नेपाली फिल्ममा पहिलोचोटी भ्यानिटी भ्यानको प्रयोग

नेपाली फिल्ममा पहिलोचोटी भ्यानिटी भ्यानको प्रयोग

पछिल्लो समय नेपाली चलचित्र छायाङ्कनमा नयाँ प्राविधि प्रयोग हुन थालेको छ । क्यामरा र लाइटसँग सम्बन्धित स्रोत होस् वा कलाकारलाई काम गर्न सजिलो बनाइदिने साधनको प्रयोग अधिकतम हुन थालेको छ ।

हालै चलचित्र ‘एक्टर’को निर्माण टिमले कलाकारको लागि ‘भ्यानिटी भ्यान’ प्रयोगमा ल्याएको छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काको लागि उक्त साधन प्रयोगमा ल्याइएको बताइएको छ । 

नेपाली चलचित्र छायांकनका क्रममा भ्यानिटी भ्यान प्रयोग गरेको सम्भवतः यो पहिलो पटक हो । तर, बलिउड र हलिउडमा भने यसको प्रयोग निकै हुने गरेको छ ।

कलाकारको पोशाक परिवर्तन, मेकअप, शौचालय र आरामको लागि यो निकै उपयुक्त मानिन्छ । यसलाई छायांकनको भूगोल अनुसार पनि प्रयोग गर्ने गरिन्छ । जस्तो कुनै चलचित्रका लागि कलाकारले जंगलमा छायांकन गरिरहेको छ । र, कथाअनुसार फरक–फरक दृश्यको लागि पोशाक परिवर्तन गर्नुपर्यो भने भ्यानिटी भ्यानको प्रयोग महत्वपूर्ण मानिन्छ । 

पोशाक परिवर्तनको लागि क्रू मेम्बरको सहयोगमा टाढा पुग्नुपर्ने, मेकअपको लागि दोस्रो व्यक्तिले ऐना समात्नुपर्ने, शौचालयको लागि समस्या हुने वा आराम गर्नुपरे घरमै फर्कनुपर्ने बाध्यता रहन्छ । तर, भ्यानिटी भ्यानको प्रयोगले यो सबै समस्याको हल हुन सक्छ ।

नेपाली चलचित्रको इतिहासमा सायद प्रदीपले यो भ्यानको पहिलो अनुभव लिनेछन् । अहिले निर्माण टिमले पोखराको सकाएर काठमाडौँमा धमाधम छायाङ्कन गरिरहेको छ । 

यस चलचित्रमा प्रदीपको अलावा अभिनेत्री दिव्या रायमाझी, आना शर्मा र राजवल्लभ कोइराला पनि मुख्य भूमिकामा छन् । आगामी तिहार (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आउने भनिएको यस चलचित्रलाई राजन भुसालले निर्देशन गरिरहेका छन् ।

टिप्पणीहरू