सरकारको नयाँ बजेटले दार्चुला जिल्लालाई निराश बनाएको समीक्षा गरिएको छ’ माओवादी केन्द्रका जिल्ला संयोजक पदमराज पन्तले भन्नुभयो । 

दार्चुलामा दुई नगरपालिकासहित नौवटा स्थानीय तह छन् । यीमध्ये चार गाउँपालिका अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जनप्रतिनिधि निर्वाचित भएका छन् । ‘आफ्नै पार्टी नेतृत्वमा सरकार भएको बेला हामी धेरै आशावादी थियौं तर बजेट विनियोजनले निराशा मात्रै मिलेको छ’ मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले भन्नुभयो । 

त्रिदेशीय सीमाक्षेत्र हुँदै कैलाश–मानसरोवरको ढोका खोल्ने दार्चुला–टिंकर सडकमा अत्यन्तै न्यून बजेट विनियोजन गरिएकोप्रति माओवादी जनप्रतिनिधिहरूको घोर असन्तुष्टि छ । ‘सामरिक र रणनीतिक महत्वको सडक भएकोले सरकार आफैले उच्च प्राथमिकता दिनुपर्ने हो, तर यसबारे हाम्रो आवाजसमेत सुनिएको छैन’ बैठकमा सहभागी एक गाउँपालिका अध्यक्षले भन्नुभयो, ‘आफ्नो पार्टीको नेतृत्वमा सरकार छ, प्रधानमन्त्री, अर्थ, ऊर्जा, पर्यटन, परराष्ट्र मन्त्रालयमा हाम्रै नेतृत्व छ तर बजेट विनियोजनको तथ्यांकले लज्जित बनाएको छ ।’

‘टिंकर सडक मात्रै होइन, गोकुलेश्वर विमानस्थल र अपिहिमाल गाउँपालिका जोड्ने सडक निर्माणले पनि प्राथमिकता पाएन’ माओवादी केन्द्रका जिल्ला संयोजक पन्तले भन्नुभयो । 

सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा दार्चुला–टिंकर सडक निर्माणमा ८ करोड ५० लाख रूपैयाँ छुट्याइएको छ । सेनाबाट निर्माण भइरहेको उक्त सडक निर्माणमा चालु वर्ष १४ करोड १९ लाख बजेट छ । प्रचण्ड नेतृत्वको सरकारले टिंकर सडकलाई उच्च प्राथमिकता दिने नीति तथा कार्यक्रममै बताएको थियो तर बजेट विनियोजनमा चालु वर्षभन्दा झण्डै ६ करोड घटाइएको छ । 

दार्चुला र बैतडीको सिमाना शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा निर्माण भइरहेको गोकुलेश्वर एयरपोर्टका निम्ति केही पनि छुट्याइएन । माओवादी केन्द्रका नेता हितमान तामाङ पर्यटन मन्त्री छन् । 

हालसम्म सडक सञ्जालबाट जोड्न नसकिएको अपिहिमाल गाउँपालिकाका लागि पनि पर्याप्त बजेट दिइएको छैन । माओवादी केन्द्रका जनप्रतिनिधिले कम्तीमा १० करोड रूपैयाँ माग गरेका थिए । तर सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत १ करोड र शहरी विकास मन्त्रालयमार्फत १ करोड गरी २ करोड रूपैयाँ मात्रै छुट्याएको छ । अपिहिमाल गाउँपालिकाको नेतृत्वमा माओवादी केन्द्रका नेता भगतसिंह धामी अध्यक्ष छन् । 

बजेटप्रति असन्तुष्टि जनाउने माओवादी जनप्रतिनिधिमा मार्मा गाँउपालिका अध्यक्ष जमनसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी र नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी रहेका छन् । त्यसैगरी, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामी र व्यास गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले पनि यो असन्तुष्टिप्रति ऐक्यबद्धता जनाएका छन् । 
 

टिप्पणीहरू